दिवसको अवसरमा महिला चिया श्रमिकको प्रतिमा अनावरण

प्रतिमा

  सरलपाटी सम्वाददाता

 479 पटक हेरिएको

इलाम । इलामको इलाम नगरपालिकास्थित चोकबजारमा बनाइएको महिला चिया श्रमिकको प्रतिमा बिहीबार एक कार्यक्रमको आयोजना गरी अनावरण गरिएको छ । इलाम नगरपालिकाले निर्माण गरेको सो प्रतिमा मानव अधिकार दिवसको अवसर पारेर अनावरण गरिएको हो ।

चिया श्रमिकको सम्मान स्वरुप इलाम चोक बजारमा चिया टिप्दै गरेको श्रमिक महिलाको प्रतिमा पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको बताइएको छ ।

नेपालमा तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाको पहलमा चिया खेती सुरु भएको मान्यता रही आएको छ । वि.सं. १९२० मा पहिलो पटक चीनबाट चियाको बिरुवा झिकाएर खेती सुरु गरिएको हो । जिल्लालाई चियाको जिल्ला भनेर चिनाउन योगदान दिए बापत सम्मान स्वरुप थापाको प्रतिमा यस अघि नै निर्माण गरि सकिएको छ ।

चिया खेतीको विस्तारसँगै श्रमिक समेत सोहि समय देखि सक्रिय रहेको भन्दै श्रमिकको सम्मान स्वरुप प्रतिमा निर्माण गरिनु आजको आवश्यकता बनेकाले निर्माण गरी चोकमा राखिएको पालिका प्रमुख महेश बस्नेतले बताए ।

उनले भने, ‘हाम्रो पौरख, हाम्रो गौरव र हाम्रो पहिचान उजागर गर्न यो प्रतिमा सहयोगसिद्ध हुनेछ । ‘यिनीहरुको माध्यमबाट नै समाज र आर्थिक समृद्धीको परिकल्पना गर्न सकिन्छ उनले थपमा भने ।’

आज डिसेम्बर १० विश्व मानव अधिकार दिवस । शोषणमा परेको, सामाजिक, आर्थिक र राजनैतिक न्यायबाट वञ्चित भएकालाई न्याय दिलाएकै कारण आजको दिनको विशेष महत्व छ । यहि महत्वपूर्ण दिनको अवसर पारेर प्रतिमा अनावरण गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार