
जिल्लाका सबै सरकारी कार्यालयहरु, स्थानीय तह तथा सार्वजनिक निकायका प्रमुखको बैठकमा पुस्तिका सार्वजनिक गरिएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईको अध्यक्षता, प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल र विशेष अतिथि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय, इलामले संयोजन र विश्लेषण गरेको पुस्तिका ‘इलाम जिल्लामा सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुको स्थिति विवरण–२०७७’ को विमोचन समन्वय समिति प्रमुख र नगर प्रमुखबाट संयुक्त रुपमा गरेका हुन् । उक्त पुस्तिकाको सान्दर्भिकतामाथि प्रजिअ सेढाइले जानकारी गराएका थिए । पुस्तिकाले सरोकारवाला निकायहरु र व्यक्तिहरुलाई लाभदायी भई सेवा प्रवाह र विकास निर्माणका कार्यमा सुधार हुने अपेक्षा गरिएको छ ।
स्थायी सरकारको दिने सेवा र सुविधा तथा विकास निर्माणको कार्यमा सदा अनुशासित, इमान्दार र कर्मशील भई काम गर्न प्रजिअ सेढाइँले स्थानीय तहलाई आग्रह गरे । निर्वाचनको मितिको घोषणासँगै सबै राष्ट्रसेवकले आफूलाई तयारी अवस्थामा राख्न, विकास निर्माणमा संलग्न आयोजना र कार्यलय प्रमुखले जिल्ला बाहिर जाँदा प्र।जि।अ।बाट स्वीकृती लिएर जान, कार्यालयमा नियमित उपस्थित, समयपालना, अनुशासन र सेवाग्राही प्रतिको सकारात्मक व्यवहार हुन निर्देशन दिएको छ ।
यसमा अनुगमन निरीक्षणको क्रममा कमी कमजोरी पाइएमा कानून बमोजिम कारबाहीको विषय बन्ने प्रजिअ सेढाइले जानकारी दिए । उक्त पुस्तिकाका साथ साथै इलाम जिल्लासँग सरोकार हुने सबै सार्वजनिक निकायहरु, स्थानीय प्रशासनसँग सम्बद्ध निकायहरु र अन्य उद्यमीहरु सबैको सम्पर्क खुलेको टेलिफोन डायरी पनि जिल्ला प्रशासन कार्यालय, इलामले प्रकाशन गरी वितरण गरियो ।
कोभिड–१९ को संक्रमण सामान्यीकरण हुँदै गएको वर्तमान अवस्थामा इलाम जिल्लाका कार्यालय प्रमुखहरुको बैठक हरेक महिनाको ५ गते बस्ने बैठकले निर्णय गरेको छ ।


422 पटक हेरिएको 






