इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधिन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण थालेपछि स्थानीयले अवरोध गरेका छन् । ९.६ मेघावाट क्षमताको आयोजनामा अन्य श्रोतको पानी मिसानउन लागिएको भन्दै स्थानीय संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् । परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको भन्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने भन्दै स्थानीयले आन्दोलन थालेका हुन् ।
स्थानीयको अवरोधपछि परियोजनामा समाह खोला र इङ्गला खोलाबाट पानी ल्याउनका बनाउन लागिएको संरचनाको काम रोकिएको छ । स्थानीयले कालोझाण्डा गाड्दै काम बन्द गराएका हुन्, भोलीपल्ट फेरी काम शुरु भएपछि भेला भएका स्थानीयले आयोजनाको काम बन्द गराएका हुन् ।
आन्दोलनमा उत्रिएका स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टसंग वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन र विद्युत खरिद सम्झौता माग गर्दा नपाएको गुनासो गरेका छन् । संघर्ष समितिका सहसंयोजक कुशबहादुर थेवेले ‘हामीले परियोजनाका प्रवन्द निर्देशक कृष्ण न्यौपानेलाई निवेदननै दिएर प्रतिवेदनहरु मागेका थियौ, शुरुमा उहाँले दिन्छौ भनुभयो तर पछि फलो गर्दा बोडको बैठकले नदिने निर्णय ग¥यो भन्ने जवाफ पाइयो ।’
इङला र समाह खोलाको पानी परियोजनामा मिसाउँदा सयौ रोपनी जमिन बाझो हुने स्थानीय बताउँछन् । ‘यी दुई खोलाको पानी सयवटा भन्दा धेरै कुलोहरुबाट पानी लगेर सिचाई हुने गरेको छ’,स्थानीय धनबहादुर तिवारीले भने,‘७० मुरि बिऊको धान खेती हुने ठाउँ बाझै पल्टिन्छ, अलैचिमा पनि पानी लगाउँन पाइदैन ।’ जलविद्युत आयोजनाले अन्य दुई खोलाको पानी माइखोलामा मिसाउने गरी संरचना बनाउन थालेपछि एउटा सिचाई आयोजनानै रद्ध भएको माइजोगमाई ६ का दिपेश सोङमीले बताए । उनले भने ‘खोलामा पानीनै नहुने भएपछि यहाँ बन्न लागेको माइखोला रुल्लुक सिचाई आयोजनानै कोल्याप्स भयो । दुईवटा खोलाको पानी समेत आयोजनामा मिसाएपछि त्यस क्षेत्रमा रहेको घाट र धार्मिक स्थलपनि संकटमा पर्ने भएकाले माइखोलामा निर्माणाधिन आयोजनामा अरु खोलाको पानी मिसानउ नहुने स्थानीय बताउँछन् ।
स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टका लागि बनाइएको क्यानलका कारणले धेरै ठाउँ पहिरो गएको र कतिपय मान्छेको बासै उठ्ने अवस्था भएको कारण संघर्ष समितिका हुकुमलाल थेवेले बताए । उनले भने ‘पाँच किलोलिमटर जति क्यालनको धेरै ठाउँमा पहिरो गएको छ, हामीले कुरा गर्दा आयोजनाले आलटालमात्रै गर्छ ।’ आन्दोलनरत स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टले सामाजिक उत्तरदायित्वको रकम पारदर्शी रुपमा खर्च नगरेको भन्दै सामाजिक उत्तरदायित्वमा गरेको खर्च सार्वजनिक गर्न आग्रह गरेको थेवेले बताए ।
संघर्ष समितिका प्रकाश भट्टराईले ‘सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम कहाँ कसरी खर्च भयो त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।’ उनले भने,‘कति रकम कहाँ कसरी खर्च भयो भनेर हामीलाई छर्लङ्ग देखाउनुपर्छ, त्यो रकम अनियमित रुपमा खर्च भएको छ भन्ने हामीलाई लागेको छ ।’ अर्को खोलाको पानी मिसाउन नदिने भन्दै आन्दोलन थालेपछि आयोजनाले प्रहरी प्रशासन लगाएर थर्काउने प्रयत्न गरेको आन्दोलनरत स्थानीयले बताएका छन् ।
स्थानीय आन्दोलित भएपछि नेपाल आदिवासी जनजाति महासंघका संघीय परिषद उपाध्यक्ष किरण सुनुवार, नेपालका आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समुह (लाहुर्नीप)का प्रतिनिधि याम लिम्बु सहित सञ्चारकर्मीले स्थलगत अवालोकन गरेका छन् । ९.६ मेगावाटको परियोजनाले तीन महिनाअघिदेखि विद्युत उत्पादन गर्दै आएको छ ।