अदालतमा ४३ प्रतिशत सम्बन्ध बिच्छेदका मुद्धाको चाप

मुद्धा

  सरलपाटी सम्वाददाता

 405 पटक हेरिएको

इलाम । संम्बन्ध विच्छेदका मुद्धाको संख्या बढ्दै जाँदा अदालतमा करिब आधा सम्बन्ध बिच्छेदका मुद्धाको चाप देखिएको छ । इलाम जिल्ला अदालतमा भएको कुल मुद्धामा ४३ प्रतिशत मुद्धा सम्बन्ध बिच्देदका मात्रै मुद्धाको चाप छ ।

जिल्ला अदालतमा फागुन मसान्तसम्म सात सय छ थान मुद्धा परेको छ । त्यस मध्ये तीन सय १० थान सम्बन्ध बिच्छेदका मुद्धा छन् । त्यस मध्ये एक सय ९५ थान मुद्धा फछर्यौट भइसकेको र एक सय १५ वटा मुद्धा बिचाराधीन रहेका छन् । वैदेशीक रोजगारीको कारण परिवारमा खटपट हुने, महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरुले सम्बन्ध बिच्छेद गर्ने गरेका छन् ।

सम्बन्ध बिच्छेद गर्नेहरुले आफुले पाउने अंशमा समेत दावी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिव आधाले अंशको मागदावी गर्दैनन्’, भट्टराईले भने,‘अंशको माग दावी गर्दा सम्बन्ध बिच्छेदको प्रक्रिया लम्बिने भएकाले महिलाले अंशको माग दावी नगरेको पाइन्छ ।’

सम्बन्ध बिच्छेद गर्दा महिलाले अंशको एक भाग पाउने कानुनी ब्यवस्था छ । तर, त्यसो गर्दा सम्बन्ध बिच्छेदको छिनोफानो गर्न बढि समय लाग्छ । सम्बन्ध बिच्छेदपछि अदालतमा अंश मुद्धाको चाप छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका सहित ७५ थान मुद्धा छ । त्यसमध्ये २१ थान फछर्यौट भइसकेको छ भने ४६ थान बाँकी छ ।

अशंपछि जवरजस्ती करणीको मुद्धाको चाप छ । ४८ थान जवरजस्ती करणीको मुद्धा रहेकोमा २८ थान फैसला भएको छ २० वटा बिचाराधिन छन् । कर्तब्य ज्यानको १९ वटा मुद्धा दर्ता भएकोमा सात वटा फैसला भएको छ भने १२ वटा मुद्धा बाँकी छन् ।

त्यसपछि लागु औषधका मुद्धा छन् । ती मध्ये आठ थान फछर्यौट भएको र १० वटा बाँकी छन् । अन्य तर्फ दुई सय ३६थान मुद्धा दर्ता भएकोमा ६९ थान मुद्धा फछर्यौट भएको र एक सय ६७ थान मुद्धा बाँकी रहेको अदालतको तथ्यांकमा उल्लेख छ ।

जिल्ला अदालतमा दुई सय ३० वटा सरकारवादी मुद्धा परेको थियो । त्यस मध्ये ८९ थान फछर्यौट भएर १४१ थान मुद्धा बाँकी छन् । दुनियाबादी तर्फ चार सय ७६ थान मुद्धा दर्ता भएकोमा दुई सय ४७ थान मुदा फछर्यौट भएका छन् भने दुई सय २९ थान मुद्धा बाँकी छन् ।

अदालतले विभिन्न समयमा कैद सजाय सुनाएको एक हजार नौ सय ५३ वर्ष आठ महिना २७ दिन कैद भुक्तानी गर्न बाँकी देखिएको छ । त्यस्तै जरिवाना गरेकाहरुबाट ६ करोड २६ लाख २६ हजार पाँच सय ५४ रुपैयाँ जरिमाना असुल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार