स्वदेशकै इलममा सन्तुष्ट बुद्धिमान, चलाउदैछन् युवालाई परदेशिन रोक्ने अभियान

सन्तुष्ट बुद्धिमान

  सुजता सुनुवार

 596 पटक हेरिएको

इलाम । परदेशमा रोजगारी गुम्यो, रित्तो हात घर फर्कनु प¥यो । देशमा पनि कोरोना सङ्क्रमण बढिरहेको छ । यस्तो बेला के गर्ने त ? इलाम नगरपालिका ६ का बुद्धिमान राई भन्छन्, ‘तपाईँको घरमा उपलब्ध कामहरु जे छन्, त्यही गर्नुस्, पैसा कमाउन ठूलो काम, व्यवसाय वा जागिर गर्नुपर्छ भन्ने सोच त्याग्नुस् ।’

कामलाई सानो ठूलो मानेको भए, कमाइ त परदेशमा पो हुन्छ, स्वदेशमा बाख्रा, कुखुरा पालेर खेती गरेर केही पनि हुँदैन भन्ने सोचेको भए सायद बुद्धिमानको दिन आज कि त बेरोजगार भएर बित्थ्यो होला, कि त परदेशमै । तर बुद्धिमानले बेलैमा बुद्धि पु¥याए । र अहिले संसारलाई कोरोनाले पिरोलेको बेलामा पनि उनलाई न कामको चिन्ता छ न कमाइको ।

२०६४ सालमा बुद्धिमान रोजगारी खोज्दै मलेसिया पुगेका थिए । आज आफ्नै देशमा आफैं स्वरोजगार बनेका उनलाई त्यो परदेशी विगत सम्झन मन लाग्दैन । किनकी परदेशमा बिताएको त्यो पलले उनलाई आज पनि पोल्छ । १० वर्षअघि परदेशिनुको साटो देशमै केही गरेको भए थप प्रगती हुन्थ्यो भन्ने लाग्छ ।

‘विदेशमा गरेको दुःख यहीँ गरेको भए आज यहाँ अझै प्रगती गर्थें होला, त्यो क्षण सम्झँदा नमिठो लाग्छ, मन पछुतोले भरिन्छ,’ बुद्धिमान पछुतो मान्दै भन्छन् ।घरमा अर्थिक अभाव । देशमा कमाउने बाटो छैन । के गर्ने त ? २०६४ सालमा मलेसिया लाग्दा उनको अगाडि मात्र एउटा विकल्प थियो परदेश । १० वर्ष परदेशमै बिताए । १० वर्षको कमाइले छोराछोरी पढाए ।

बालबच्चा राम्रोसँग बढाउने धोको त पूरा भयो । तर अभाव भने जस्ताको तस्तै । परदेशको कमाइ त खहरे खोलाजस्तै लाग्यो उनलाई । परदेशमा कमाउन्जेल छ, कमाउन छाडेको भोलिपल्ट उस्तै । परदेश हिँडेको दिन जस्तै खाली !‘त्यतिका वर्ष विदेशमा बस्दा पनि के भयो त ? मैले धेरै सोचें, अब परदेश नहुने रहेछ भन्ने लाग्यो,’ बुद्धिमान भन्छन्, ‘जति होस् देशमै केही गर्छु भनेर नै मैले यहीँ काम गर्ने योजना बनाएको हुँ ।’

परदेशबाट फर्कंदा पैसाको बिटो ल्याउन नसकेपछि उनले देशमै केही गर्ने योजना र सपना लिएर फर्के । घर फर्किएपछि २०७५ सालदेखि ‘अनुग्रह उन्नत बाख्राफाम’ दर्ता गरी व्यवसाय सुरु गरे ।

 

आफ्नै पाखोबारी खनजोत गरे र रोपे एभोगाडो, कफी, कागती, सुन्तला तथा मेन्डुला, इपिलिपी, सुपरनेपियर जातका घाँस पनि । साथै लोकल कुखुरा, बट्टाइ र टर्की चराको साथै सुँगुर र बाख्राको समेत व्यवसायिक पालन सुरु गरे ।

अहिले त उनको व्यवसायले ठूलो पखेटा हालेको छ । लगानी १८ लाख रुपैँया पुगेको छ । छ लाख रुपैयाँ त ऋण नै छ । भौतिक संरचनादेखि विरुवा चौपाया लगायतमा ठूलो रकम खर्च भएको छ । बुद्धिमान् भन्छन्, ‘यो मेरो पञ्चवर्षीय योजना हो, यसैबाट लागेको ऋण चुक्ता गर्न सक्छु भन्ने विश्वास छ ।’

यो व्यवसाय सुरु गर्दा उनले विभिन्न संघसंस्थाबाट ऋण लिएका छन् । आफ्नै बारीले मात्रै नपुगेर उनले आफ्नो बाहेक २५ रोपनी जमिन ठेक्कामा समेत लिएर मेहनत गरिरहेका छन् । परिवार नै मिलेर काम गर्छन् । खटाइ अनुसारको आत्मसन्तुष्टि पनि छ । भन्छन्, ‘मेहनत गरिरहेको छु, त्यसको फल पनि पाउँछु भन्नेमा म विश्वस्त छु ।’

युवालाई व्यवसायिक योजना बनाउन सघाउँदै

बुद्धिमान आफ्नो अनुभव र युवाको चाहना अनुसार देशमै केही गर्न खोज्नेलाई व्यवसायिक योजना बनाउन पनि सघाउछन् । उहाँले बितेका एक वर्षमा धेरै युवालाई देशमै केही गर्न व्यवसायिक योजना बनाउन पनि सघाउनुभएको छ । उनले आफ्नो अनुभवका आधारमा व्यवसायिक योजनामा कस्तो भूगोलमा कुन व्यवसाय हुन्छ, कति लगानी लाग्छ, लगानी खेर जान नदिनको लागि कसरी व्यवसाय सुरु गर्ने, बैंकबाट ऋण लिन परे यसको प्रक्रिया कस्तो हुन्छ, उन्नत जात कुन हो, कहाँबाट किन्ने, कस्तो घाँस रोप्ने? लगायतका कुराहरु सिकाउछन् ।

‘केही गर्न सक्दिन’ भन्ने निराश मनलाई काममा अभिप्रेरित गर्ने कार्यमा व्यस्त रहनु पनि बुद्धिमानको दैनिकीमा नै पर्छ । इलाममा मात्रै उनकै परामर्शमा सात जनाले व्यवसाय सुरु गरेको उनी बताउछन् ।

‘विदेश पुगेर फर्केकालाई मात्रै रोक्न सकियो, पहिलो पटक परदेश जाने सोच बनाएकाहरुलाई भने रोक्नै नसकिने रैछ,’ बुद्धिमान भन्छन् ‘जानेलाई रोक्न नसके पनि, गएर आएकालाई नजाने भने बनाइयो हौँ ।’ बुद्धिमान आफूले स्वदेशमा थालेको काम र मिलेको सफलतामा सन्तुष्ट भएको अनुभव सुनाउछन् ।

उनी भन्छन्, ‘सकेसम्म परदेश नजानुस्, जानुभएको छ भने पनि परदेशको अनुभवलाई स्वदेशमा लगाउनुस्, आफ्नै देशमा केही गर्नुहोस् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार