इलाम । इलामको इलाम नगरपालिका स्थित जिल्ला सम्वनय समिति इलामको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘कोभिड – १९ ले सञ्चार क्षेत्रमा पारेको असर र समाधानको उपाय’ विषयमा पत्रकार र सम्बन्धित निकायका प्रतिनिधीको सहभागीतामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आ– आफ्नो विचार व्यक्त गर्दै कोभिड – १९ का कारण आर्थिक मन्दीले मिडिया र मिडियाकर्मी संकटमा परेको सहभागीहरुले बताएका छन् । यसको प्रत्यक्ष असर मोफसलमा रहेर दुःखले टिकीरहेका छापा माध्यम र एफएम रेडियो दुवैमा परेको उनीहरुको भनाई छ ।
नागरिकका जिल्ला सम्वाददाता भीम चापागाईले भने, हामी अरुका कथा लेख्छौँ, तर कोभिडका कारण आज हाम्रै कथा लेखिनुपर्ने भएको छ ।’ ‘तर बाध्यता छ, पत्रकारले आफ्नैबारेमा लेख्न कलम चलाउन मिल्दैन । यो समयमा श्रमजीवी पत्रकारलाई स्थानीय तहले प्राथमिकतामा राख्नै पर्छ, थपमा उनले भने ।’
अहिले एफएम रेडियोमा विज्ञापन आउनै छाडेको इलाम एफएमका स्टेशन म्यानेजर रमेश पराजुलीले बताए । उनले भने, ‘एफएम रेडियोमा अस्वस्थ प्रतिष्पर्धा हुन थालेको छ । जसले गर्दा आफ्नै विज्ञापनको रेड दर आफैले भन्न नसकिने अवस्थामा हामी पुगेका छौँ ।’
रहरले सुरुवात गरिएका पेशा भएकाले आर्थिक संकट हुँदाहुँदै पनि बाध्यताले कामलाई निरन्तरता दिइरहनु परेको मिडियाकर्मीको दुखेसो छ । कोभिडका संकटमा सबैलाई राहत दिइयो, पत्रकार पनि परे तर क–कसले पाए भन्ने हेक्कासम्म नभएको चियाबारी एफएमका विक्रम सुन्दासले गुनासो गरे । यस्ता संकटका समयमा पहुँचमा रहेकालाई मात्र होइन सञ्चार क्षेत्रमा तंग्रिदै गरेकालाई पनि महत्वमा राखिनु पर्ने उनको माग छ ।
स्थानीय तहले मोफसलका पत्रपत्रिका र एमएम रेडियोलाई प्राथमिकतामा राखिनुपर्ने सहभागीहरुको सामुहिक माग छ । केन्द्रका मात्रै पत्रिका हुन्, रेडियो हुन् र अनलाईन भनेकै फेसबुक पेज मात्रै हुन् भन्ने सोचाई बढ्दै जाने हो भने पत्रकारिता पेशाबाट सबै पत्रकारहरु पलायन हुनु पर्ने बाध्यता आउने दिन आउछ । यस्ता समस्या समाधानमा स्थानीय तहले प्रवल भूमिका खेल्नु पर्छ भन्छन्, इलाम पोष्ट दैनिकका कार्यकारी सम्पादक किरण पौडयाल ।
एक अर्कामा उचाल्ने र पछार्ने कार्य कोही कसैले नगरौँ । नागरिकलाई सुसूचित गराउन स्थानीय छापा माध्यम र एफएम रेडियोलाई महत्वमा राख्न जरुरी छ । यसका लागि स्थानीय तहलाई झकझकाउनै पर्ने सहभागीहरुको धारणा थियो । यस्तै पत्रकारितामा पलायन हुदै गएका महिला पत्रकारलाई कोभिड – १९ ले झन धेरै असर गरेको छ । यसमा समेत अग्रज पत्रकार र सम्बन्धित निकायले चासोको विषय बनाउन जरुरी रहेको बताइएको छ ।
कोभिडको असरबारे अझ स्पष्ट पार्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा इलाम पोष्ट दैनिकका सम्पादक सटेन्द्र जवेगूले अहोरात्र खटिएका पत्रकारलाई महासंघले नजिकबाट नियालेको बताए । उनले पत्रकारितामा देखिएको समस्यालाई उल्लेख गर्दै भने,‘चार प्रतिशतले रोजगारी गुमाए, छ प्रतिशतले बेतलबी बस्नु प¥यो, नौ प्रतिशतको सेवा सुविधा नै कटौती भयो, १४ प्रतिशतले तलब नै पाएनन् र ४० प्रतिशत पत्रकार अन्यौलमा छन् ।
यस्तै २ दशमलव ५ प्रतिशत सञ्चार गृह बन्द भए, ४ दशमलव १ प्रतिशत पत्रकारले पेशा नै परिवर्तन गरे । सबैमा क्षेत्रमा परेको असरसँगसँगै कोभिडको असरबाट पत्रकार पनि अछुतो नरहेको उनले जानकारी दिए ।
कार्यक्रममा उठेका सवालमा केन्द्रित हुदै जिल्ला सम्वनय समिति इलामका गणेश बरालले पत्रकारका समस्या समाधान गर्न स्थानिय तहसम्म सम्वनयको भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । उनले पत्रकारलाई सान्तवना दिदै भने, गर्जो टर्ने गरी हामी सहयोग त गर्न सक्दैनौँ । तर केहि राहत मिल्ने गरी सहयोग भने हुने नै छ । समस्या समाधानका लागि पत्रकार महासंघ जिल्ला शाखाले ऐन पोलिसी बनाउएरै स्थानीय तहसम्म गएमा यो समस्या समाधान हुने गैर सरकारी संघ प्रदेश १ का अध्यक्ष प्रकाश अधिकारीले बताए ।
यस्तै पत्रकारले आफ्नो समस्या भने अवस्य पनि समाधान गर्नतर्फ महासंघ लागी पर्ने पत्रकार महासंघ इलाम शाखाकी अध्यक्ष कोकिला ढकालले प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष सोम सुसेली, विभिन्न सञ्चार माध्यममा आवद्ध राम योङ्गहाङ्ग लिम्बू, सुजन तिम्सिना, तोया भट्टराई, सुनिता राई, सुजता सुनुवार लगायतले बोलेका थिए ।
नेपाल प्रेस युनियन इलाम शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम युनियन अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । सचिव टीका खतिवडाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको औचित्यबारे उपाध्यक्ष सविता पाण्डेले बताएकी थिइन् ।


465 पटक हेरिएको 






