‘केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन्’ ः प्रचण्ड

राजनीति किचलो

  सरलपाटी सम्वाददाता

 263 पटक हेरिएको

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताए।

शनिबार काठमाण्डौमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गरेका हुन् । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको पनि बताए ।

‘पार्टी भित्रैपट्टिबाट वर्गउत्थान भएका केही नेताहरु जो विपरित वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरुको प्रलोभनमा फस्छन् र उनीहरुका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन् ।

आफू जहाँबाट जन्मिएको हो त्यो धर्ती उनीहरुले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाई गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधि जस्तो ठान्न पुग्छन् ।’ प्रचण्डले भने, ुअहिले तपाईहरु हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भए जस्तो ठान्छन् ।’

आफूलाई महाराजधिराज ठान्न थालेदेखि पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रम्हव्याख्याको रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृति केपी ओलीमा देखिएको पनि अध्यक्ष प्रचण्डको भनाई छ ।

कम्युनिष्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको भन्दै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर केपी ओली लागेको पनि अध्यक्ष प्रचण्डले आरोप लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार