इलाम । विकासको नाममा ऐतिहासिक पहिचान र पुरातात्विक महत्वको विनास गर्न नपाइने नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले जनाएको छ । जिल्ला सभापती हिमालय कर्माचार्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसले विकासका बहानामा विनास गर्न नपाइने बताएको हो ।
दिगो विकासका लागि चालिने हर कदम पर्यावरणमैत्री, समावेसी र पूरातात्विक महत्वको संरक्षण हुने कार्य हुनु पर्छ, यस्ता कार्यमा कांग्रेस जो कोहिसँग साथमा साथ र हातमा हात मिलाउन तयार रहेको प्रतिवद्धता समेत जाहेर गरेको छ ।
इलाम नगरको सम्पत्ती आम नागरिकको साझा र सार्वजनिक सम्पत्ती भएकाले पालिकाले तत्काल स्वेतपत्र जारी गर्नु पर्ने बताइएको छ । आफ्ना चल अचल सम्पत्ती विवरण सार्वजनिक गरेर मात्रै मास्नु पर्ने जनाइएको छ । पारदर्शी नभई पालिकाले गरेको यो कार्यप्रति विज्ञप्तीको माध्यमबाट कांग्रेसले घोर आपत्ती जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, खुल्ला क्षेत्र जति सबै मासेर भिमकाय (विशाल) संरचना मात्रै निर्माण गर्नुलाई वैज्ञानिक ढङ्गको विकास मान्न सकिदैन । त्यसैले यस्ता कार्य तत्काल रोकिनु पर्ने भन्ने जनगुनासोप्रति कांग्रेसको ध्यानाकर्षण भएको छ । खुल्ला क्षेत्रको महत्व धेरै हुने भन्दै आगलागी, भुकम्प जस्ता प्रकोपमा यस्ता क्षेत्रको झनै ठूलो महत्व हुने विज्ञप्तीमा खुलाईएको छ ।
यस्तै निर्माण सम्पन्न भईसकेका भवन प्रयोगविहिन भएको तर्फ समेत नगरपालिकाको ध्यान पुग्नु पर्ने पक्षमा जोड दिइएको छ । करोडौको लगानी खेर गएको बताउदै विज्ञप्ती मार्फत केहि उदाहरण समेत दिइएको छ । जस्तो इलाम नगरपालिका ९ स्थित ‘सेरा बसपार्क र कोल्ड स्टोरमा लगानी गरियो तर मुनाफा भएन । यी संरचना र फाल्गुनन्द सुकिलुम्बा विमानस्थल सञ्चालनमा ल्याएर देखाउन पालिका समक्ष कांग्रेसले जोडदार माग गरेको छ ।
यसै गरी व्यापारिक भवनहरुका सटरहरु भाडामा लगाउदा समानान्तर नभएको जनगुनासोलाई मध्यनजर गर्दै, सामानतामा जोड दिदै सच्चिन पालिका पदाधिकारीहरुलाई आग्रह गरिएको छ । नसच्चिए जटिल कदम समेत चाल्न सकिने चेतावनी समेत दिइएको छ ।
अधिकार प्राप्त भएको आडमा शैक्षिक क्षेत्रमा पनि अनधिकृत हस्तक्षेप गरेको कांग्रेसले आरोप लगाएको छ । यस्ता कार्यलाई कांग्रेसले सुष्म ढङ्गले नियालीरहेको विज्ञप्तीमा उल्लेख छ ।



379 पटक हेरिएको 






