कोरोनाका कारण गाउँका विद्यालयमा विद्यार्थीको संख्या उच्च

सामुदायिक विद्यालयमा बढे विद्यार्थी संख्या

  सुजता सुनुवार

 467 पटक हेरिएको

इलाम । कोरोना भाइरस (कोभिड–१९) का कारण गाउँका विद्यालयमा यस वर्ष विद्यार्थीको संख्या उच्च छ । शहरी क्षेत्रमा भीडभाड हुन्छ, संक्रमणको उच्च सम्भावना रहन्छ भन्ने भएकाले अधिकांश विद्यार्थीहरु गाउँकै विद्यालयमा पढ्न थालेकाले संख्या बढेर गएको हो ।

गाउँका सरकारी विद्यालयमा पढ्न आएका नयाँ विद्यार्थीहरु अन्तर जिल्ला, अन्तर पालिका र सस्थागत (बोर्डिङ्ग स्कूल) मा अध्ययन गरीरहेका विद्यार्थीहरु छन् । गतसालको तुलनामा यस वर्ष फाकफोकथुम गाउँपालिका १ को ज्योति आधारभूत विद्यालयमा १५ प्रतिशतले विद्यार्थीको संख्या बढेर गएको शिक्षक सुरेन्द्र निरौलाले बताए ।

उनका अनुसार, गाउँका केहि सस्थागत विद्यालय हालसम्म सञ्चालनमा आएका छैनन् । बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा पर्ने उमेर समूहमा पर्छन् । जिल्ला र पालिका बाहिर अध्ययन गरीरहेका आफ्ना नानीहरुलाई जोखिम मोलेर शिक्षा दिन अविभावक तयार नभएकाले पनि गाउँका विद्यालयमा विद्यार्थीको संख्या बढेको बताइएको छ ।

ज्योति आधारभूत विद्यालयमा सस्थागत विद्यालयबाट ५ प्रतिशत र अन्तर पालिका र जिल्लाबाट भने १० प्रतिशत नयाँ विद्यार्थी आएको विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईले जानकारी दिए । उनी भन्छन्, एक देखि ८ कक्षासम्मका जम्मा विद्यार्थी ११० छन् । गतसाल भने ८५ थिए । यो विद्यार्थी संख्यालाई तुलना गर्दा विद्यार्थी संख्या २५ ले बढी हो ।

कक्षा ८ मा गतसाल ९ जना विद्यार्थी भर्ना भएका थिए । यस वर्ष भने २१ जना छन् । यस वर्ष १२ जना विद्यार्थी बढेको छ । यस्तै कक्षा ४ मा गतसाल ४ जना विद्यार्थी थिए । यस वर्ष ११ जना छन् । यो संख्यालाई हेर्ने हो भने ७ जना विद्यार्थी यस वर्ष बढेको विद्यार्थी संख्या हो । विद्यालयका अनुसार, सबै भन्दा बढी कक्षा ८ र सबै भन्दा कम कक्षा ४ मा विद्यार्थीको भर्नादर बढेको छ ।

भवनको अभावमा पठनपाठनमा समस्या

विद्यार्थी संख्या बढेपछि विद्यालयको सीमित स्रोत साधनले नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यालयमा आवश्यकता महसुस गरेरै हरेक वर्ष सम्बन्धित निकायमा पुस्तकालयको माग गरिए पनि पाउन नसकेको विद्यालयको गुनासो छ ।
कक्षा ४ का विद्यार्थीहरुलाई भने विद्यालयमा पुस्तकालयका लागि आएका पुस्तक कार्टुनमा थुपारीएर राखिएकै कक्षा कोठामा पठनपाठन गराईरहेको शिक्षकहरुले बताए ।

यस्तै प्रारम्भिक बाल शिक्षा केन्द्र र कक्षा एक का विद्यार्थीहरुलाई एउटै कक्षाकोठामा पठनपाठन गराईरहेको शिक्षक निरौलाको भनाई छ । यस्तै कक्षा दुई र तीनका विद्यार्थीहरुलाई भने बिचमा टीनले बारेर विद्यालयले कक्षा सञ्चालन गरीरहेको छ । कक्षाकोठामा केहि समय ढिला गएमा विद्यार्थीले टीन चलाएर अर्को कक्षाका विद्यार्थीहरुलाई प्रत्यक्ष असर पर्ने गरेकाले पठनपाठनमा समस्या भएको शिक्षकले बताए ।

विद्यालयले पटक–पटक पुस्तकालयको माग गरे पनि हालसम्म पाउन सकेको छैन । माग गरे बमोजिम विद्यालयले पुस्तकालयका लागि भवन पाएमा विद्यार्थीलाई व्यवस्थापन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक भट्टराई बताउछन् ।

राष्ट्रिय शिक्षा नीति, २०७६ मा देशभरी सञ्चालित सामुदायिक तथा सार्वजनिक सबै वडामा स्याटलाइट पुस्तकालय तथा घुम्ती पुस्तकालय सेवा सञ्चालन गर्ने नीतिगत व्यवस्था छ । यहि व्यवस्था अनुसार, हरेक वर्ष सम्बन्धित निकायमा विद्यालयले पुस्तकालयको माग गरेको हो ।

नेपालको सन्दर्भमा शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ ले नेपालका विद्यालयहरूलाई आधारभूत तह र माध्यमिक तह गरी दुई तहमा विभाजन गरेको छ । विद्यालय पुस्तकालयलाई पनि सोही आधारमा नै विभाजन गरिएको छ । यस आधारमा नेपालमा करिब ३७ हजार विद्यालय (आधारभूत र माध्यमिक) तीन हजार छ सय ९५ ओटा उच्चमाध्यमिक विद्यालय सञ्चालित रहेका छन् ।

जिल्लाका १० पालिकामा तीन सय ९७ सामुदायिक र एक सय १७ संस्थागत गरी पाँच सय १४ वटा विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइ इलामका शाखा अधिकृत डम्बर सुवेदीले जानकारी दिए ।

फाकफोकथुम गाउँपालिकामा मात्रै सामुदायिक ४१, संस्थागत ८ र धार्मिक १ गरी ५० विद्यालय रहेको शिक्षा शाखा प्रमुख मतावसिह लिम्बूले बताए । गाउँका अधिकांश विद्यालयमा विद्यार्थी संख्या गतसालको तुलनामा बढेर गएको विद्यालयहरुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार