इलाममा माटो परीक्षण प्रयोगशाला सञ्चालन

आगामी पुस पहिलो साताबाट सुचारु

  सुजता सुनुवार

 399 पटक हेरिएको

इलाम । इलाममा माटो परीक्षण प्रयोगशाला सञ्चालन गरिने भएको छ । किसानको गुनासो बढ्दै गएपछि लामो समयदेखि बन्द रहेको प्रयोगशाला पुनः सञ्चालन गरिने भएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए ।

उनले भने, ‘विगत तीन वर्ष यताबाट इलामका किसानको माटो परीक्षणका लागि सुनसरीस्थित क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्का, सुनसरी र झापाको माटो परीक्षण प्रयोगशाला सुरुङ्गा, झापामा पु¥याउनु पर्ने बाध्यता थियो । अब भने त्यो बाध्यता हट्ने भएको छ ।

माटो परीक्षणको सर्वसुलभ सुविधाबाट वञ्चित हुँदा व्यवसायिक किसान मारमा परीरहेका थिए । इलाममा प्रयोगशाला सञ्चालन भएपछि भने किसानलाई राहात मिल्ने भएको छ । इलामका ग्रामिण क्षेत्रका माटो परीक्षण गर्नको लागि जिल्लासम्म ल्याउन नै लामो समय लाग्छ । जिल्ला ल्याएर पनि सुरुङ्गा वा झुम्का पठाउदा भने लामो समय लाग्ने भएकाले किसान झञ्झट मान्ने गरेको पाइन्छ । यसर्थ झन्झटिलो मानेर किसानले विगतदेखि हालसम्म परीक्षणका लागि माटो नै नल्याएको अधिकृत पन्तले जानकारी दिए ।

यहि समस्याका कारण प्रयोगशालामा सोयल विज्ञ÷अफिसर नभए पनि केन्द्रका कर्मचारीद्धारा नै प्रयोगशालामा काम गर्ने केन्द्रले जनाएको छ । अधिकृत पन्तका अनुसार, प्रयोगशाला सञ्चालन केन्द्रले गर्नु पर्ने जिम्मेवारी भित्र नरहे पनि किसानका सुविधाका लागि सञ्चालन गरिने भएको हो । प्रयोगशाला सञ्चालन पछि माटोलाई प्रतिमहिना परीक्षण गरी आवश्यक उपचारका लागि फिल्डमा जान सहज हुने लक्ष्य राखिएको छ ।

माटोको पीएच मान छ देखि सात सम्म भएको माटोलाई खेती योग्य माटो मानिने अधिकृत पन्तले जानकारी दिए । विरुवालाई चाहिने अर्थात माटोमा हुनुपर्ने नाइट्रोजन फसफोरसको मात्रा, पोटासको मात्रा चाहिने भन्दा कम छ या मध्यम छ भनेर जाँच्ने गरिन्छ ।

माटो सम्बन्धि प्राविधिकहरुका अनुसार, माटोको पीएच मान सात भन्दा तल झर्दा अम्लियपन बढी र पीएच मान सात भन्दा माथि हुँदा अम्लियपन बढी हुन्छ । पीएच मान कम भई अम्लियपन बढ्दै गएको माटो अन्नबाली खेतका लागि उपयुक्त मानिदैन ।

दुई वर्ष अघि परीक्षण गरिएको माटोको नमुनालाई हेर्दा इलामका माटोमा अम्लियपन बढी (पिएच मान चार भन्दा कम) पाइएको थियो । पिएच मान चार भन्दा कम हुनु भनेको माटो विस्तारै खेतीका लागि काम नलाग्ने भएको मान्नुपर्छ अधिकृत पन्त भन्छन् । यसर्थ उचित समयमा माटोको परीक्षण गरेर उचित समयमा उपचार गरे किसानको पसिना खेर नजाने भएकाले स्थगीत रहेको प्रयोगशालालाई पुनः सुचारु गर्ने केन्द्रले जनाएको छ ।

आगामी पुस पहिलो साताबाट प्रयोगशाला सुचारु गरी किसानलाई सर्वसुलभ सेवा दिने अधिकृत पन्तले जानकारी दिए । पहिलो चरणमा एक सय जना किसानको माटो परीक्षण गर्ने तयारीमा जुटेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार