इलाम । इलामको रोङ गाउँपालिकामा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान सहयोगमा साना किसान कृषि सहकारी संस्थाले वडा नं ३ मा संकलन केन्द्र निर्माण गरेको हो ।
मेची राजमार्गसंग जोडिएको संकलन केन्द्रको आइतबार प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले रिवन काटेर उद्धघाटन गरे । उद्घाटन पछि उनले प्रदेश भरका १४ वटै जिल्लाका सहकारी एवम संघसंस्थाहरुसंगको समन्वयमा कृषिजन्य बस्तु संकलन र बजारीकरणका लागि केन्द्र निर्माणमा पर्याप्त लगानी गरिरहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद काजीमान कागतेले संघीयतापछि बनेको तीन तहको सरकारले विकास निर्माणसंगै कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गरिरहेको बताए । उनले अहिले तत्काल किसानहरुले अनुभुत गर्न नपाएपछि यसले दिर्घकालिन रुपमा फाइदा पुग्ने बताए । कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जुन प्रयोजनका लागि भवन निर्माण भएको त्यसैमा मात्र प्रयोग गर्न आग्रह गरे ।
ज्ञान केन्द्र मार्फत १० लाख रुपैया र सहकारीले २५ प्रतिशत लगानी गर्नुपर्नेमा संकलन केन्द्र निर्माणको लागि साना किसानले ५ लाख भन्दा बढि खर्च गरेर थप सुविधासम्पन्न बनाएको बताए । गाउँपालिका अध्यक्ष सम्शेर राईले कृषि क्षेत्र गाउँपालिकाको उच्च प्राथमिकता रहेको बताए ।
उनले तेश्रो बर्षको बजेटबाट कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर कामहरु अघि बढाइएको बताए । राईले कृषिमन्त्रीको जिल्ला भएकै कारण पनि कृषि उत्पादनको बजारीकरणमा कुनै समस्या नआउने विश्वास व्यक्त गरे ।


289 पटक हेरिएको 






