सर्वोच्च अदालतको फैसला सामान्य ः प्रधानमन्त्री ओली

फैसलाले कुनै असर गर्दैन

  सरलपाटी सम्वाददाता

 374 पटक हेरिएको

काठमाडौँ  । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको बताएका छन् ।

नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको भन्दै यसले आफूलाई कुनै असर नगर्ने बताए ।

आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने बताउँदै ओलीले अदालतको फैसलाले प्रभाव त पारेको हो त होइन ? भन्ने प्रश्न गर्दै ओलीले भने, यो सामान्य कुरा हो । मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन्, के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले अदालतको फैसलापछि मंगलबार साँझ चितवनमा एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेको विषयमा ओलीले उक्त टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले थपे, मेरो विचारमा भोलि/पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि भन्‍ने लागिरहेको छ । राजीनामा देउ, राजीनामा देउ । त्यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हर्टअट्याक भएर मर्न सक्छ । ब्रेन ह्यामरेज भएर मर्न सक्छ । गाडी ठोक्किएर मर्न सक्छ ।

जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो ।देश विकासको सन्दर्भ र आकांशमा आफ्नो दृढ रहेको भन्दै ओलीले स्वार्थबाट लपेटिएका मान्छेहरुमा सर्वोच्चका फैसला जस्ता कुराहरुले धेरै असर गर्ने बताए ।

तत्काल राजीनामा नदिने संकेत दिँदै ओलीले कार्यक्रममा भने, ‘अहिलेको सरकार छ । सरकार रहन्छ । विकासको कुरा अगाडि बढिरहेको छ । अगाडि बढ्छ । तपाईंहरु विकासको मार्गमा निश्चिन्त रुपमा अगाडि बढ्नुस् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार