काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते चुनावको लागि स्वीकृति दिए पनि यो कदम गैर–संवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा भएको दुई पक्षको सांसदहरूको भेलाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदम राष्ट्रघाती भएको उल्लेख गर्दै तत्काल संसद्को अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो ।बैठकले संविधान बमोजिम संसद् बैठक बोलाउने समय भइसकेकोले संसद् अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताए ।
उनले भने, ‘नेपालको संविधानमा भएको प्रतिनिधि सभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भूमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधि सभाको विघटन प्रस्ताव र त्यसलाई सिफारिस गर्दा संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपति समेत त्यसतर्फ कुनै संवेदनशील नरहेको प्रति यो संसदीय दल विरोध गर्दछ र उनको कार्यलाई अस्वीकार गर्दछ ।
संविधान बमोजिम संसद्को अधिवेशन बोलाउनु पर्ने समय भइसकेकाले संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न यो बैठक माग गर्दछ ।’संसद् बैठक माग गर्दै प्रतिनिधि सभाका ९० जना र राष्ट्रिय सभाका २४ जना सांसदले हस्ताक्षर पनि गरेका छन् । यसको थप प्रक्रियाको लागि मङ्गलबार (भोलि) संसदीय दलको बैठक बोलाउने पनि दुई पक्षले निर्णय गरेका एक नेताले जानकारी दिए ।


359 पटक हेरिएको 






