इलाम । ठेकेदारको लापरवाहीले मेची राजमार्ग दुर्घटनाको उच्च जोखिममा परेको भन्दै रोङ्ग गाउँपालिकाका स्थानीय आन्दोलित भएका छन् । मेची राजमार्ग अन्तर्गतको सडकखण्डमा टेलिकमको अप्टिकल फाइबर बिच्छ्याउदा सडकमै निर्माण सामाग्री थुपार्ने, सुस्त गतिमा काम गर्ने, लगायतका कारणले दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश १ का जिल्लामा टेलिकमको अप्टिकल फाइबर बिच्छ्याउन लगाएको रोङ्ग गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा प्रवक्ता समेत रहनु भएका मनि कुमार सुवास स्याङ्बोले बताए ।
अप्टिकल फाइबरको गुणस्तरीय काम नेपाली व्यवसायीले गर्न नसक्ने भन्दै प्राधिकरणले सो ठेक्का विदेशी कोरियन कम्पनीलाई दिएको बताइएको छ । यस कामको ठेक्का कोरियन कम्पनी एलएस केबल सिस्टम प्रालिले पाएको छ । कम्पनीले कमिसनको चक्करमा आफैँले काम नगरी फाइबर बिच्छ्याउने काम ठेक्कामा जिम्मा दिएको स्थानियको आरोप छ ।
अहिले रोङ गाउँपालिकाका वडा नम्बर ३ र ४ मा पर्ने जोरकशलदेखि कुट्टीडाँडासम्म अप्टिकल फाइबर बिच्छ्याउने काम भइरहेको छ । विरोधमा उत्रिएका स्थानीयले यस कार्यलाई गएको सोमबारबाट काम गर्न बन्द गराएर आन्दोलनको सूरुवात गरेको स्थानीयले बताए ।
यस्ता लापरवाही कामलाई तत्काल रोकेर वार्तामा आउन संघर्ष समिति रोङ्ग गाउँपालिका पहरी गाउँ इलामले ध्यानाकर्षण ज्ञापन पत्र सोमबार प्रशासनमा बुझाउदै आग्रह गरेको छ । संयोजक कुमार ढुङ्गेलको हस्ताक्षरमा समितिले जिल्ला प्रशासन इलामलाई ज्ञापन पत्र बुझाएको समितिका अध्यक्ष एगा अर्यालले बताए ।
ज्ञापनपत्रमा पाँच बुँदे माग गरिएको छ । सरोकारवालासँग सम्बन्धित निकायले तत्काल वार्तामा आउनुपर्ने, अस्तव्यस्त भएको सडक पहिला जस्तै बनाउनुपर्ने, आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय काम गर्नुपर्ने, भत्किएको सडक संरचना बनाउनुपर्ने र मेची राजमार्गको पक्की नाला, कालोपत्रे भत्काएर फाइबर बिच्छ्याउन दिएको अनुमति सम्झौतापत्र सार्वजनिक गर्नुपर्ने जस्ता माग ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापन पत्रको वेवास्ता गर्दै तत्काल सम्बन्धित निकायले समस्याको समाधानमा पहल नगरे आगामी आइतबार (पुस २६) गतेदेखि दैनिक एक घण्टा राजमार्ग बन्द गरी सशक्त आन्दोलनमा उत्रने समितिले जनाएको छ ।
गाउँपालिकाले पटक–पटक सम्बन्धित निकायलाई पत्राचार गरिसकेको प्रवत्ता स्याङ्बोले जानकारी दिए । यो समयसम्म पनि सम्बन्धित निकायले चासोको विषय नबनाएकाले ‘निर्माण व्यवसायको अनियमितता र लापरबाहीप्रति स्थानियले गरेको आन्दोलनलाई जनप्रतिनिधिले समर्थन गरेको छ ।’ उनले भने ।
सडकमै निर्माण सामाग्री थुपार्ने, सुस्त गतिमा काम गर्ने, गुणस्तरहिन काम भईरहेको पाइएकाले सार्वजनिक सडक ऐन २०३१ को दफा १८ र १९ मा व्यवस्था भएको कानुनको समेत पालना नभएको जनाइएको छ ।
गाउँपालिकाको भूमिमा फाइबर बिच्छ्याउदा सम्बन्धित पक्षले स्थानीय तहसँग समन्वय र सहकार्य गर्नु पर्ने तर यो समेत नगरिएको पालिकाले जनाएको छ ।



560 पटक हेरिएको 






