
इलाम । कोभिड माहामारीका कारण सयौले रोजगारी गुमाइरहेको बेला इलाममा ‘दिगो रोजगारीको लागि सीप विकास परियोजना’ कार्यान्वयन शुरु भएको छ । युरोपीयन युनियनको लगानी, ब्रिटिस काउन्सीलको व्यवस्थापनमा दक्षता कार्यक्रम अन्तर्गतको दिगो सीप विकास परियोजना उद्योग वाणिज्य संघ इलामले कार्यान्वयनमा ल्याएको हो । कार्यक्रम अन्तर्गत पर्यटन क्षेत्रको होटल ब्यवसायमा आवश्यक दक्ष कामदार उत्पादन गरिने इलाममा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
वैदेशीक रोजगारीबाट फर्किएका, अर्ध बेरोजगार र रोजगारीमा आउन चाहाने नव प्रवेशीहरुको सीप विकास गरेर होटलमा रोजगारी दिलाइने कार्यक्रम छ । १५ महिना अवधिको सो कार्यक्रमबाट तीन सय २० जना दक्ष कामदार उत्पादन गरिने । होटलका लागि आवश्यक पर्ने जनरल कुक, कन्टिनेन्टल कुक, वेटर, हाउस किपिङ्ग, होटल सहायक, रिसेप्सनिष्ट, क्यासियरको तालिम गराइने छ । तालिमका लागि परियोजनाले सार्वजनिक आह्वान गर्नेछ । आवेदन पेश गरेकाहरुबाट छनोट गरेर तीनसय ९० घण्टाको आवासीय तालिम गराइने छ ।
उनीहरुलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इष्टिच्युटले सिटिइभिटिइ मापदण्डको तालिम गराउने छ । २० प्रतिशत सैदान्तिक र ८० प्रतिशत प्रयोगात्मक तालिममा सहभागीहरुलाई राष्ट्रिय सीप विकास बोर्डको लेवल १ को सीप परिक्षण परिक्षामा सहभागी गराएर रोजगारीको निम्ति आवश्यक क्षेत्रमा पठाइने परियोजनाको प्रमुख राम रिमालले बताए । ‘तालिम गराएर सीप परिक्षण परिक्षण गराइसकेपछि हामी बजारमा आवश्यक जनशक्तिको माग संकलन गर्छौ’, रिमालले भने, ‘जहाँ जस्तो जनशक्तिको माग छ, त्यहाँ तालिम लिएका व्यक्तिहरुको सम्पर्क गराइदिन्छौ ।’
होटल एशोसिएशन इलामका अध्यक्ष देवी पौडेल होटलमा काम गर्ने योग्य कामदार पाउन मुस्किल भएकाले तालिमपछि उत्पादन हुने जनशक्तिले रोजगारी पाउन कुनै मुस्किल नपर्ने बताउँछन् । ‘इलाम जिल्लामा रहेका होटलहरुमा मात्रै दुई हजार तीन सय हाराहारी कामदार छन्, ती मध्ये सय जना पनि दक्ष कामदार छैनन्’, अध्यक्ष पौडेलले भने,‘तालिम पछि उत्पादन भएको जनशक्तिले रोजागरीको लागि बाहिर जानुपर्ने अवस्था आउँदैन ।’

परियोजना अन्तर्गत २० जनालाई एक पटक तालिम गराइने छ । विभिन्न स्थानमा गरेर एकै समयमा चारवटा सम्म समुहलाई तालिम गराउने तयारी छ । परियोजनामा अन्तर्गत तीन करोड २३ लाख ९७ हजार ६ सय ८५ रुपैयाँ खर्च गरिने छ । त्यसको ७३.६३ प्रतिशत अर्थात दुई करोड ३८ लाख ५४ हजार चार सय १५ रुपैयाँ कार्यक्रममा खर्च गरिनेछ । त्यस्तै १९.३७ प्रतिशत अर्थात ६२ लाख ७५ हजार चार सय ३१ रुपैयाँ प्रशासनिक क्षेत्रमा खर्चिने छ । कार्याक्रम कार्यान्वयन गर्ने संस्था उद्योग वाणिज्य संघले सात प्रतिशत अर्थात २२ लाख ६७ हजार आठ सय ३७ रुपैयाँ उद्योग वाणिज्य संघले पाउने छ ।
उद्योग वाणिज्य संघले परियोजनाको बारेमा सरोकारवालालाई जानकारी दिएको छ । उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षको अध्यक्षता तथा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, माई नगरपालिका प्रमुख दिपक थेवे, माङसेबुङ्ग गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गो, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्द कट्टेल, केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहाल, रत्नकुमार वान्तवा पोलिटेक्निकल इष्टिच्युटका प्रमुुख दिपक खनाल लगायतले मन्तब्य राखेका थिए ।
संघका महासचिव हेमन्त गौतमले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको उद्देश्यका बारेमा उपाध्यक्ष मदन श्रेष्ठले जानकारी गराएका थिए भने कार्यक्रम संयोजक राम रिमालले परियोजनाको बारेमा जानकारी गराएका थिए


442 पटक हेरिएको 






