जनताका गुसानो सुन्दै नगरप्रमुख, निर्माण गर्दा बाटो विग्रिएको गुनासो

  कोकिला ढकाल

 972 पटक हेरिएको


इलाम/सुम्बेक पुगेका इलाम नगरप्रमुख महेश बस्नेत सँग स्थानीय लोकेन्द्र याखाले सुम्बेकको हिलो बाटो र त्यसबाट सर्वसाधारणलाई भएको समस्याको गुनासो सुनाए । ‘वर्खालागेपछि गाडी पनि कुद्न सक्ने अवस्था छैन, बाटो हो, बाटामा मान्छे हिंड्ने उपाया पनि छैन, याखाले भने–बाटो बन्द भएको छ, यसलाई सञ्चालन गर्न नगरपालिकाले ध्यान दिनुप¥यो ।’
सुम्बेककै निधिकान्त खतिवडाले कर बढे अनुसारको विकास नभएको गुनासो गरे । स्थानीय उमाकान्त पोख्रेलले सुम्बेक बजारमा ढल निकासको व्यवस्था, विद्यालयमा घेराबारा र भवन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सुम्बेक माविका प्रअ नरेश राईले पनि आफ्नो विद्यालयमा विज्ञान प्रयोगशाला नहुँदा विद्यार्थीलाई सिकाइमा समस्या रहेको बताए । स्थानीय जयप्रसाद निरौलाले पनि विद्युतपोल पुरानो र मक्काएकाले विद्युतपोल व्यवस्थापन गर्नुपर्ने ध्यानाकर्षण गराए । स्थानीय तहको निर्वाचन पछि पहिलो पटक नगरप्रमुखलाई आफ्नै गाउँमा भेटेका सर्वसाधारणले प्रत्येक जसोले आफ्ना गुनासा र धारणा सुनाएका थिए । कतिपयले गाउँदेखि बजार सम्मको विकास गर्न फरक ढंगले लाग्नुपर्ने सुझाव दिए ।
इलाम नगरपालिकाले शुरू गरेको ‘जनतासँग मेयर’ कार्यक्रममा सोमबार गुनासो सुन्ने र सुनाउने काम दिनभर जस्तै चल्यो । आइतबार पनि वडा– १० गोदकमा सर्वसाधारणले नगरप्रमुख सँग आफ्ना गुनासा र गाउँका आवश्यकता त्यसरीनै सुनाए । गोदकमा पनि स्थानीयले नगरपालिकालाई पुराना विद्युत पोलको फेर्नुपर्ने, शिक्षा क्षेत्रमा विषेश जोड दिनुपर्ने, सिचाईं कूलो, वर्थिङ सेन्टर जस्ता विषयमा सर्वसाधारणले काम गर्न सुझाव दिए ।
सर्वसाधारणको गुनासो सुनेपछि नगरप्रमुख बस्नेतले जनताले चाहे अनुसारको काम गर्न आफूहरू पछि नहट्ने बताए । उनले नगरपालिकाको कर भने धेरै नबढेको भन्दै नगरपालिका भरि एकरूपता कायम गरिएको स्पष्ट पारे । उनले भने– पहिलाको नगरपालिका वडा र अहिलेको नयाँ नगरपालिकाका वडामा करको दर फरक थियो । त्यसलाई एकरूपता कायम गर्दा नगरपालिकामा गाभिएका नयाँ वडामा कर बढेको महशुस भएको हो । ‘एउटै नगरपालिका भित्र फरक–फरक कर उठाउन मिल्दैन त्यसैले करमा एकरूपता कायम गर्नु नगरपालिकाको बाध्यता हो ।’ बस्नेतले भने ‘जनताबाट उठाइएको करलाई सही ढंगले प्रयोग गर्छौं, पेट्रोलियम पदार्थमा प्रति लिटर पचास पैसा प्रदुषण कर लिन थालिएको छ, त्यस वापतको करबाट पनि नगरक्षेत्रका पोखरी संरक्षण गरि पानीको संरक्षण गर्ने योजना छ ।
नगरपालिकाले शुरू गरेको यो कार्यक्रममा धेरैले करका विषयमा आफूहरू अस्पष्ट रहेको बताएको नगरका प्रवक्ता ठाकुर श्रेष्ठले बताए । उनले भने ‘गाउँ जाने कच्ची सडकको मर्मत, पुराना विद्युत पोलको फेर्नुपर्ने, शिक्षा क्षेत्रमा विषेश जोड दिनुपर्ने, सिचाईं कूलो, वर्थिङ सेन्टर जस्ता विषयमा सर्वसाधारणले काम गर्न सुझाव दिएका छन् । यी सुझावलाई संकलन गरेर नगरपालिकाको आगामी योजना, नीति, कार्यक्रम बनाइने छ ।’ नगरपालिकाले गर्ने भनेको दाता सम्मेलनमा पनि नगरका योजना र आवश्यकता प्रस्तुत गर्न जनता सँग मेयर कार्यक्रमले सहयोगी भूमिका खेल्ने श्रेष्ठले बताए ।
नगरपालिकाले आगामी असोज ४ गते सम्ममा नगरका सबै वडामा जनतासँग मेयर कार्यक्रम सम्पन्न गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार