
इलाम । इलामको सूर्योदय नगरपालिकाले खान अयोग्य भएको भन्दै ठूलो परिमाणमा खाद्मन्न नष्ट गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभावमा परेकालाई सहयोगका लागि संकलन भएका खाद्मन्नलाई शनिबार पालिकाले खान अयोग्य भएको भन्दै नष्ट गरेको हो ।
नष्ट गरिएका खाद्मन्नमा चामल तीन सय ५०, मुसुरी दाल दुई सय ५० केजी र २० प्याकेट नुन नष्ट गरिएको पालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलले जानकारी दिए ।
उनका अनुसार, दाताबाट संकलन गरिएको ८ हजार तीन सय केजी चामल (एक सय ६६ बोरा) मध्येबाट बिग्रिएका जतिलाई खाल्डोमा पुरेर नष्ट गरिएको हो । संकलित खाद्मन्न भण्डारणका लागि राम्रो ठाउँ नभएको र चिसो ठाउँमा रहेकाले बिग्रीए पछि आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको पालिकाले जनाएको छ ।
कोरोनाका कारण भएको लकडाउनमा पालिकाले एक चरण चामल वितरण गरेको थियो । पहिलो चरणमा २१ हजार छ सय पाँच केजी चामल वितरण गरेको हो । यसपछि भने समस्याको मूल्याङ्कन पनि भएन । स्थानियलाई सहयोग समेत नगरिएकाले संकलित खाद्मन्नलाई भण्डारण गरेर राख्नु परेको थियो ।

नष्ट गरेर बाँकी रहेका खाद्मन्नलाई बिक्रीका लागि पालिकाले मुन्सुली चामल लिलाम बिक्रिको सूचना निकाल्दै चामल बेच्ने तयारीमा लागेको छ । नष्ट गरेर बाँकी रहेका सात हजार नौ सय ५० केजी चामल भने बिक्री गरिने बताइएको छ । पालिकाले गएको पुस १३ गते नै चामल लिलाम बिक्रीको सूचना निकालेको हो ।
नगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोष मार्फत असार मसान्त सम्ममा क्वारेन्टाईन निर्माण, स्वास्थ्य सामग्री खरीद, राहत बितरण , क्वारेन्टाईनमा बस्नेलाई खाना खर्च, यातायात खर्चमा ७५ लाख ६६ हजार सात सय आठ रुपैँया खर्च भएको पालिकाले जानकारी दिएको छ ।
पालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा संघीय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय इलाम, नगरका जनप्रतिनिधि, कर्मचारी, र विभिन्न संघ संस्था तथा ब्यक्तिहरुबाट कुल ८७ लाख नौ हजार २७ रुपैँया जम्मा भएको थियो । असार मसान्तसम्ममा १० लाख पाँच हजार ९८ रुपैँया कोषमा बचत रहेको पालिकाले जानकारी दिएको छ ।


474 पटक हेरिएको 






