इलाम । इलाममा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म एक सय २३ जना रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
जसमा पक्राऊ प्रतिवादी ७४, मुद्धा दर्ता ४३ र फरार प्रतिवादी ६ जना रहेको कार्यलयका मुद्धा फाटकी कर्मचारी अनिसा तामाङले जानकारी दिइन् । उनका अनुसार, चालु आर्थिक वर्षको सात महिनामा मात्रै प्रयोगकर्ताको संख्या २३ जना रहेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा लागु औषध प्रयोगकर्ताको संख्या १४ रहेको जिल्ला प्रहरी कार्यलयको तथ्याङ्कले देखाउछ । जसमा पाँच वटा मुद्धा दर्ता भएको छ भने पक्राउ प्रतिवादी संख्या नौ रहेको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा यो संख्या बढेर २३ पुगेको छ । जसमा आठ ओटा मुद्धा दर्ता भएका छन् भने १५ जना प्रतिवादी पक्राऊ परेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा नौ जनाले बढी रहेको कार्यलयको तथ्याङ्कले देखाउछ ।
यी संख्यामा पनि बालबालिका र किशोर उमेर समूहका बढी रहेको प्रहरी उपरीक्षक नविनराज राईले बताए । उनका अनुसार,बन्दाबन्दीका कारण स्कूल र प्लसटु पढ्दै गरेका र पढ्न सुरु गर्न आटेकाहरुको पढाई सुरु नहुनु र कानुनकाबारेमा समेत जानकार हुनुले गर्दा पनि यो उमेर समूहको संख्या बढी देखिएको हो ।
लागु औषध प्रयोगकर्तालाई स्पष्ट थाहा हुन्छ बालबालिका र किशोर उमेर समूहकाहरुले पक्राउ परे पनि सजायमा छुट पाउछन् । यस कारण पनि लागु औषध कारोबार र प्रयोगमा सहज हुन्छ भन्ने भएका कारण पनि यो उमेर समूहको संख्या बढी देखिन गएको हो ।
राईका अनुसार, चरेश, नाईट्रोभेट, स्पास्मो प्रक्सोभन, अपिडोल क्यापटप, ब्राउन सुगर गाजा लगायतका प्रयोग कर्ता र ओसार प्रसारमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।
भन्सारमा कडाई गरीए पनि खुल्ला सीमानाका र केहि चोर बाटो भएका कारण लागू औषध ओसारपसारमा संलग्नहरुलाई नियन्त्रणमा लिन कठिनाई हुने गरेको राईले जानकारी दिए ।
नेपालमा प्रतिबन्धित औषधिहरु सीमा नजिकैको भारतीय बजारमा भने खुलेआम विक्री वितरण हुने भएका कारण पनि नियन्त्रणमा समस्या हुने गरेको बताइएको छ ।
प्रदेश एकमा दुव्र्यसन विरुद्धको अभियान
प्रदेश १ लाई दुव्र्यसन मुक्त बनाउने भन्दै २०७६ जेठमै दुव्र्यसन विरुद्धको अभियान सञ्चालन भएको थियो । अभियान सञ्चालन भएसँगै पाँच वर्षमा प्रदेश १ लाई दुव्र्यसन मुक्त प्रदेशको एक नमुना प्रदेश बनाउने प्रदेशले लक्ष्य लिएको छ ।


488 पटक हेरिएको 






