प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अघि बढ्यो अविश्वास प्रस्ताव

कांग्रेस अविश्वासको पक्षमा

  सरलपाटी सम्वाददाता

 245 पटक हेरिएको

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रदेशसभा सचिवालयमा दर्ता गरेको प्रस्ताव दुई महिनापछि सदनमा पेस भएको हो।

प्रदेशसभाका ३७ जना सदस्यले हस्ताक्षर गरेको प्रस्ताव पुस १२ गते सचिवालयमा दर्ता भएको थियो। आइतबार निर्धारित समय भन्दा ढिलो सुरू भएको प्रदेशसभा बैठकमा सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा पेस गरे। बैठकमा मुख्यमन्त्रीसहित नेकपा ओली समूहका कोही पनि सांसद उपस्थित भएनन्।

सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेस भएको हो। सरकारका प्रवक्तासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद उपस्थित गराएर सदन सञ्चालन गर्नु कानुनसम्मत् नहुने बताए। निलम्बन गरिएका १६ सांसदलाई उपस्थित गराएकाले सदन बहिष्कार गरिएको उनको भनाइ छ।

मुख्यमन्त्री राईले दलको नियम कानुनविपरीत काम गरेको भन्दै १६ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन्। सो समूहले बैठक बहिष्कार गर्नेबारे सभामुख प्रदीपकुमार भण्डारीलाई जानकारी गराएको थियो। संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम बैठकमा पेस भएको सभामुख भण्डारीले बताए।

यससअघि बैठक रोक्न मुख्यमन्त्री राईले सभामुख भण्डारीलाई दबाब दिएका थिए। तर, सभामुखले अस्वीकार गर्दै कार्यसूची प्रकाशन गरेका थिए। हिउँदे अधिवेशन सुरु भएर दुई पटक बसेर सत्तापक्षकै अवरोधका कारण छोटो समयमै सकिएको बैठक तेस्रो पटक आइतबार बोलाइएको हो। अविश्वासको प्रस्ताव पेस भएपछि बैठक फागुन २० सम्मका लागि स्थगित भएको छ।

कांग्रेस अविश्वासको पक्षमा

आइतबार विराटनगर आएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा कांग्रेसले मदतान गर्ने बताएका छन्। ‘कांग्रेस प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको विपक्षमा हो’, उनले भने, ‘त्यसैले कांग्रेसले अविश्वासको प्रस्तावका पक्षमा मत हाल्छ।’

सरकारका विरुद्ध देशभर आन्दोलन गरिरहेको कांग्रेसले यो विषयमा दोधारे निर्णय नगर्ने सिटौलाले बताए। ‘अब ओलीकै नेतृत्वको कम्युनिस्ट पार्टीलाई सहयोग गरेर जाने कुरै हुँदैन,’ उनले भने ‘कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नेछ।’ सरकारले राज्य आतंक सुरु गरेको आरोप लगाउँदै सिटौलाले विराटनगरसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्छु भन्नु राज्य आतंकको नमुना भएको बताए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निश्चित भएको विश्वास व्यक्त गर्दै नेता सिटौलाले भने ‘अहिलेको राजनीतिक प्रणाली ध्वस्त पार्ने कदमलाई हाम्रो अदालतले साथ दिने कल्पनासम्म गर्न सकिँदैन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार