
इलाम । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गृहजिल्ला फर्किएका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् । इलामको माई नगरपालिका – १० लुम्बाकका तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यलय इलामबाट नागरिकताको प्रमाण पत्र प्राप्त गरेका हुन् ।
तिम्सिना आफ्ना भतिजो गोपाल तिम्सिना, भिनाजु खडानन्द गजुरेल, भाई धिरेन्द्र शर्मा रमण लगायत सहित कार्यलयमा उपस्थित भएका हुन् । नागरिकताको लागि कार्यलयमा पुगेका तिम्सिनालाई प्रशासकिय अधिकृत देवीचरण फुएँलले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरेका हुन् ।
उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले टीका लगाउदै खादा ओडाएर सम्मान गरे । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख गरिएको छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफू खुशी भएको उनले प्रतिक्रिया दिए ।
नागरिता प्रदान गर्दै अधिकृत फूएँलले नेपाली नागरि जुनसुकै उमेर समूहका भए पनि नागरिकता प्राप्तको प्रक्रिया चालेपछि कार्यलयले नागरिकता प्रमाण पत्र प्रदान गर्ने बताए । कार्यलयमा तिम्सिना आईपुगेको करिब २० मिनेट भित्रै नागरिकता प्रमाण पत्र प्रदान गरिएको थियो ।

उनलाई कोलकाता उच्च अदालतले जेलबाट गएको चैत्र ४ गते बुधवार रिहाको आदेश दिएको थियो । आदेश अनुसार दुर्गाप्रसाद शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुटेका हुन् । व्यक्ति हत्या अभियोगमा सुनुवाइ विनै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार आफ्नो घर आइपुगेका हुन् ।
२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मङ्गलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता भएका तिम्सिना कहाँ छ भन्ने कसैलाई थाहा पत्तो थिएन । यही कारण २०१७ साल साउनमा जन्मिएका उनले हालसम्मको समय जेलमै बसेर बिताएकाले अहिलेसम्म उनको नागरिकता नै बनेको थिएन ।
तिम्सिना २० वर्षको हुँदा घरबाट हिडेकोे आमा धनमाया तिम्सिनाले जानकारी दिइन् । ८५ वर्षकी आमा धनमाया भन्छिन् , ‘दुर्गाप्रसादको धार्मिक परम्परा अनुसार व्रतबन्ध र विवाह समेत भएको छैन ।


419 पटक हेरिएको 






