सामीका कार्यक्रमबाट इलामका पाँच हजार भन्दा धेरै लाभान्वित

सामी परियोजना

  सरलपाटी सम्वाददाता

 576 पटक हेरिएको

इलाम । सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रमबाट इलामका पाँच हजार भन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको ४ पालिकाका पाँच हजार एक सय ८४ जना सामीले सञ्चालन गरेको विभिन्न कार्यक्रममा सहभागी भई लाभान्वित बनेका हुन् । ती पालिकाहरुमा इलामको सूर्योदय, इलाम र देउमाई नगरपालिका साथै माङ्गसेबुङ्ग गाउँपालिका रहेका छन् ।

२०७७ श्रावण देखि फागुन १५ गतेसम्म यो संख्या बराबरको व्यक्ति लाभान्वित बनेका हुन् । लाभान्वित हुनेहरुमा वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न सूचना दिने घरदैलो कार्यक्रमबाट दुई हजार नौ सय ३७, सामुदायिक अभिमुखीकरण कार्यक्रमबाट सात सय ५३, आप्रवासी स्रोत केन्द्रमा व्यक्तिगत तथा सामुहिक परामर्श सेवाबाट आठ सय १३, वित्तिय साक्षरता कार्यक्रमबाट चार सय २२, गहन अभिमुखीकरण कार्यक्रमबाट एक सय आठ रहेका छन् ।

यस्तै वैदेशिक रोजगारी सम्बन्धिका उजुरी संख्या ७४, मनोसामाजिक परामर्श सेवा कार्यक्रमबाट व्यक्तिगत रुपमा सेवा लिने ४७, वैदेशिक रोजगारीका लागि शिप सिक्न चाहने २७ जनालाई शिपमुलक तालिम र वैदेशिक रोजगारीबाट फर्किएका तीन जनालाई समेत शिप मुलक तालिम प्रदान गरिएको गरी पाँच हजार एक सय ८४ जना लाभान्वित भएको जिल्ला संयोजक इश्वरी तामाङले जानकारी दिए ।

लाभान्वित हुनेहरुमा महिला तीन हजार दुई सय २६, पुरुष एक हजार आठ सय ८४ र अन्यमा ७४ जना रहेका छन् । इलामको सूर्योदय नगरपालिकामा आपत्कालिन कोष र इलाम नगरपालिकामा सुरक्षित टोल निर्माणको थालनी भएको समेत संयोजक तामाङ्गले जानकारी दिए । उनका अनुसार कोषबाट वैदेशिक रोजगारमा जाने र पुगेर आएकालाई तत्काल सहयोग गर्न परे १० हजार रुपैँया बराबरको सहयोग रकम उपलब्ध गराइने व्यवस्था छ ।

परियोजना सकिए पनि कार्यक्रम जारी राख्ने

सामी परियोजनाले सञ्चालन गरेको वैदेशिक रोजगारी सम्बन्धि कार्यक्रमको अवधि सकिए पनि इलाममा भने निरन्तर जारी राख्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बिहीबार इलामको इलाम नगरपालिकाको कार्यलयमा पत्रकारहरुसँग अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख बस्नेतले सुरक्षित विप्रेषणको प्रयोगलाई लागु गर्नमा इलाम तयार रहेको बताए । उनले इन्डोनेसिया, फिलिपिन्स लगायतका देशले सुरक्षित विप्रेषणको प्रयोगबाट फाइदा लिएको उदाहरण दिदै यस्ता कार्यमा इलामका सबैले साथ दिन जरुरत रहेको औल्याए ।

इलाम आफैमा राम्रो मौसम, कृषि, व्यापार र पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला भएकाले युवालाई मातृभूमिमा नै लगनशील बन्न पे्ररित गर्न सकिने प्रमुख बस्नेतले जोड दिए ।

यस्तै वैदेशिक रोजगारीका लागि सबै भन्दा धेरै विदेश जाने युवाको संख्या धनुषा रहेको सामीका कार्यक्रम अधिकृत रामकुमार कर्णले जानकारी दिए । उनले तीन जिल्ला झापा, इलाम र पाँचथरको उदाहरण दिदै भने, इलाम र पाँचथरको भन्दा पनि झापाका महिलाहरु बढी वैदेशिक रोजगारीमा जाने पाइएको छ । जसमा पनि भिजिट भिषामा जानेको संख्या अधिक रहेको अधिकृत कर्णले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता कल्पना गजमेरले मनोसामाजिक समस्या र मनोविमर्श, मनोसामाजिक समस्याका कारण, समस्याका लक्षणहरु, पहिचानका चरणहरु लगायतकाबारेमा सहजीकरण दिइएकी थिइन् ।

यस्तै परियोजनाको परिचय, प्रगती विवरणकाबारेमा जिल्ला संयोजक ईश्वरी तामाङ्ग, वित्तिय साक्षरताबारे वित्तिय सहजकर्ता निलिमा भट्टराई, आप्रवासी स्रोत केन्दकाबारेमा विजु लकान्द्रीले र वैदेशिक रोजगार सम्बन्धी संविधान तथा ऐनमा भएका व्यवस्थाहरु र स्थानिय सरकारको प्राथमिकताकाबारेमा कार्यक्रम अधिकृत रामकुमार कर्णले सहजीकरण गरे ।

परियोजना जिल्ला अध्यक्ष महेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामी फोकल पर्सन रामकुमार साहले स्वागत मन्तव्य राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार