फेरियो सत्कार गर्ने शैली

कोरोना कहर

  सुजता सुनुवार

 507 पटक हेरिएको

इलाम । इलामको श्रीअन्तु देशको प्रमुख पर्यटकीय स्थल मध्येको एक हो । सूर्योदय नगरपालिका ५ मा पर्ने अन्तुमा सूर्योदय र सूर्यास्त हेर्नेको बाह्रैमास घुइँचो हुन्छ । त्यसमा पनि असोज २२ देखि पुस मसान्तसम्मको समय भने मुख्य सिजन हो पर्यटक आवागमनको ।

यस सिजनमा पर्यटकहरु शुक्रबार र शनिबार मात्रै पाँच देखि छ हजारको संख्यामा भेटिन्थे । नेपाली, भारतीय तथा तेस्रो मुलुकका पाहुनालाई स्वागत गर्न अन्तुका कटेज, होटल र होमस्टेलाई भ्याइ नभ्याइ हुन्थ्यो । चियाबारीस्थित पोखरी घुम्ने, ‘लोकल’ परिकार चाख्ने र सूर्योदय हेर्ने पर्यटकको लागि आकर्षक क्षेत्र श्रीअन्तुमा अहिले भने मुस्किलले एक सयदेखि एक सय ५० को संख्यामा मात्रै पर्यटक आइरहेका छन् ।

छ महिना पुरै ठप्प भो । गएको असोज ८ बाट सबै होटल, होमस्टे, कटेज खोलिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने शर्तमा नै खोलिएको श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनबहादुर आले मगरले बताए । ‘फाट्टफूट्ट पर्यटक आउन सुरु त भयो, तर मापदण्ड पुरा गर्दैगर्दा पर्यटक नै पो रिसाइदिन्छन् कि भन्ने लाग्छ’,आलेले भने,‘हामीले कोरोना बोकेर ल्याएका छौँ र ? भन्दिए भने भन्ने पिरलो हुदोरैछ, परिस्थितीले अप्ठ्यारो बनाएको छ ।’

अन्तुमा एक रात बसेर जाने जोकोहिलाई स्वागत र विदा गर्दा फूलको गुच्छा दिने, खदा लगाईदिने गरिन्थ्यो । अहिले भने कोरोना महामारीका कारण सत्कार शैली नै फेरिएको छ । भौतीक दुरी कायम गर्नु पर्ने भएकाले फुलको गुच्छा दिने, खादा लगाइदिने अहिले हुँदैन । परम्परागत शैलीमा नमस्कार गरेर स्वागत तथा विदा गर्न थालिएको छ । लागेको बानी छाड्नु पर्दा धेरै नै असजिलो महशुस भएको आले बताउँछन् ।

दशैको समयमा टाडा – टाडाका पर्यटक आउने भएकाले यो समयमा होटल, होमस्टे र कटेज बुकिङ्गको सिजन पनि हो । ‘पहिले होटल बुकिङ्गका लागि अधिक कल आउथ्यो’, अध्यक्ष आलेले सम्झिदै भने,‘एक सेकेण्ड पनि फूर्सद मिल्दैन थियोे, अहिले भने सुनसान छ ।’ अन्तुमा आवागमन खुल्ला गरेपछि भने झापा, मोरङ्ग, सुनसरी, काठमाण्डौं लगायत स्थानकाहरु आइरहेका छन् । अन्तुमा होटल, कटेज र होमस्टे गरी एक सय तीन वटा छन् । यीमध्ये ३० जना होटल व्यवसायी भने जिल्ला बाहिरका छन् ।

कोरोनाका कारण बन्दाबन्दी भएपछि अन्तु पूरै बन्द भयो । बन्दको बेला होटल रुगालो मात्र भएर बिताइयो खुलेपछि भने केहि आशा भने पलाएको होटल व्यवसायी बद्री रिजाल बताउँछन् । उनको घर झापा तर होटल व्यवसाय भने इलाममा छ । ‘न साहुको ऋण तिरिएको छ । न त कटेजको भाडा नै । यस्तो भएपछि बस्नै प¥यो नी’, रिजालले भने ।

अन्तुमा २०५५ मा ‘पेइङगेष्ट’ का रुपमा सञ्चालन सुरु भएको ‘होमस्टे’ यसको प्रवद्र्धनका लागि स्थानियले २०६० सालमा ‘अन्तु पर्यटन महोत्सव’ ग¥यो । २०६८ देखि घरबासका रुपमा सुरु भएको ‘होमस्टे’ मा अहिले भने निक्कै नै सकस भइरहेको केन्द्रका आले मगरको अनुभव छ ।

मुख्य सिजनमा बन्दाबन्दी भएपछि ठूलो घाटा होटल व्यवसायीलाई परेको छ । होटल व्यवसायीका अनुसार, आर्थिक संकट आएपछि ठूला होटलबाट करिब छ सय जना, मझौलाबाट एक हजार दुई सय जना र साना होटलबाट पाँच सय ७० जना कामदार बेरोजगार बनेका छन् । पर्यटन प्रवद्र्धनका काम ‘अब शून्य लेभल’ देखि थाल्नु पर्ने भएको होटल एशोसियसन इलामका अध्यक्ष तथा पर्यटन व्यवसायी देवी पौड्यालको भनाई छ ।

पर्यटन सूचना केन्द्र जोरकलश इलामका गगन घिमिरेका अनुसार, गएको आर्थिक वर्ष जिल्लामा एक लाख २९ हजार २० जना पर्यटक भित्रिएको तथ्याङ्क छ । जसमा आन्तरिक पर्यटक मात्रै एक लाख २८ हजार ६४ जना छन् । यस वर्ष भने दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको थियो । तर, पर्यटक आवागमनको तथ्याङ्क शुन्य छ । साना सवारी साधनलाई भने नगनिने भएकाले पनि तथ्याङ्क शुन्य रहेको केन्द्रका  घिमिरेले जानकारी दिए ।

अन्तु मात्र होइन जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरु सन्दकपुर गाउँपालिकाको माइपोखरी, सन्दकपुर, सुर्योदय नगरपालिकाको कन्याम लगायतका सबैमा फाट्टफूट्ट पर्यटकहरु भने भेटिन थालिएको छ । यसले सबै व्यवसायीलाई केहि आशा भने जगाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार