इलाम । इलाममा सहकारीको लगानीमा चारवटा चिया उद्योग स्थापना भएको छ । सहकारीको लगानीमा चिया उद्योग खुल्न थालेपछि निजी उद्योगको एकाधिकार तोडिदै गएको छ । केही वर्षअघिसम्म निजी चिया उद्योग मात्रै थियो । भएभरका किसानले निजी उद्योगमै हरियो पत्ति विक्री गर्नुपथ्र्यो । निजी उद्योगहरुले जति मूल्य तोक्यो त्यति नै हरियो पत्ति बेच्न किसान बाध्य थिए । तर, अहिले सहकारीहरुले चिया उद्योगमा लगानी गर्न थालेपछि निजी उद्योगहरुको एकाधिकार तोडिदै गएको छ । सहकारीहरुको चिया प्रशोधन उद्योग थपिदैजाँदा चिया किसानहरुले प्रतिष्पर्धाका आधारमा हरियो पत्ति बिक्री गर्न पाएका छन् ।
२०६७ साल यता चिया उद्योगमा सहरकारीले लगानी गर्ने थालेका हुन् । त्यसयता वर्र्सेिन सहकारी मार्फत सञ्चालित चिया उद्योगको संख्या बढ्दो छ । इलाममा मात्रै यही सिजनमा चारवटा नयाँ चिया उद्योगले प्रशोधन थाल्ने तयारी गरेका छन् । नयाँ बनेका सबै उद्योग सहरकारीको लगानीमा खोलिएका हुन् । इलामको सन्दकपुर गाउँपालिकाको सुलुबुङस्थित तालगाउँमा निर्माण सम्पन्न भएको सानीमाई चिया प्रशोधन उद्योगले प्रशोधन थाल्ने तयारी गरिरहेको छ । एक करोड ५२ लाख रुपैयाँमा स्थापना भएको उद्योगले ‘टेष्टिङ प्रशोधन’ गरिसकेको सानीमाई चिया उत्पादक सहकारीका व्यवस्थापक वेदनिधि पोख्रेलले बताए ।
‘आउँदो शनिबार उद्योग उद्घाटनको कार्यक्रम राखेका छौ,’व्यवस्थापक पोख्रेलले भने,‘त्यसपछि हामी नियमित प्रशोधन थाल्छौ ।’ दैनिक एक हजार पाँचसय किलो हरियो पत्ति प्रशोधन गर्ने क्षमता रहेको उद्योग स्थानपनामा उन्नति समावेशी वृद्धि परियोजनाले ४९ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । बाँकी रकम एक सय ४६ किसानले जुटाएर उद्योग स्थापना गरेका हुन् ।
देउमाई नगरपालिका–३ शान्तिडाडाँमा स्थापना भएको उच्च पहाडी चिया प्रशोधन उद्योग पनि सञ्चालनको तयारीमा छ । दैनिक एक हजार पाँच सय किलो हरियो पत्ति प्रशोधन गर्ने क्षमता रहेको सो उद्योगले पनि एक साता पछि प्रशोधन थाल्दैछ । उच्च पहाडी चिया उत्पादक सहकारी संस्थाको लगानीमा निर्माण भएको उद्योगले देउमाईको शान्तिडाडा आसपासमा उत्पादन भएको हरियो पत्ति प्रशोधन गर्नेछ । एक करोड ५० लाखको लागता स्थापीत उद्योगका लागि पनि उन्नतीले ५० लाख रुपैयाँ अनुदान दिएको छ ।
सूर्योदय नगरपालिकाको फिक्कलमा चार करोड ५० लाख रुपैयाँको लागतमा सहकारीकै लगानीमा चिया उद्योग स्थापना भएको छ । इलामेली चिया उत्पादक सहकारीले स्थापना गरेको उद्योगमा विद्युत् जडान बाहेकको काम सकिएको छ । अहिले जेनेरेटर चलाएर चिया प्रशोधन गरिरहेको इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए ।
इलामले चिया प्रशोधन उद्योगले दैनिक पाँच हजार हरियो पत्ति प्रशोधन गर्न सक्छ । अग्र्यानिक पत्तिमात्रै प्रशोधन गरिने भएकाले अहिले दुई हजार पाँचसय देखि तीन हजार किलोसम्म हरियोपत्ति संकलन हुने गरेको सुवेदी बताउँछन् । इलाम नगरपालिकाको बरबोटेमा बरबोटेली चिया प्रशोधन उद्योगले पनि यही सिजनबाट प्रशोधन थाल्दैछ । माइजोगमाई गाउँपालिकाको नयाँबजारमा स्थापना भएको सिद्धपोखरी चिया प्रशोधन उद्योगले भर्खरैदेखि चिया प्रशोधन थालेको हो ।
सहकारीको लगानीमा इलाममा मात्रै एघारवटा चिया प्रशोधन उद्योग स्थापना भएको छ । ३० लाख रुपैयाँ देखि सात करोडसम्मको लगानीमा सहकारीले चिया प्रशोधन उद्योग स्थापना गरिएको केन्द्रीय चिया उत्पादक सहकारी संघका महासचिव रविन राईले बताए । सहकारीको लगानीमा ३१ वटा स्थापना भएका छन् । इलाममा एघार, पाँचथरमा चार, झापामा चार, धनकुटामा दुई, ताप्लेजुङमा एउटा, तेह्रथुम दुई, तलितपुरमा तीन, संखुवासभामा र उदयपुरमा एक–एक वटा चिया उद्योग स्थापना भएका केन्द्रीय चिया चिया उत्पादक सहकारी संस्थाका महासचिव रविन राईले बताए ।


1261 पटक हेरिएको 






