
इलाम । फाकफोकथुम गाउँपालिका ३ का २५ वर्षिय गौरव लामिछाने यातायात श्रमिक हुन । इलाम देखि आमचोक दैनिक गुड्ने गाडीमा चालकको काम गर्दै थिए । लकडाउन पहिले उनी दिनको एक हजार रुपैयाँ कमाउथे । यातायात मजदुरी गरेर उनले मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म मासिक कमाई गर्थो । तर, चैत्र ११ गते देखि भएको बन्दले गाडी नचल्दा घर परिवार खर्च धान्न मुस्किल बनेकोको उनी बताउँछन् । लामिछानेको पाँच जनाको परिवार छ ।
परिवारमा कमाउने उनी मात्रै हुन । छ महिना सम्म एक रुपैयाँ आम्दानी नभएपछि ऋण काडेर परिवारको खर्च धानिरहेका छन् । कोरोनाका कारण यातायात बन्द भएपछि उनको काम पनि बन्द भयो । यातायात खुलेपछि पनि उनले काम पाएका छैनन् । सीप अनुसारको काम नपाउँदा उनी अहिले बेरोजगार भएका छन् । काम नपाएपछि लामिछानेको आर्थिक संकट झन गहिरिदो छ ।
इलाम नगरपालिका–५ का ५१ वर्षिय प्रेम लिम्बु पनि श्रमिक हुन । उनी गाडिको सामान लोड र अनलोड गर्ने काम गर्छन । सामान बोकेको भरमा उनले दिनको पाँचसय रुपैयाँ जति कमाउथे । लक डाउन भएपछि यातायात प्राय ठप्प भयो । यातायात बन्द भएपछि उनको कमाई बन्दनै भयो । यातायात शुरु भएपछि उनी अहिले सामान्य अवस्थामा फर्किदैछ । पाँच जनाको उनको परिवारमा अहिले उनीहरु दुईजना बस्छन् । परिवारको घर खर्च उनी एक्लैले धान्न पर्छ । दुखले घर खर्च धानिरहेका लिम्बुलाई लकडाउनको समयमा निकै हम्मे हम्मे प¥यो । अहिले थोरै भएपनि काम पाउन थालेपछि उनलाई केही आशा पलाएको छ ।
चिया विकास निगमको इलाम स्थित चिया बगानमा काम गर्ने ४५ वर्षीया सरस्वति चाम्लागाई चिया मजदुर हुन् । उनी दैनिक तीन सय ८५ रुपैयाँ ज्यालामा काम गर्छिन । उनी पनि लकडाउनको समयमा समस्या भएको बताउँछिन । ‘लकडाउन शुरु भएसँगै एक महिना त काम पूरै ठप्प भयो, त्यसबेला घर खर्चको लागि लिएको ऋण अहिले पनि त्यसै छ’, उनले सुनाइन,‘न केही राहत पाइयो, शुरुमा धेरै समस्या भयो ।’ एक महिना पछि देखि स्वास्थ्य मापदण्ड पालना गरेर चिया टिप्ने काम शुरु भएपछि पनि दैनिक ज्यालाको भरमा चलिरहेको घर खर्च समस्या भएको उनको भनाई छ ।
सूर्योदय नगरपालिका–८ का ३७ वर्षीय बुद्घिमान पर्यटकीय क्षेत्र कन्याममा घोडचढी व्यवसाय गर्छन् । कन्याम आएका पर्यटकलाई घोडामा सवारी गराएबापत हुने आम्दानीनै उनको घरखर्च धान्ने श्रोत हो । राईले व्यवसायको लागि ८० हजार रुपैयाँ खर्चिएर घोडा किनेका थिए । घोडा किन्दाको ऋण जसो तसो तिरिसके तर, चैत ११ गतेबाटै बन्दाबन्दी लागु भएपछि वन्द भएको व्यवसाय अहिले पनि खुलेको छैन । दैनिक रुपमा भएको आम्दानीबाट घर खर्च र घोडाका लागि दानापानी किन्नु पुग्थ्यो । तर अहिले आम्दानीको बाटो बन्द छ, घर खर्च घोडाको दानापानीको खर्च दैनिक उस्तै छ ।
‘लकडाउन भएको दुई महिना त पहिलोकै कमाइबाट चलाईयो, अहिले चाँहि खर्च धान्न समस्या भइरहेको छ’, राई भन्छन् । कन्याममा पर्यटकको चहलपहल बढ्ने समय यही हो । यो सिजनमा घोडाचढी व्यवसाय गर्नेले राम्रो कमाई हुन्थ्यो । तर, कन्याममा पर्यटक खासै आएका छैनन् । पर्यटकको चहलपहल नभएपछि कन्यामको घोडचढी व्यवसाय ठप्पनै छ । व्यवसायनै ठप्प भएपछि आम्दानी पनि ठप्प छ । आम्दानी नभएपछि घरखर्च थेग्न मुस्किल पपरिरहेको राई बताउँछन् ।

गौरव, प्रेम, सरस्वती र बुद्घिमान त समस्यामा परेका मजदुरको प्रतिनिधि पात्र मात्र हुन । उनीहरु जस्तै हजारौ श्रमीकले दिनभर काम गरेर कमाएको आम्दानीबाट विहान बेलुकाको छाकको व्यवस्था गर्नुपर्छ । कोरोनाको माहामारीले धेरैको रोजगारी संकटमा परेको छ । लकडाउन हुनु भन्दा पहिले त दैनिक श्रम गरेर गुजरा चलाइरहेका श्रमीक अहिले काम विहीन भएका छन् । काम पाइहाले पनि पहिलेको जस्तो आम्दानी हुँदैन । काम विहीन भएका मजदुरलाई नजिकिदै गरेको दँशै, तिहार लगाएतका चाडमा कसरी छाकको जोहो गर्ने भन्ने चिन्ता छ । सरकारले घरमै बसेर चाडपर्व मनाउन अनुरोध गरेको भएपनि कसरी खर्च जोहो गर्ने भन्ने चिन्ताले पिरलिएका छन् ।
‘यतिवेर काम गर्न पाईएको छैन, लकडाउनको समयमा लिएको ऋण त्यतीकै छ’, चिया मजदुर सरस्वती भन्छिन्, ‘नानीहरुलाई एक जोर लुगाफाटो फेर्दिने पैसा आम्दानी गर्न सर्किको छैन, शुरुमा सरकार पनि राहात बाँड्न लाग्यो अहिले कसैले पनि राहातको कुरै गर्दैनन् ।’ कोरोनाको माहामारीपछि उत्पन्न भएको आर्थिक संकटले असंगठित क्षेत्रका मजदुर अझ बढि प्रभावित छन् । तर, उनीहरुलाई परेको संकट मोचनका लागि सरकारले खासै ध्यान दिएको छैन । चाडबाडको मुखमा मजदुरहरु झन प्रताडितछन् ।
(नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इन्जाका लागि)


334 पटक हेरिएको 






