लक्ष्य अनुसार कोभिड खोप लगाएनन्

कोभिड खोप

  सरलपाटी सम्वाददाता

 366 पटक हेरिएको

इलाम । कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउने उद्देश्यले लगाउन थालिएको खोपले इलाममा लक्ष्य भेटाउन सकेको छैन । पहिलो चरणका लागि तीन सय ८३ भाइल अर्थात तीन हजार ८३० डोज खोप आएको थियो । पहिलो चरणमा एक हजार ४६५ जनाले मात्रै खोप लगाएका थिए ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, जनपद प्रहरी, सीमामा खटिने सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवाका कर्मचारी तथा पत्रकारलगायतलाई खोप लगाउने सूचीमा राखिएको थियो । तर, प्राथमिकतामा राखिएको समुहबाटै खोप लगाउनेको संख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

कार्यालयका अनुसार पहिलो चरणका दुई कार्यक्रममा जिल्लाभर तीन हजार ५२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ४ हजार ७५४ जनाले खोप लगाउने लक्ष्य रहेकामा ५ हजार १३० डोज खोप आएको थियो । ‘यो खोप प्रयोग गरिएको भन्ने हल्ला र भ्रमका कारण तोकिएको समुहका व्यक्तिहरु पनि कम उपस्थित भएका हुन् ।’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख वृजकुमार दासले भने ‘ विश्व स्वास्थ्य संगठन लगायत अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघ–संस्थाले प्रमाणित गरेपछि नेपाल आएको खोप लगाउनेबारे नकारात्मक भ्रम फैलाइएको छ ।’

जिल्लामा दास आफैंले खोप लगाउन शुरु गरेका हुन् । ‘खोपबारे धेरैले शंका व्यक्त गरे, यो खोपले केही हुँदैन भनेर मैले नै खोप लगाउन शुरु गरें, मलाइ केही भएन, खोप आउन अघि नै खोपबारे गलत हल्ला फैलाइएको छ ।’ दासले भने ‘महामारीको रुपमा फैलिएको कोरोनाले मानव जगतमै संटक थियो, खोप आउँदा पनि यस्तो भ्रम हुनु ठीक होइन ।’ तय गरिएको कार्यक्रम अनुसार नेपाली सेना, प्रहरी कर्मचारी, शसस्त्र, न्याय सेवाका कर्मचारी र पत्रकार समेत उत्साहजन ढंगले खोप अभियानका सहभागी नभएको जनाइएको छ ।

खोप लगाएपछि शरीरमा प्रभाव देखाउँदा सामन्य ज्वरोको लक्षण देखिने इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमुख साहले बताए । ‘यो खोपले रोग निवारण गर्ने होइन रोगविरुद्ध लड्ने शक्ति आर्जन गर्न सघाउँछ, त्यसकारण सामान्य ज्वरोको लक्ष्यण देखिनु सामन्य हो ।’ डा. साहले भने ‘कोरोनाविरुद्धको खोप लगाएपछि शरीरले त्यसविरुद्ध लड्छ, त्यसरी जुधेपछि सामान्य ज्वरो आउनु स्वभाविक हो । खोपलाई लडेर जितेको शरीरमा पुनः कोरोना भाइरस प्रवेश गर्दा निष्क्रिय हुन्छ ।’ कोरोनाविरुद्धको खोपले शरीरमा अन्य कुनै असर र हानी नगर्ने हुँदा सबैले भन्ने भ्रम र हल्लाका पछि नलाग्न डा. साहले आग्रह गरे ।

कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाउने कार्यक्रम सकिएको छ । दोस्रो चरणको खोप आगामी फागुन २३ गतेपछि लगाउने तयारी रहेको स्वास्थ्य प्रमुख दासले जानकारी दिए । अबको खोपको प्राथमिकतामा ज्येष्ठ नागरिक, शिक्षक, कर्मचारी रहनेछन् । एक व्यक्तिले पहिलो खोप लगाएको एक महिनापछि पुनः अर्काे खोप लगाउनुपर्ने दासले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार