बुधबारदेखि इलाममा कोभिडविरुद्धको खोप लगाइने

खोप

  सरलपाटी सम्वाददाता

 626 पटक हेरिएको

इलाम । बुधबारदेखि इलामका १७ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै, पहिलो चरणमा चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई खोप लगाइने तयारी पूरा भएको स्वास्थ्य कार्यलय इलामले जनाएको हो ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार, खोप लगाउँदा १८ वर्ष देखि माथि उमेर समूहकालाई लगाईनेछ । जसमा गर्भवती महिला, रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष मुनिकालाई खोप नलगाउने उनले जानकारी दिए ।

एक व्यक्तिले खोपको डोज पूरा गर्न दुई पटक खोप लगाउनु पर्नेछ । पहिलो खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो खोप लगाउनु पर्ने स्वास्थ्य कार्यलयको जनाएको छ । पहिलो चरणमा सर्वसाधारणमा खोप नलागाउने भए पनि दोस्रो चरणमा भने ९० प्रतिशत सर्वसाधारणलाई समेत खोप लगाउने सरकारको तयारी रहेको छ ।

कोरोना भाईरसको लक्षण देखा परेका र सक्रिय संक्रमितलाई यो खोप लगाईने छैन । निको भएका संक्रमितले एक महिनासम्म लगाउनु नपर्ने बताईएको छ । इलाममा जम्मा छ हजार नौ सय ११ जनाको श्वाब संकलन गरिएकोमा दुई सय ९६ जना संक्रमित रहेका थिए । हाल इलाममा सक्रिय संक्रमितको संख्या शुन्य रहेको कोभिड फोकल पर्सन विमल बरालले बताए ।

प्रदेश १ का १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८ सय ५१ जना र १४ वटै जिल्लाका ७ सय २५ सरसफाइ कर्मचारी गरी ३५ हजार ५ सय ७६ जनालाई खोप लगाइने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार