
इलाम । हिडडुल गर्न नसक्नु । मुस्किलले हात चलाउन सक्नु र बोल्न सक्नु । कतै जान परे कसैलाई बोकाउनै पर्ने । अरुको सहारा नमिले पुग्छु भनेको स्थानमा पुग्नै नसक्ने । यो जीवनशैली हो इलाम नगरपालिका ३ पुवामझुवाका नितेश सुनुवारको । नितेश शारीरिक रुपमा अरु झै सबल छैनन् । तर सोच भने सबलकाहरुको भन्दा बलियो छ । भन्छन्, ‘म एक्लो थिए तर जीवनसँग हारेको थिइन, आज मलाई माया गर्ने श्रीमतीको साथ छ’, ‘उनैको प्रेमले अहिले त झन आहा ! भन्ने भाछ, जिन्दगी ।’ ‘जीवन जीउनुको गज्जब मज्जा त यस्तै बेला लाग्दो रैछ, जतिबेला अतुलनिय माया पाइन्छ र कसैलाई उनी मेरो भन्ने सौभाग्य जुर्छ, उनले थपमा भने ।’
जन्मजात फरक शारीरिक क्षमताको भएर पनि आफूले गर्न सक्ने काममा नितेशको पछि हट्ने बानी छैन । गीतसंगीत, सामाजिक सञ्जाल र मिडियामा सकेसम्म अपडेड रहने उहाँको बानी छ । सूर्योदय नगरपालिका १ जोगमाईकी जेनिसा थामीसँग नितेशको मिडियाबाट नै चिनजान भयो । अन्ततः गफ भएको दुई महिना पछि दुईबिच विवाह नै भयो ।
नितेश हिड्न सक्दैनन् । तर विवाह भने भागाएर गरे । जेनिसालाई लिन आधा बाटोसम्म बहिनी र भाउजु गए । शिक्षा संकायबाट कक्षा १२ मा अध्ययन गर्दैै गरेकी जेनिसाले नितेशलाई साथ दिन्छ भन्नेमा गाउँका धेरैले पत्ताएनन् । ह्या ! कहाँ साथ दिनु । मिल्न प¥यो नी जोडी । झुक्याउन आकी नी सम्मको वचन सुन्न परेको थियो नितेश विगत सम्झदै मन दुखाउछन् । तर वि.सं. २०७६ मंसिर २१ मा यी दुईको सिन्दुर पोते भयो । यसपछि भने सबैमा विश्वास बढेर गयो ।
जेनिसा अरुको सहारामा बाच्नु होइन । अरुको सहारा बन्न सक्नुलाई ठूलो उपलब्धी मान्छिन् । करुणा फाउण्डेसनमा कार्यरत रहदा रहदै उनमा यस्तो सोच आएको हो । फाउण्डेसनले अपाङ्गता भएका व्यक्ति र परिवारका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्ने गर्छ ।
२० वर्ष पुग्दा जेनिसाको २७ वर्षका नितेशसँग विवाह भयो । विवाह अघि दुई बिच भेटै भएन । ‘विचार मन प¥यो । लक्ष्य मन प¥यो । अनि विवाह गर्ने निर्णयमा पुगेँ । मनैले रोजेपछि शारिरीक अपाङ्गताले नछेक्दो रैछ नी त !’ जेनिसाले भनिन् ।
जेनिसा र नितेशको एक छोरो छ । उनको नाम जेनिल हो । जेनिलको जन्म २०७६ असोज १२ मा भएको हो । नितेश मात्रै होइन सन्दकपुर गाउँपालिका १ माइमझुवाका राजन राई पनि आफूलाई भाग्यमानी ठान्छन् । उनलाई सिद्धिथुङ गाउँपालिका भोजपुरकी ससीकला राईको साथ मिलेको छ । यिनीहरुको विवाह २०६६ सालमा भएको हो ।

फूटबल खेल्दा गोलले राजनको आँखामा लाग्यो । त्यहि बेला देव्रे आँखाको ज्योति गुम्यो । समयमै उपचार हुन सकेन । विस्तारै दाहिने आँखाले देख्न छोडे । र १४ वर्षको उमेरमा दुवै आँखाको ज्योति गुम्यो । राजन घरको भित्री काम सबै गर्छन् । तर बाहिरी काम गर्न भने गाह्रो हुन्छ उनलाई । राजन भन्छन्, ‘उनको साथ र माया नहुदो हो त म यहाँसम्म पुग्नै सक्ने थिइन नी , यसकारण पनि म आफूलाई भाग्यमानी ठान्छु ।’
ससीकला र राजनको चिनजान पढाईका शिलशिलामा भएको हो । राजन संगीत सिक्न मोरङ्ग पुगेका थिए । ससीकला फूपुकोमा पाहुना आएकी थिइन् । बसाई नजिकै भएकाले चिनजान भयो । मन मिलेपछि १९ वर्षकै उमेरमा ससीकलाले २४ वर्षका राजनसँग भागेर विवाह गरिन् । विवाह गर्दा चिनजान भएको १० महिना बितिसकेको थियो ।
जेठी छोरी नौ वर्षकी र कान्छी छोरी छ वर्षकी भईसकेका छन् । राजनको परिवारलाई पहिले जस्तो कठिन छैन । अहिले त छोरीहरुले पनि साथ दिन थालिसकेका छन् ।
वचनले मन त दुखेकै हो नी

मैले गलत निर्णय गरेँ । मलाई लाग्दैन । तर समाजमा चासो यसैको हुन्छ । मैले विवाह गरेकोमा धेरैले असन्तुष्टि व्यक्त गरे । त्यो बेलाको वचनले मन चस्स नदुखेको कहाँ हो र ? दुखेकै हो नी । जेनिसा भन्छिन्, ‘अझै पनि भन्छन्, भन्ने मान्छेको मुख थुन्न सकिन्न, भन्नेले भन्दै गर्छन् म अघि बढ्दै जान्छु भन्ने सोच्छु अनि निरन्तर अघि बढीरहन्छु,’‘मलाई भनिएका त्यहि तितो वचन नै मेरो लागि अघि बढ्ने खुट्कीला बन्यो । र अझै बन्छ पनि । उनले थपमा भनिन् ।
ससीकलाको पनि भोगाई फरक छैन । जेनिसाको जस्तै छ । अहिले फरक यत्ति छ नानीहरुले पालो दिन थालिसकेका छन् । उनलाई पहिले भन्दा अहिले निक्कै सहज छ । उनी भन्छिन्, ‘धेरै बल लाग्ने काम गर्न नसक्दा अन्यलाई सहयोग माग्नु पर्दा भने झण्झट मान्ला की भन्ने डर हुन्छ ।’
मेरो पहिलो जज नै मेरी श्रीमती

तिमीलाई छोडी अन्तै माया लाउन सक्दिन,
तिमीले गरे जस्तो माया पाउन सक्दिन ……………………
हिजो कत्ति पछुतो थियो जिन्दगीसँग
तर आज साह्रै खुशी छु म
जिन्दगीको सहयात्री छोरा र उनीसँग ……………….
नितेश यसरी नै मनका कुरा अरुसँग पोख्ने होइन शब्दमा व्यक्त गर्ने गर्छन् । जेनिसाको साथ पाएपछि उनका कलमले यस्तै खुशी अनि मायालु रचना रच्न थालेको छ । दुवै जना गीतसंगीत र साहित्यमा रुची राख्ने भएकाले रचना रच्नु र सुनाउनुको तालमेल मज्जाले मिल्छ । नितेश भन्छन्, मेरो पहिलो जर्ज नै मेरी श्रीमती हुन् ।
नितेशको आफ्नै सोलो गीतिएल्बम निकाल्ने लक्ष्य छ । गीतसंगीतमा उनको डेढ लाख लगानी भयो । यस लगानीले एउटा गीत रेर्कड भयो । बाँकी दुई वटा गीत छनोटमा परेका छन् । तर रकम अभावका कारण ती गीत त्यसै छन् । लेखिएका गीतहरु धेरै छन् उनको । धेरै मध्ये आफूलाई मन परेका १५ वटा शब्द रचना छन् । नितेश भन्छन्, ‘जसरी भए पनि एउटा एल्बम निकालेर मेरा शब्दलाई जीवित राख्नुछ, निरन्तर यसैको प्रयासमा छु,’ ‘उनको साथ छ, सक्छु भन्ने आट छ खुशी हुदै, उनले भने ।’
गीतसंगीतमा नितेशको झै राजनको पनि रुची नभएको होइन । उनको पनि बाध्यता यहि छ, रकमको अभाव । राजनको संगीत सिकेर संगीत गुरु बन्छु भन्ने लक्ष्य थियो । लक्ष्य प्राप्तीका लागि उनले मोरङ्गको बेलबारी संगीत नामक इन्स्टीच्युटमा आठ महिना संगीत पनि सिके । ‘तर लगानी बालुवाको पानी भने जस्तै भयो केहि गर्नै सकिन नी,’ उनले दुखेसो पोखे ।
राजन अझै पनि तबला, गीटार बजाउछन् । ‘बजाउन जानेर मात्रै हुन्न, के गर्नु र ? सीपलाई जीवन उपयोगी बनाउनै त सकिन,’ थपमा उनले गुनासो गरे ।’ सन्दकपुर गाउँपालिका १ को देउराली बजारमा धेरै वर्ष अगाडी महोत्सव लाग्यो । त्यो समयमा भएको सांस्कृतिक कार्यक्रममा राजन प्रथम भए । यत्तिको उपलब्धिमै उनको लक्ष्यले बिट मारेको छ ।
भाग्यमानी रैछु भन्ने लाग्छ

नितेशले जीवनमा यस्तो साथको सपना कहिल्यै देखेका थिएनन् । सपना त के कल्पनासम्म पनि गरेका थिएनन् । नसोचेको साथ र माया पाएकोमा खुशी व्यक्त गर्दै नितेश भन्छन्, ‘६५ केजी को म अहिले ९० केजीको भएँ, यो सब परिवर्तन उनैको मायाले हो ।’ ‘उनको साथ पाएँपछि मैले कहिल्यै एक्लो महसुस गर्न परेन, उनले थपमा भने ।’ नितेश जस्तै आफूलाई भाग्यमानी ठान्छन्, सन्दकपुरका राजन राई पनि । ‘हर कोहिको भाग्यमा प्रेम हुदैन, यदि तपाईको भाग्यमा छ भने सम्हालेर राख्नुस्, भन्ने सल्लाह दिन्छन् झगडा गरीरहने जोडीका लागि राजन ।
कृषिमै रमाउन र हराउन मन छ
श्रीमान् श्रीमती भएपछि कहिले काही कामकै बारेमा ठाकठुक पर्छ । नितेश र जेनिसालाई लाग्छ यो सामान्य हो । नितेश भन्नुहुन्छ, ‘उनको रिसमा पनि म माया देख्छु, उनी रिसाउछिन् म हाँसेर उनलाई फकाउछु ।’गाउँमै खेती गर्ने । पाखोबारी हराभरा बनाउने । दुवै जनाको लक्ष्य हो यो । यसैबाट संगीतमा लगानी गर्ने । छोरोलाई धेरै पढाउने । यो भन्दा ठूलो लक्ष्य नभएको दुवै जना बताउछन् ।
नितेश र जेनिसाकोसँग मिल्दोजुल्दो लक्ष्य छ राजन र ससीकलाको पनि । बारीमा मात्रै होइन पशु चौपायमा पनि श्रम र लगानी गर्ने सोच छ राजनको परिवारको । यसैको आम्दानीले छोरीहरुलाई उच्च शिक्षा दिलाउने लक्ष्य दुवै जनाको छ । उनीहरु भन्छन्, ‘गाउँमा छौँ, कृषिमै रमाउन र हराउन चाहन्छौँ ।’
गाउँमै सीप सिकाए सिक्थे
नितेशले करुणा फाउण्डेसन इलामको सहयोगमा मोवाइल रिपेरिङ्गको तालिम लिए । सीप सिकेपछि उनले ‘नितेश इलेक्ट्रोनिक्स मोवाइल पसल’ नामक पसल खोले । तर बजार र पसल घर भन्दा निक्कै टाडा । शारीरिक रुपमा समस्या भएपछि पसललाई निरन्तरता दिन नसकी बन्द नै गरे । ‘सीप सिके सँगै बजार पनि पाए मात्रै सीप सिकेको काम लाग्ने रैछ, नत्र त समय र लगानी मात्रै खेर जादो रैछ, उनले गुनासो गरे ।’
काम कृषिको छ । जिम्मेवारी धेरै छ । घर छोडेर कतै जान नमिल्ने भएकाले गाउँघरैमा जीवनउपयोगी सीप पाए सिक्ने थिए जेनिसा भन्छिन् । यसले अर्थोपार्जनमा थप टेवा पुग्थ्यो भन्ने लाग्छ उनलाई । जेनिसाको झै मन ससीकलाको पनि छ । उनलाई भने स्थानीय तहको समन्वयमा करुणा फाउण्डेसनले अपाङ्गता मैत्री काम गर्छ भन्ने पनि थाहा छैन । एक समय तालिमको कुरा त आएको थियो तर घरै छोड्नु पर्ने भएकाले लिन गइन । सीप सिक्ने मन भएर मात्रै के गर्नु ? घरमा काम गर्न नसक्ने श्रीमान एक्लैलाई छोडेर हिड्न मनले मान्दैन उनको गुनासो छ ।
के गर्दै छन् सङ्घसंस्था
स्थानीय तहको समन्वयमा करुणा फाउण्डेसनले अपाङ्गता मैत्री काम गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म एक हजार ८३ लाई फाउण्डेसनले आर्थिक र विभिन्न सामाग्री प्रदान गरी सहयोग गरेको करुणा फाउन्डेसनका प्रदिप अधिकारीले जानकारी दिए ।
उनका अनुसार, एक हजार तीन सय ५० लाई सहायक सामग्री प्रदान, आठ सय ७१ लाई उपचारमा सहयोग, एक सय ५४ जना अपाङ्गता भएकाको आवासीय संरचना सुधार, एक सय चार वटालाई स्वास्थ्य संस्था तथा गाउँघर क्लिनिकलाई औजार उपकरण तथा फर्निचर सहयोग, ४३ वटा अपाङ्गता मैत्रि विद्यालय निर्माणमा सहयोग र अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमसिलता पुरस्कार आठ जनालाई दिइएको छ ।
तथ्याङ्कमा कति छन् अपाङ्गता भएका ब्यक्ति
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार, नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् । जसमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको संख्या १४ हजार ८ सय ८८ छ । जसमा महिला ६ हजार ६ सय ८ र पुरुष ८ हजार २ सय ८० जना छन् ।
इलाम जिल्लामा भने हाल चार हजार तीन जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमध्ये दुई हजार चार सय ९९ जना पुरुष र एक हजार आठ सय एक जना महिला छन् ।
करुणा फाउण्डेसनका अनुसार, अपाङ्गता भएका व्यक्तिले पाउने चार प्रकारका कार्डमध्ये पूर्ण अशक्तले पाउने रातो कार्ड लिने पाँच सय ११ जना, अति अशक्तले पाउने निलो कार्ड लिने एक हजार पाँच सय ४० जना, मध्यम अशक्तले पाउने पहेलो कार्ड भएका एक हजार एक सय ४३ जना र सामान्य अपाङ्गता भएकाले पाउने सेतो कार्ड लिने आठ सय पाँच जना रहेका छन् । बाँकी तीन सय एक जनाले भने कुनै पनि प्रकारको कार्ड नलिएको करुणा फाउण्डेसन इलामले जनाएको छ ।


364 पटक हेरिएको 






