काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएकाले जमघट नगरि फागु पर्व मनाउन विज्ञले सुझाव दिएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरै सहरमा केही दिनयता प्रदूषण बढ्दै गएको छ भने कोरोना भाइरसको सङ्क्रमणको दर पनि बढेको छ ।
यसले गर्दा जोखिम थप बढेकाले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले आग्रह गरे । भीडभाड गरेर फागु मनाउँदा वा जमघट गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्ने सम्भावना रहेकाले सचेत हुन उनको आग्रह छ ।
अन्य व्यक्तिलाई रंग लगाउँदा हात, मुख, नाक, आँखा आदि सम्पर्कमा आउने भएकाले सङ्क्रमणको जोखिम उच्च हुने उनले बताए। स्वास्थ्य मन्त्रालयले फागु पर्वलाई सुरक्षित बनाउन भन्दै विभिन्न सन्देश मूलक सामग्री पनि सार्वजनिक गरेको छ । मन्त्रालयले नागरिकलाई सचेत गराउन ‘फागुमा कोरोना होइन, माया बाडौँ, जमघटबाट टाढा बसौँ’, ‘हात धोऔँ, मास्क लगाऔँ, सजगताका साथ होली मनाऔँ’ लगायत सन्देश जारी गरेको छ ।
यस्तै रंगले स्वास्थ्यमा हानी गर्ने भएकाले प्राकृतिक रंगको मात्रै प्रयोग गर्न र स्वस्थकर खानेकुरा मात्र खान पनि आग्रह गरिएको छ । आज, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ लगाएर मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने परम्परा छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलीका आफैँ भष्म भएकी तर प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलीका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
केही वर्षयता फागु पर्व व्यवस्थित बन्न थालेको छ । इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागुको अवसरमा आज काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा दिइएको छ । तराईका जिल्लामा भने भोलि फागु पर्व मनाइन्छ ।


417 पटक हेरिएको 






