इलाम । खानेपानीको अभावमा काकाकुल झैँ बनेको इलाम बजारमा अबको चार महिनामा खानेपानी आउने भएको छ । कोभिडका कारण गरिएको लकडाउनले काममा केही ढिला भए पनि अबको चार महिनामा योजना सम्पन्न हुने भएको हो । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा सुरु भएको इलामको खानेपानी आयोजनाले सदरमुकाममा खानेपानी वितरण गर्ने भएपछि स्थानीय ढुक्क देखिएका छन् ।
२३ किलोमिटर लामो पाइपलाइन रहेको आयोजनामा तीन किलोमिटर पाइपलाइन जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको खानेपानी आयोजनाका इन्जिनियर मेघराज धिमाल बताउछन् ।
नगरपालिकामा यसअघि आपूर्ति हुँदै आएको गिताङ खोलाबाट १६, मेवा र रातेखोलाबाट दश–दश लिटर तथा भाँडीखोलाबाट प्रतिसेकेन्ड पाँच लिटर पानी ल्याइने छ । वितरण पाइपलाइन सहित एक सय ५० किलोमिटरमध्ये एक सय २० किलोमिटरको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।आयोजना सम्पन्न भइसक्दा प्रतिसेकेन्ड ४१ लिटरका दरले पानी आउने जनाइएको छ ।
यस आयोजनामा कम्प्युटरबाटै पानीका भल्भहरू कन्ट्रोल गर्न सकिने र नयाँ प्रविधि मार्फत पानी ल्याउन लागिएको इन्जिनियर धिमाल बताउछन् । आयोजना सम्पन्न भएपछि चार हजार एक सय घरपरिवारलाई नेपाल सरकारको मापदण्ड अनुसारको पिउने पानी उपलब्ध गराइनेछ ।
एसियाली विकास बैंक ९एडिबी०को मुख्य लगानी रहेको आयोजनाको रमण कन्स्ट्रक्सन एन्ड जिआइटिसी जेभीले काम गरिरहेको छ । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले ब्यहोेर्ने छ ।सुरुको लागत अनुमान करिब ८३ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोडभन्दा बढी कम उपभोक्ताले जम्मा गरेका थिए ।
२५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ । नगरपालिकाले कोषबाट १४ करोड ४८ लाख रुपैयाँ ऋण लिएको हो ।प र्यटकीय नगरी इलाममा बाहिरबाट आउने पर्यटकहरूको बढ्दो चाप र बढ्दो जनसंख्याको कारण सुख्खा याममा खानेपानीको हाहाकार नै हुने गरेको थियो ।
आयोजना सम्पन्न हुने भएपछि इलाम बजारले झेल्दै आएको पानीको हाहाकार सधैँका लागि अन्त्य हुने विश्वास गरिएको छ ।


439 पटक हेरिएको 






