तिम्सिनाको नाममा बैंक खाता, पालिकाले ५० हजार उपलब्ध गराउने

आमालाई करुणाको सहयोग

  सरलपाटी सम्वाददाता

 540 पटक हेरिएको

इलाम । इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएसँगै आफ्नो नाममा बैंक खाता खोलेका छन् । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर घर फर्किएका उनले नेपाल एसबिआई बैंक लिमिटेड इलाम शाखामा खाता खोलेका हुन् ।

उनको खाता नम्बर २१११५२४१७००५३२ रहेको छ । नेपाल एसबिआई बैंकका शाखा प्रवन्धकले चेकबुक हस्तान्तरण गरे । पारिवारिक अवस्था देखेर कतिपयले सहयोग गर्ने इच्छा ब्यक्त गरेकाले ठूलो बुवाको नाममा बैंक खाता खोलेको उनका भतिजो गोपाल तिम्सिनाले बताए । गोपाल भन्छन्,‘सहयोग गर्न चाहानेले उनकै खातामा रकम जम्मा गरिदिए हुन्थ्यो ।’

नगरपालिकाले ५० हजार सहयोग गर्ने

माई नगरपालिकाले तिम्सिना परिवारलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बिहीबार घरै पुगेका नगरपालिका प्रमुख दिपक थेवेले परिवारालाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने बताए । उनले दुर्गाप्रसाद र पविमायाको उपचार गराउन अस्पतालसम्म ल्याउने लैजाने खर्च समेत नगरपालिकाले ब्यहोर्ने बताए ।

दुर्गाप्रसादको उपचारको जिम्मा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले लिएको छ । दुर्गाप्रसाद संगै पविमायाको समेत उपचार गराउन आफूहरु लागी परेको नगरपालिका प्रमुख थेबेले बताए । बिहीबार प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा (रमण) जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल लगायतको टोलीले लुम्बाक पुगेर उनीहरुको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

आमालाई श्रवण यन्त्र

श्रवण शक्ति कमजोर रहेकी दुर्गाप्रसादकी आामा धनमायालाई श्रवण यन्त्र प्रदान गरिएको छ । करुणा फाउन्डेशनले धनमायालाई श्रवण यन्त्र उपलब्ध गराएको हो । लामो समय जेल जीवन विताएर फर्किएका दुर्गाप्रसाद सानो स्वरमा छोटो बाक्य मात्रै बोल्न सक्छन् । आमा धनमायाले कम सुन्ने भएकाले आमा छोरोको बीचमा राम्रो संग कुराकानी भएको थिएन् ।

४० वर्षपछि फर्किएको आमा छोराको संवादलाई सहज बनाउनको लागि आमा धनमायालाई श्रवण यन्त्र प्रदान गरिएको करुणा फाउण्डेशनका ब्यवस्थापक अजित योञ्जनले बताए । श्रवण यन्त्र पाएपछि आफुले राम्ररी सुन्न सकेको धनमायाले बताइन् । ‘साइलोले बोलेकै सुनेको थिइन अब यसले (छोराले) बोलेको पनि सुन्नसक्ने भए’, धनमायाले भनिन्,‘साइलोसंग बात गर्न सजिलो भयो ।’

क्लिनिकल साइकोलोजिष्ट घरैमा

दुर्गा प्रसाद, उनका भाई धर्मानन्द र बहिनी पविमायाको अवस्था जाँच्नको लागि क्लिनिकल साइकोलोजिष्ट अर्चना पोख्रेल सहितको टोलीले घरैमा पुगेर उनीहरुको अवस्थाको मुल्याङकन गरेको छ । करुणा फाउण्डेशको इटहरी स्थित कार्यालयबाट उनीहरुको टोली तिम्सिना परिवारको घर माई नगरपालिका–१० लुम्बक पुगेको हो ।

उनले मानसिक बिरामी रहेका सवैसंग कुराकानी गरेकी थिइन् । पोख्रेलले केही दिन अघि मात्रै घर आएका दुर्गाप्रसादलाई अझै केही समय परिवारसंग विताउन दिएर मात्रै उपचार थाल्नु ठीक हुने सुझाव दिइन् । ‘अझै केही समय पर्खिनुपर्छ, केही समय आराम गर्न दिएर मात्रै उहाँलाई के उपचार गर्न भन्ने थाहा लाग्न सक्छ’, उने भनिन्,‘अरुले धेरै भीड गर्न पनि हुँदैन, परिवारलेनै उहाँलाई सपोर्ट गर्नुपर्छ ।’

पोख्रेलले पविमायाको भने चाडै उपचार शुरु गर्नुपर्ने बताइन् । ‘उहाँको न्यरोलोजी ठीक छ, चाडै साइक्याट्रिक कहा लगेर औषधी सेवन गराउनुपर्छ’, उनले भनिन्,‘उहाँको अहिले त अवस्था जटिल छ, औषधी शुरु ग¥यो भने निको हन्छ ।’ दुर्गाप्रसाद र पविमायालाई नियमीत रुपमा काउन्सिलिङ्ग आवश्यक रहेको पोख्रेल बताउँछिन् । उनले माई नगरपालिका रहेको सामाजिक पुनरस्थापना सहजकर्ता मार्फत करुणा फाउण्डेशले आवश्यकता अनुसार काउन्सिलिङ्ग गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार