इलाम नगरपालिकामा प्रसुतीको लागि अस्पताल आउन–जान महिलालाई निशुल्क एम्बुलेन्स

अन्य बिरामीलाई २० प्रतिशत छुट

  सरलपाटी सम्वाददाता

 1164 पटक हेरिएको

इलाम । इलाम नगरपालिकाले गर्भवति महिलालाई प्रसुती गराउन अस्पताल ल्याउन र लैजानको लागि निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रभित्रबाट इलाम अस्पताल र साखेजुङ्ग स्थित वर्थिङ्ग सेन्टरमा गर्भवतिलाई ल्याउन लैजानको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहाले जानकारी दिए । जिल्ला बाहिर लैजादा भने त्यस्तो सुविधा नपाइने शाहाले जानकारी दिए । त्यस्तै नगर क्षेत्रका बासिन्दाले एम्बुलेन्सको प्रयोगमा २० प्रतिशत छुट पाउने भएका छन् । जिल्ला स्तरीय एम्बुलेन्स भाडा दर निर्धारण तथा व्यवस्थापन समितिले तोकेको भाडादरमा २० प्रतिशत छुट दिइने भएको हो । अन्य बिरामीलाई जिल्ला बाहिर लैजानु पर्ने अवस्थामा पनि २० प्रतिशतको छुट सुविधा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
त्यसका लागि इलाम नगरपालिकाले हालै एउटा उम्बुलेन्स खरिद गरेको छ । एम्बुलेन्स सेवा प्राप्त गर्नका लागि मोवाइल नम्बर ९८६९८ ११११५ मा सम्पर्क गर्नु पर्ने, यदि सो नम्बरमा तत्काल सम्पर्क हुन नसके मोवाइल नं. ९८५२६ ८१२३६ मा सम्पर्क गरेर सेवा लिन सकिने नगरपालिकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार