अनि म्यानपावरको काम छाडेर कृषि कर्ममा लागें

तनावबाट मुक्ति पाउन कृषिमा

  सुजता सुनुवार

 345 पटक हेरिएको

इलाम । ‘जीवनमा दाम र नाम भन्दा पनि मनमा शान्ति चाहिन्छ,’ इलामका छविलाल अधिकारी आफ्नै भोगाइ सुनाउँदै भन्छन्, ‘दाम कमाउने बाटो धेरै रहेछन् तर सबै बाटोले मन शान्त हुँदो रहेनछ । त्यही मनको शान्तिकै लागि त छविलाल म्यानपावरको काम र मलेसियाको दाम छाडेर अहिले इलाम बजारमै कृषि कर्म गरीरहेका छन् ।

कमाउने सपना बोकेर छविलाल आफैं मलेसिया गए । त्यहाँ बसेर म्यानपावरको काम समेत गरे । यी कामबाट छविलाललाई दाम त मिल्यो तर मनमा शान्ति मिलेन । त्यसैले उनी परदेशको दुःख म्यानपावरको काम र भनाइ सबै भोगे र फर्किएर आफ्नै ठाउँमा कृषि कर्ममा लागे ।

धेरै मानिस परदेश पुगेपछि घर र खेतीपाती बिर्सन्छन् । खेतीपाती गरेर जिन्दगी चल्छ भनेर पनि सोच्दैनन् । तर छविलाललाई भने परदेश पुगेपछि लाग्यो – ‘देशमा जस्तो बेश कतै रहेनछ ।’

सूर्योदय नगरपालिका – १२ इलामका छविलाल अधिकारी २०७० सालमा मलेसिया उडे । उनी डीडी हुमेन रिसर्च म्यानपावर सिनामंगल काठमाण्डौबाट मलेसिया गएका हुन् । सात वर्ष उनको उतै बिते । यो सात वर्षमा उनलाई मलेसियाले निकै कुरा सिकायो ।

सुरु–सुरुमा अरुले म्यानपावरले ठग्यो, कमाइ भएन भनेर गुनासो गरेको सुन्दा ठगीमा नपर्ने खालका डिमाण्ड मलेसियाबाट नेपाल पठाउँछु भन्ने सोच पलायो ।

‘आफन्तको म्यानपावर भएकाले पनि यस्तो ठगीमा नपर्ने काम पनि त हुँदा हुन् नि भनेर मैले मलेसियाबाटै म्यानपावरका लागि काम थालेको थिए,’छविलाल भन्छन् । उनले आफैं मलेसिया गएको म्यानपावर डीडी हुमन रिसर्च म्यानपावरका लागि मलेसियाबाट काम थाले । काम पनि राम्रो हुँदै गयो ।

छविलालले आफ्नै गाउँका थुप्रैलाई परदेश पु¥याए । यतिसम्म की ५० प्रतिशत अग्रिम भुक्तानी । ५० प्रतिशत कमाईपछिको भुक्तानी दिनेसम्मको सम्झौतामा समेत काम भए । उनी भन्छन्, ‘आफू जस्तै अभाव भोगेकालाई लागेर सहयोग गरेको थिएँ, तर सबैले सहयोग कहाँ देखे र ? उल्टै गुनासो पोखे,’ उनी भन्छन् ।’

जति जना छविलालको कन्ट्रयाकमा परदेश पुगे, उनीहरुले एग्रीमेन्ट अनुसारको काम पाइन भनेर गुनासो पोख्नु परेको थिएन । भलै दुःख भने गर्नै पर्छ । परदेशमा अर्काको खटन ! कहाँ मिल्दो हो र कल्पनामा रमाएका जस्ता कमाईका बोट । उनलाई लाग्यो । बाँकी रकम तिर्न नपरोस् भनेर पो हो कि गुनासो सुन्न परेको । यति सोचाइले मात्रै उनको मन बुझेन । मनले भन्यो – आत्मसम्मान नै नहुने पेशामा किन काम गर्नु ? अन्ततः सदाका लागि छविलालले म्यानपावरको काम छाडिदिए ।

‘नराम्रो शब्दले गाली गरेको सुन्न नपरोस्, आफूले गरेको काममा आत्मसन्तुष्टी मात्रै होइन । आत्मसम्मान पनि पाइयोस्,’ छविलाल भन्छन्,‘सबै काममा त्यस्तो कहाँ हुँदो रहेछ र ।’

तनावबाट मुक्ति पाउन कृषिमा

२०७६ मा अधिकारी पशुपालन व्यवसाय बाख्रा फार्म दर्ता गरे । त्यो बेला भने बुवा थिए । छविलाल भने विदेशमै पसिना बगाइरहेका थिए । चार वटा बाख्राबाट सुरु गरिएको फार्ममा अहिले ४६ वटा बाख्रा छन् ।

यति मात्रै कहाँ हो र ? उनको बारीमा इस्कुस, खुर्सानी, काँक्रो, अकबरे खुर्सानी, आलु, मटर, च्याउ, उन्नत जातका घाँस, अदुवा, सिमी लगायतसम्मका बाली राम्ररी सप्रिएको छ । इस्कुस पाँच रोपनीमा छ । यो भने लिजमा लिएको जग्गामा वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्छ ।

यस वर्ष भने इस्कुस थप चार रोपनीमा थप्ने योजना छ उनको । पुख्र्यौली कृषि पेशालाई जीविकोपार्जन मात्रै होइन व्यवसायिक बनाउन उनी अहिले दिन रात खटिरहेका छन् ।

सात वर्ष विदेशमा दुःख गरेको रकमले एक तले घर बन्यो । लागेको ऋण चुक्ता भयो । तर काम नगरी खान पाइने अवस्था आएन । यसैले उनी विदेश भन्दा स्वदेशकै माटो मलिलो बनाउनमा आनन्द मान्न थालेका छन् । बिहान पाँच बजे उठेर छ बजे बारीमा निस्कने छविलाल साँझ छ बजेसम्म त, कहिले नौ बजेसम्म नै बारीमै भेटिन्छन् ।

प्रेरणाको स्रोत बन्न पाउदा गर्व


सूर्योदय नगरपालिकामा छविलाल जस्तै अरु पनि कृषि पेशामा रमाउन थालेका छन् । यही साल मात्रै १० वटा बाख्राका खोर बनाइ दिए छविलालले । यी खोर सबै उनकै घरको जस्तो परम्परागत बाख्रा खोर हुन् । कृषि पेशामा सफलता पाएको देखेर कसरी खेती गर्छस् ? भनेर सोध्नेहरु पनि धेरै आउन थालेका छन् । सबैलाई आफूले गरे अनुसारको परामर्श दिने गर्छन् उनी । छविलाल भन्छन्, ‘आफ्नो ज्ञान अरुलाई पनि बाढ्न पाउँदा साह्रै खुशी लाग्छ, जीवनमा मरेर लानु के छ र ।’

नयाँ बाली थप्ने क्रममा भर्खरै मात्र उनले बजार अवलोकन गर्न च्याउ उत्पादनमा समेत लागि परेका छन् । खेती गरेको सुरुकै वर्षमा दुई सय बल च्याउ छ । अझै केही बाँझो बारी बाँकी छ । यसमा पनि आलु रोप्ने, कुखुरा पालन गर्ने र जमिनको सदुपयोग गर्ने उनको भावी योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार