
इलाम । इलाममा ३८ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । साना ठूला गाडी गरी ३८ हजार पाँच सय ११ वटा गाडी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्ममा यी सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामका प्रमुख योगेन्द्र दाहालले जानकारी दिए ।
उनका अनुसार, कारवाहीमा परेका सवारी साधन र दुर्घटना पछिल्लो समय घट्दै गएको छ । आर्थिक वर्ष २०७४/०७५ मा सबै भन्दा बढी जिप, कार, भेन कारवाहीमा परेका छन् । कारवाहीमा परेको संख्या पाँच हजार सात सय नौ वटा रहेका छन् ।
यस्तै मोटरसाइकल पाँच हजार चार सय एक, ट्रक दुई हजार सात सय ४४, टेक्टर आठ सय ६ र बस तीन सय २६ रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा जिप, कार, भेन पाँच हजार चार सय ९५, मोटरसाइकल पाँच हजार एक सय २२, ट्रक एक हजार नौ सय चार, टेक्टर छ सय ४९ र बस चार सय ४० रहेका छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा जिप, कार, भेन तीन हजार चार सय ८७, मोटरसाइकल तीन हजार दुई सय ८६, ट्रक एक हजार दुई सय १८, टेक्टर चार सय ५५, बस एक सय ८६ र अन्यमा ८३ वटा सवारी साधन कारवाहीमा परेका हुन् । सबै भन्दा बढी जिप, कार र भेन कारवाहीमा परेका छन् भने सबै भन्दा कम अन्य सवारी साधन रहेको तथ्याङ्कले देखाउछ ।
यसैगरी चालु आर्थिक वर्ष २०७७/०७८ मा भने साउन महिनामा मोटरसाइकल एक सय ९१, कार, जिप एक सय ७७, ट्रक ९६, ट्याक्टर ६१, टेम्पो/सिटि ३१, टिपर तीन वटा रहेका छन् । भदौ महिनामा कार जिप दुई सय ३२, मोटरसाइकल दुई सय २१, ट्रक एक सय १२, ट्याक्टर ४१, टेम्पो/सिटि २७, टिपर छ र अन्यमा दुई वटा सवारी साधन कारवाहीमा परेका छन् ।
सवारी दुर्घटनामा परी २५ को ज्यान गयो
सवारी दुर्घटनामा परी २५ जनाको ज्यान गएको छ भने एक सय ५१ जना घाइते भएका छन् । जसमा ३५ जना सक्त घाइते भएका छन् । एक सय १८ जना भने सामान्य घाइते भएका छन् । दुर्घटना संख्या भने ६० रहेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा भने एक/एक वटा सवारी साधन दुर्घटनामा पर्दा एक/एक जना घाइते भएका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा ७३ सामान्य घाइते, १६ सक्त घाइते र सात जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ३४ सामान्य घाइते, १० सक्त घाइते र आठ जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा सामान्य घाइते नौ, सक्त घाइते नौ र मृत्यु आठ जना रहेको छ भने चालु आर्थिक वर्षमा दुई जना घाइते भएको कार्यलयले जानकारी दिएको छ ।
दुई करोड भन्दा धेरै राजस्व संकलन
सवारी साधन कारवाहीमा पर्दा जिल्लामा दुई करोड भन्दा धेरै राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्ममा दुई करोड १८ लाख ८८ हजार रुपैँया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
कार्यलयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७४/०७५ मा ८१ लाख ९२ हजार, आर्थिक वर्ष २०७५/०७६ मा ८० लाख १४ हजार पाँच सय, ४९ लाख ९९ हजार र चालु आर्थिक वर्षमा साउनमा तीन लाख १२ हजार पाँच सय, भदौमा तीन लाख ७० हजार रुपैँया रकम संकलन भएको छ ।
यो तथ्याङ्कलाई हेर्दा कारवाही र दुर्घटनाको संख्या घटेको पाइएको छ । विभिन्न स्थानमा बोर्ड राखिनु, कन्भेक्स ऐना राखिनु र जनचेतना मूलक कार्यक्रम गरिनुले कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामका प्रमुख योगेन्द्र दाहालले जानकारी दिए । झापा र इलामको सिमाना जोरकलशदेखि पाँचथर र इलामको सिमाना राँकेसम्मको स्थानमा गरी एक सय ५८ बोर्ड राखिएको छ । सडकको हरेक घोलाईमा २० वटा कन्भेक्स ऐना राखिएको कार्यलयले जनाएको छ ।
यस्तै ५३ हजार जनालाई ट्राफिक नियमकाबारेमा प्रशिक्षण दिइएको छ । जसमा तीन हजार नौ सय ६३ जना भने विद्यार्थी मात्रै रहेको कार्यलयले जानकारी दिएको छ । हाल देशभर झण्डै ३५ लाख सवारी साधन सञ्चालनमा रहेको पाइएको छ ।