‘नेपालमै व्यवसाय गर्न चाहन्छु, तर मलाई सरकारको सहयोग चाहिन्छ’

व्यवसाय गर्नुका पीडा

  सुजता सुनुवार

 423 पटक हेरिएको

इलाम । नेपालमा बुवा आमा शिक्षक शिक्षिका । शैक्षिक सत्र सकिएपछि बुवा आमाको नेपालमा छुट्टी मिल्यो ।

यही छुट्टीमा परिवारसँग घुम्ने योजनाका साथ यूएईबाट माङ्सेबुङ् २ का योगेश बस्नेत पनि नेपाल आए । परिवारसँग घुम्ने ठाउँको योजना बनाए । यात्राको तयारी पनि पूरा भयो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा लकडाउन भयो । उनको घुम्ने मात्र होइन, फेरि यूएई फर्कने सपना समेत अधुरो भयो । परिस्थिति सोचे भन्दा फरक भयो । घुम्ने रमाउने योजनामा फर्किएका योगेशको केही समय अन्योल र अत्यासमा बित्यो ।

परदेश छँदा महिनैपिच्छे तलब लिने बानी । नेपालमा न काम न त हातमा दाम । परदेशमै भएको भए एक महिनापछि बढुवा हुने पक्का थियो । पद बढ्दा, सेवा र सुविधा पनि बढ्थ्यो । तर कोरोनाले योगेशको सपना र सफलता दुवैमा ब्रेक लगाइ दियो । न परदेश जान सकिने अवस्था रह्यो । न त स्वदेशमै केही काम थाल्ने परिस्थिती । केही कुरा पनि सोचे झैं नहुँदा लकडाउन सुरु भएपछिका केही महिना त योगेशलाई केही गरौं नै लागेन ।

लकडाउन केही खुकुलो भएपछि देशको अवस्था पनि केही सामान्य बन्दै गयो । त्यसपछि भने महामारीमा परदेश जानु भन्दा देशमै केही गरौं भन्ने सोच पलायो । अनि, योगेशले गएको असोज महिनादेखि ‘सप्लायर्स’ को काम थाले ।‘निक्कै गाह्रो रैछ नेपालमा व्यापार गर्न, न सामान पाइन्छ, न भरपर्दो बजार नै,’ काम थालेपछिको आफ्नो अनुभव सुनाउँदै योगेशले भने, ‘तर पनि म हारेको छैन, गर्छु संघर्ष, यसैमा मैले मेरो भविष्य खोज्नुछ ।’

दुई लाख ९० हजार रुपैयाँ लगानी गरेर उनले सप्लायर्सको काम सुरु गरेका हुन् । उनको ‘सप्लायर्स’ मा विवाह, पार्टीका लागि पुलाउ पकाउन प्रयोग गरिने चामल, फेनी रोटी, पास्नी र किटको कराई जस्ता सामान पर्छन् । चामलका लागि एक लाख पचास हजार र सामानका लागि एक लाख ४० हजार रुपैयाँ लगानी भएको छ ।

उनलाई अलि धेरै लगानी गर्न मन थियो । भन्छन्, ‘परदेशमा रोजगारी गुमाएर नेपाल आएकालाई बिना धितो लोन दिने व्यवस्था छ भन्ने सुनेर बैँकमा लोन लिन गएँ तर पाइनँ, बैंकहरुले पाइँदैन भन्दै फर्काए,’ गुनासो गर्दै भन्छन् योगेश ।

२०७२ देखि २०७७ फागुनसम्म यूएईमा रहदा सिकेका व्यवहारिक ज्ञान अहिले नेपालमा पनि काम लागेको छ । उनले यस समयवधिमा कसरी व्यापार गर्ने ?, समयको व्यवस्थापन कसरी गर्ने ?, सामूहिक काम कसरी गर्ने ? लगायतका सीप सिकेका थिए । यही सीप नै अहिले आफ्नो देशमा काम गर्न सहयोगी बनेको छ ।

उनी सप्लायर्सको काम गर्दै धरान, दमक, बिर्तामोडसम्म पुग्छन् । काम गर्न निक्कै गाह्रो भए पनि नेपालमै केही गर्छु भन्ने सपनाले निरन्तर परिश्रमी बन्न प्रेरित गरेको योगेश बताउछन् ।

रोजगारी गुमाएका श्रमिकलाई सहयोग मिले हुन्थ्यो

योगेशको परदेशमा जागिर गुम्यो । नेपालमै बस्नु पर्ने बाध्यता छ । त्यसै बसेर कमाई हुन्न । कमाइका लागि सप्लायर्सको काम त सुरु गरे । तर लगानी पर्याप्त छैन । सरकारले सहुलियतमा ऋण दिने व्यवस्था गरे पनि बैंकमा जाँदा ऋण पाइँदैन ।

योगेशलाई लाग्छ, सरकारले केही गर्छु भन्नेलाई सहुलियतमा ऋण उपलब्ध गराउनुपर्छ । भएका व्यवस्थाहरु कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । सरकार नीति नियम बनाउने तर त्यसको कार्यान्वयन नहुँदा केही गर्छु भन्नेहरूलाई मर्का परेको र पलायन नै हुने अवस्था आउने गरेको उनको बुझाई छ ।

भन्छन्, ’म देशमै केही गर्न चाहन्छु, केही काम पनि थालेको छु तर त्यसलाई अघि बढाउन अब सरकारको साथ र सहयोग चाहन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार