इतिहासको संरक्षण गर्दे इलाम नगरपालिका

इतिहासको संरक्षण

  भगीरथ भण्डारी

 1114 पटक हेरिएको

इलाम । जिल्लाकै पहिलो नगरपालिका रहेको इलाम नगरपालिकाले देशकै पहिलो चिया कारखाना नजिकै चिया कमाण्ड डाँडामा गजराजसिंह थापाको प्रतिक र इलाम चोक बजारमा चिया टिप्दै गरेको स्टाचु निर्माण गरेको छ ।

नेपालमा विक्रम संवत् १९२० मा पहिलोपटक चीनबाट चियाको बिरुवा झिकाएर तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाको पहलमा इलामको चिया बगान र चिया कारखानाको स्थापना भएको थियो । डेढ सताब्दी अघिदेखिका तीनै चियाका बुटाबाट इलाममा अहिले पनि चियापत्ती उत्पादन भइरहेको छ । नेपालमा चियाको विकास गरेर जिल्लालाई चिनाएको कारण उनको प्रतिक बनाइएको हो ।

इलाम नगरपालिकाले नेपालका राष्ट्रिय विभुति अरनिकोको नामबाट संग्रहालय निर्माण गरेको छ । सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई अरनिको संग्रहालयको रुपमा विकास गरेको हो । संग्रहालयमा पुर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजाहरुलाई संग्रहालयमा राख्न थालिएको छ ।

जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवार लगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, वेषभुषालाई पनि संग्रहित गरेको छ । संग्रहालयमा जातिय संस्कृतिका सामग्री राख्ने र लोपोन्मुख सामग्रीहरु ल्याएर राख्ने काम भइरहेको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित नेपाल बैंक नजिकै शंखधर साख्वाको प्रतिमा निमार्ण गरेको छ ।

नगरपालिकाको मर्मत संहार कोषबाट नगरपालिका आफै निर्माणको काम गरिरहेको छ । नेपालका राष्ट्रिय विभुति र नेपाल संवतका प्रवर्तक रहेका उनले नेपालीलाई ऋणबाट मुक्ति दिलाएका थिए । नेपाल सरकारले मिति २०५६÷८÷३ मा राष्ट्रिय विभुति घोषणा गरेको थियो । नगरपालिकाले पर्यटकीय स्थल सँगै सहरको सौन्दर्यकरण र राष्ट्रिय एकतालाई बल पु¥याउने उद्देश्यले प्रतिक निर्माण गरेको नगर प्रमुख महेश बस्नेतले बताए ।

नगरपालिकाले अब चाडँै पारिजातको प्रतिमा निर्माण गर्ने र इलाम नगरपालिका–९ मा रहेको फाल्गुनन्द एयरपोर्टबाट सुरु हुने र सिद्धिथुम्का ,लिबदिनटार, खत्रक्पा महमाई हुँदै माङ्गसेबुङ्गसम्मको सडकको प्रस्थान विन्दुमा महागुरुको प्रतिमा सहितको स्वागतद्वार निर्माण गरिने बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार