इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको बैठक सम्पन्न भएको छ । नेकपाले विभिन्न निर्णय गर्दै २० गते दोश्रो र २१ गते तेश्रो बैठक सम्पन्न गरेको कार्यालय सचिव नवराज शंकरले जानकारी दिए । जिल्ला समन्वय समितीको हलमा पार्टीका केन्द्रिय सदस्य इलाम जिल्ला अध्यक्ष एवम् प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्यहरु महेश बस्नेत, गणेशप्रसाद बराल, जयप्रकाश राई, नरेन्द्रनाथ भट्टराई, पदम भण्डारी, शोभा पराजुली, तारा गुरुङ्ग र काजिमान कागतेको विशेष उपस्थितिमा विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो।
१ सय ४७ सदस्यीय जिल्ला कमिटी रहेको इलाममा ६४ जनाले पार्टी छाडेर अर्को समुहमा गएको कारण रिक्त रहेको पदमा मनोनय गरेर १ सय ९९ सदस्यीय बनाइएको ओली समुहका अध्यक्ष रामबहादुर मगरले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । जिल्ला बैठकले रामबहादुर मगर अध्यक्ष रहेको कार्यालय टिम बनाएको छ ।
सदस्यहरुमा महेश बस्नेत, गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई, शोभा पराजुली, तारा गुरुङ्ग, उमेश गुरुङ्ग, कृष्णप्रसाद श्रेष्ठ रहेका छन् । त्यसैगरी नवराज शंकर, ओमनारायण खनाल, चित्रकला बराईली, देवेन्द्र विश्वकर्मा, सूर्य पोख्रेल र दिपेन्द्र खनाल सदस्य रहको १५ सदस्यीय जिल्ला कार्यालय गठन गरेको जनाएको छ ।
पार्टीको जिल्ला सचिव सोममाया राई ‘सिन्धु’ पार्टी छाडेर अर्को राजनितिक समुहमा गएको कारण रिक्त पदमा तत्काल कामकारवाहीको लागि कार्यालय सचिव नवराज शंकरलाई दिने समेत निर्णय भएको जनाइएको छ । उपयुक्त मापदण्ड बनाएर जिल्ला कार्यालयको कार्यविभाजन, सचिवालयको पूर्णता र कार्यविभाजन, जिल्ला कमिटीको कार्यविभाजन, नगर तथा गाउँ कमिटीहरुको आवश्यक कार्यविभाजन सहितको निर्णय साथै पार्टीको राजनीतिक तथा सांगठानिक कार्ययोजना आगामी २७ गते बस्ने जिल्ला कार्यालयको बैठकले तय गर्ने कार्यालय सचिव नवराज शंकरले जानकारी दिए ।
केपी शर्मा ओलीलाई चौतर्फी रुपमा घेराबन्दीमा पार्दै आफ्नो पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका कारण जुन किसिमको समस्या उत्पन्न गरेर पार्टी फुटाउनेसम्म काम निन्दनीय भएको जनाएको छ । विशिष्ट परिस्थितिमा पार्टीलाई थप मजबुद र एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी आएकाले स्वाधिन, अखण्ड, सार्वभौम मुलुकको रुपमा राष्ट्रिय एकता कायम गर्दै विकास र समृद्धिको दिशामा अघि बढाउनका सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्न अनुरोध गरिएको छ ।


391 पटक हेरिएको 






