इलाम नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द

मंसिर १९ देखि २४ गतेसम्म सेवा बन्द

  सरलपाटी सम्वाददाता

 939 पटक हेरिएको

इलाम । इलामको इलाम नगरपालिकाका सम्पूर्ण सेवा भोलीबाट बन्द हुने भएको छ । पालिकामा निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले मंसिर १९ देखि २४ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो ।

यस अवधिभर पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा ) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ ।

पूर्वाधार निर्माण सेवा भने निरन्तर जारी रहने इलाम नगरापालिका इलामका प्रशासकिय अधिकृत राम शाहले जानकारी दिए । उनले भने, स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गरी २५ जना भन्दा कम मजदुर राखेर निर्माण कार्य जारी राख्ने नगरको निर्णय छ ।

यस्तै खाद्य सामाग्री ढुवानीका गाडी अपरान्न ४ बजेपछि मात्र सञ्चालन अनुमति दिइएको छ । यस समयमा पालिकाको निर्णय विपरीत कार्य गरे गराए र प्रचलित स्वास्थ्य सम्बन्धि मापदण्ड उल्लङ्गघन गरे सक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही गरिने पालिकाले जनाएको छ ।

इलाम नगरपालिकाका सम्पूर्ण १२ वटै वडालाई निषेधित क्षेत्र घोषणा गरी हाटबजार, बैङ्किङ्ग सेवा, सरकारी कार्यलय र एम्बुलेन्स बाहेकका सम्पूर्ण यातायातका सेवा बन्द गर्ने अधिकृत शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार