
इलाम । बालबालिका र हिंसा पीडितको सुरक्षा सरोकारवालाले गर्नु पर्ने मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको छलफल कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरू राष्ट्रिय बाल अधिकार परिषद्को निःशुल्क बाल हेल्प लाइन १०९८ सम्बन्धि सरोकारवालहरूसँगको छलफल कार्यक्रममा बोल्दै बालबालिका र हिंसा पीडितको सुरक्षाको विषयमा सरोकारवालाले योजनाबद्ध काम गर्नु पर्नेमा जोड दिए ।
अविभावक बिहिन बालबालिका र हिंसा पीडितको सवालमा स्थानीय सरकारले योजनाबद्ध काम गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले बताए । उनले पीडामा परेकाको सुरक्षा, आकस्मिक आवास र दिगो पारिवारिक पुनर्मिलनको आवश्यकता रहेको जानकारी गराउँदै, सबै स्थानीय तहले यस विषयमा पूर्वाधार, बजेट र नीतिगत व्यवस्थापन गर्नु पर्ने औल्याए ।
‘समुदायमा विभिन्न थरिका अविभावक बिहिन बालबालिका र हिंसा पीडित भएपनि उनिहरूले समयमै सुरक्षा र न्याय पाउँन सकेका छैनन् प्रमुख बरालले भने–पीडितलाई दिगो पारिवारिक व्यवस्थापन सहज छैन । समस्यामा परेकाको व्यवस्थापनमा सबै तहको समन्वय हुन आवश्यक छ । व्यवस्थापनका लागि बैधानिक सरकारी संयन्त्र बनाउँनु पर्छ ।’
स्थानीय सरकारले बालबालिका र हिंसा पीडितको सवालमा बहस चलाउँदै सुरक्षा र विकासको योजनाबद्ध काम गर्नु पर्ने समन्वय समितिका उप–प्रमुख चित्रकला बराइलिले बताइन् । उनले समस्यामा परेकालाई उचित व्यवस्थापन र सुरक्षामा स्थानीय तहले पूर्वाधार लगायतको बजेट समेत व्यवस्थापन गर्न पर्ने आवश्यकता औल्याइन् ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बालबालिकाको सुरक्षा लगायतको सामाजिक सुरक्षाको विषयमा स्थानीय तह जिम्मेवार रहेको बताए । उनले बालबालिकाको सवालमा नीतिगत व्यवस्थापनमा जोड दिएको बताउँदै, दिगो व्यवस्थापनमा सबै सरकारको हातेमालो हुनु पर्नेमा जोड दिए ।

‘हिंसामा परेका पीडितका लागि पूर्वाधार व्यवस्थापन मात्र पर्याप्त नहुँने प्रमुख बस्नेतले भने– ‘सेफ हाउस’ सञ्चालन गर्न जिल्लाका सबै स्थानीय तहसँग समन्वय र सहकार्य हुन सके मात्र योजनाबद्ध काम गर्न सकिन्छ ।’ जिल्ला बाल संगठनका अध्यक्ष नवराज शंकरले समस्यामा परेकालाई सुरक्षीत आकस्मिक आवास लगायतको दिगो पारिवारिक पुनर्मिलनको काम सरकारी स्तरबाट हुनु पर्ने बताउँदै, स्रोतको आवश्यक व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बालबालिकाको सुरक्षाको क्षेत्रमा काम हुन नसकेको बताउँदै, सबै स्थानीय तह मिलेर स्रोत र साधनको सदुपयोग गर्दै जिम्मेवार भएर काम गर्नु आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईले अविभावक बिहिन बालबालिका र हिंसा पीडितको आकस्मिक सुरक्षा र आवासको सवालमा प्रहरी सधैं समस्यामा पर्ने गरेकाले सेफ हाउस निर्माण गर्न सरोकारवालालाई सुझाए ।
उनले पारिवारिक पुनर्मिलनले पनि समस्या समाधान नहुँने ठाउँमा दिगो व्यवस्थापनका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नु पर्नेमा जोड दिए । सुरक्षा राज्यको दायित्व भएकाले सरकारले नै प्रमुख व्यवस्थापनको काम गर्नु पर्ने नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष बिकास कर्मचार्यले बताए । उनले भने– ‘संरक्षणको सवालमा राज्यले काम ग¥यो भने हामी जस्ता सरोकारवालाले गर्नु पर्ने काममा सहयोग गर्न तयार छौं ।’
बलबालिकाको सवालमा सरकारी तथा गैर सरकारी दुबै मिलेर काम गरे मात्र सहज हुने नेपाल पत्रकार महासंघ जिल्ला शाखा इलामकी अध्यक्ष कोकिला ढकालले बताइन् । मानव अधिकार मञ्च नेपाल इलामका उपाध्यक्ष बीरबहादुर खड्काको अध्यक्षतामा भएको छलफलमा जोखिममा परेका बालबालिकाको आपतकालीन आकस्मिक उद्धार, राहत तथा संरक्षणका लागि निःशुल्क रूपमा सम्पर्क गरी सेवा लिन बाल हेल्पलाइन नम्बर १०९८ को विषयमा हेल्प मञ्चका लाइन प्रमुख भक्त थामीले जानकारी गराए ।
मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले छलफलको स्वागत तथा विषयबस्तु उठान गर्दै, बालबालिका र हिंसामा परेकाको मानवीय हिसाबले सुरक्षा र व्यवस्थापनको विषयमा सरोकारवाला एक हुनु पर्ने बताए । मञ्चकी गायत्री थेगिमले सञ्चालन गरेको कार्यक्रममा बालबालिकाका विषयमा सरोकार राख्ने जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनीधि र सञ्चारकर्मीको सहभागी थियो ।


339 पटक हेरिएको 






