पार्टी कसैले फुटाउन सक्दैनः बरिष्ठ नेता खनाल

छ पालिकामा अस्पताल

  सरलपाटी सम्वाददाता

 287 पटक हेरिएको

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनाले नेकपा नफुट्ने दावी गरेका छन् । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित १५ शैयाको अस्पतालको शिलान्यास कार्याक्रममा बोल्दै खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने बताएका हुुन् । ‘नेकपा फुट्दैन, टुट्दैन यो स्पातले बनेको पार्टी हो’, खनालले भने,‘यसलाई कसैले पनि फुटाउन सक्दैन, को छ नेकपालाई फुटाउने मान्छे ?, कुन नीति, कुन कानुनले फुटाउन सक्छ ?’

उनले नेकपालाई संविधान र कानुन बमोजिम पनि फुटाउन सक्नुपर्ने बताएका छन् । उनले संविधान र कानुनहरुले पार्टीलाई फुटाउन नदिने भएकाले आफुहरु पार्टीलाई फुटाउन दिने पक्षमा नभएको नेता खनालले बताएका छन् । ‘पार्टीलाई बहस र छलफलको माध्यमबाट अझ बलियो बनाउने पक्षमा छौ, बहस छलफलबाट आत्तिनुपर्ने कुरा छैन’, खनालले भने,‘बहसहरुबाट नेकपा रुपान्तरण हुँदै जान्छ, अहिले रुपान्तरणको अन्तरिम फेजबाट गुज्रीरहेका छौ ।’

नेकपामा देखिएको बहसबाट कोही पनि खुशी हुनुनपर्ने बताए । ‘नेकपा फुटिदिन्छ कि, अनि मैले चाही ठूलो भाग खान पाउँछु कि, म रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ’, खनालले भने,‘अहिलेदेखि कसैले रोटी बेल्दैछ भने बिचरा तपाईले त्यो रोटी सेकाउने ठाउँ पाउनु हुन्न ।’

खनाले पार्टी भित्र अन्तरसंघर्ष भएका कारण बहसमा भएको बताए । उनले देश पार्टी र सरकारलाई कसरी सम्बृद्ध बनाउने भन्ने विवाद रहेको बताए । सरकारलाई कसरी अझ बढि लोकप्रिय बनाउने रोम्रो राम्रो नीति कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्नेमा बहस भइरहेको बताए । नेता खनालले पार्टीलाई चलाउँदा बिधि र पद्धती पुर्वक कसरी चलाउने, पार्टीलाई कसरी सम्बृद्ध र सुसस्कृत पार्टी बनाउने अभियान पार्टी भित्र चलिरहेको र त्यही शिलशिलामा पार्टीका नेताहरुका बीचमा भिन्नताहरु देखा परेको खनाल बताउँछन् । ‘कतिपय नेताहरुका बीचमा भिन्नताहरु देखा परेको छन्, मतमा, सोचमा, दृष्टिकोणमा, कार्यशैलीमा पद्धतिमा भिन्नताहरु छन्’, खनालले भने,‘त्यसले गर्दा अहिले बहस भएको छ ।’

सरकारले देशभरका सवै स्थानीय तहमा पाँच देखि १५ शैयाको अस्पताल निर्माणलाई अभियानकै रुपमा अघि बढाएपनि यो काम केही दिलो भएको खनालको प्रतिक्रिया छ । ‘कोरोना माहामारी शुरु भएको दश महिना वितिसक्दा प्रत्येक स्थानीय तहमा अस्पतालहरु बनाउने अभियान शुरु भएको छ’, खनालले भने,‘सरकारले शुरुमा कोरोना माहामारीले अति प्रभाव पार्न सक्ला भनेर अनुमान गर्न सकेन त्यसैले यो काममा केही ढिलाई भएको छ ।’ खनालले सोमबारनै माइ नगरपालिकामा स्थापना हुने १५ शैयाको अस्पतालको पनि शिलान्यास गरेका छन् ।

छ स्थानिय तहमा अस्पताल

सरकारले अस्पताल नभएका तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भएको छ । ती सवै ठाउँमा बनाइने अस्पतालको सोमबार शिलान्याश गरिएको छ । इलामको ६ स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल बनाइने भएको छ ।

सूर्योदयको फिक्कल प्राथामीक स्वास्थ्य केन्द्र, देउमाई नगरपालिकाको मंगलबारे प्राथामिक स्वास्थ्य केन्द्र, माई नगरपालिकाको दानाबारी स्वास्थ्य चौकी, माइजोगमाई गाउँपालिकाको नयाँबजार स्वास्थ्य चौकी, चुलाचुली गाउँपालिकाको चुलाचुली स्वाथ्य चौकी, फाकफोकथुम गाउँपालिकाको फाकफोकथुम स्वास्थ्य चौकी, सन्दकपुर गाउँपालिकाको माइपोखरी स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाइने भएको हो । एउटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउनको लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार