इलाम । १ नम्बर प्रदेशमा नेकपाको कार्यदलले एकीकरणको टुंगो लगाउन सकेको छैन । १४ मध्ये ९ जिल्लामा तत्कालीन एमालेले नेतृत्व दाबी गरे पनि माओवादीले बराबर हुनु पर्ने प्रस्ताव राखेपछि एकता प्रक्रिया टुङ्गाउन नसकेको हो ।
तत्कालीन एमाले प्रदेश संयोजक भीम आचार्य, सहसंयोजक शेरधन राई, माओवादी केन्द्रबाट संयोजक राम कार्की र सहसंयोजक सावित्रीकुमार काफ्ले कार्यदलमा छन् । कार्यदलले जिल्ला तहमा पनि जिल्ला इञ्जार्चसहितको कार्यदल बनाएर नाम सिफारिस गर्न निर्देशन गरेको थियो ।
प्रदेश कार्यदलका सदस्य भीम आचार्यका अनुसार ७ वटा जिल्लाबाट सहमतिमा अध्यक्ष, सचिवलगायत जिल्ला कमिटिको नाम सिफारिस आएको बताए ।
इलाम, झापा, मोरङ, भोजपुर, सङखुवासभा, धनकुटा र तेह्रथुममा तत्कालीन एमालेले नेतृत्व गर्ने गरी कार्यदलले नाम सिफारिस गरेको छ । बाँकी ७ वटा जिल्लामा कस्को नेतृत्व भन्ने विषयमा कुरा नमिलेपछि जिल्लास्थित कार्यदलले जिल्ला कमिटी संख्यालगयातमा सहमति गरेर प्रदेश कार्यदललाई जिम्मा लगाएको छ ।
खोटाङ, उदयपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सोलुखुम्बु, पाँचथरमा दुवै पार्टीबाट नेतृत्व दाबी गरेपछि जिल्लामा सहमति हुन नसकेको हाे । माओवादी केन्द्रकाे तर्फबाट कार्यदल सदस्य सावित्रीकुमार काफ्लेले प्रदेश १ मा बराबर नेतृत्व बाँडफाँड गरेर सहमतिमा पुग्न सकिने बताएकी छन् ।


457 पटक हेरिएको 






