इलाम । विदेशमा कमाएको पैसा मात्र हैन सीप र अनुभव पनि काम लाग्छ । तर त्यसलाई प्रयोग गर्न भने जान्नुपर्छ भन्छिन्, इलामकी गंगा बस्नेत दियाली ।
कतारबाट फर्कंदा पनि उनलाई लागेको थिएन विदेशमा कमाएको पैसा बाहेक लिएको ज्ञान र सीप पनि काम लाग्छ भनेर । कमाएको पैसा त दुई चार दिनमा सकियो । तर सीप भने झन बढ्दै गएको छ । आफ्नै ठाउँमा आफ्नो परिवारसँगै मिलेर काम गर्न पाउँदा गंगा दङ्ग छिन् ।
२०६४ सालतिर उनलाई इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा भरपर्दो कमाइको काम नै छैन भन्ने लाग्यो । दुई चार पैसा नभए त जिन्दगीमा घरबार कसरी चलाउनु ? भन्दै उनी काम कै लागि कतार पुगिन् ।
कतारको एक कम्पनीमा उनले क्लिनर (सरसफाइ) को काम गरिन् । उनी भन्छिन्, ‘विदेशमा अढाई वर्ष पसिना बगाउँदा धेरै ज्ञान सिकेँ, यसैलाई आधार बनाएर अहिले नेपालमै स्वरोजगार भएकी छु ।’
२०७६ वैशाखमा कतारबाट नेपाल आएपछि के गर्ने गर्ने ? उनी अन्योलमा थिइन् । यहिबेला पालिकाले उनलाई तालिमको लागि प्रस्ताव ग¥यो । ढुङ्गा खोज्दा देउता मिले झैं भयो । उनले च्याउ खेती सम्बन्धी तालिम लिइन् ।
यो तालिमको आयोजना कृषि ज्ञान केन्द्र इलामले गरेको हो । छ दिने तालिमपछि उनलाई गाउँमा नै च्याऊ उत्पादन गरेर बजारीकरण गर्छु भन्ने आँट आयो ।
२०७६ मंसिर १८ गते १० बलबाट च्याऊ खेती सुरु गरिन् । त्यो बेला उनले २१ हजार मात्रै लगानी गरेकी थिइन् । १० बलबाटै राम्रो उत्पादन भयो । पहिलो चरणमा नै ३ मन १५ किलो उत्पादन गर्न सफल भएपछि भने झन् जाँगर चल्यो उनलाई । अहिले ५२ हजार लगानी गरेर ६५ बल पु¥याएकी छिन् ।
उत्पादन गरेर बिक्री गर्न थालेपछि अहिले उनलाई स्थानीय बजारको माग नै धान्न धौ–धौ छ । स्थानीय बजार माइपोखरी, प्याङ्ग, सोयाङ्ग, नयाँबजार, माइमझुवा लगायतका स्थानबाट बढी माग आउँछ ।
‘पहिले काम थाल्दा कसैले पनि ऋण पत्याएका थिएनन्, अहिले काम थालेपछि त प्रशंसा गर्नेहरु छन्,’ गंगा भन्छिन्, ‘जस्तो परिस्थितीमा पनि हार मान्न नहुने रहेछ, दिन सबैको आउने रहेछ ।’
किलोको दुई सय रुपैयाँले सबै च्याऊ गाउँमा नै बिक्रि भइ सकेको छ । अब यही व्यवसाय गंगाको आम्दानीको दिगो स्रोत बन्ने विश्वास छ । उनी भन्छिन्, ‘गर्दा त हुने रैछ नि त, नगरेर पो आम्दानीका स्रोत शून्य देखेका रहेछौं, यत्तिको ज्ञान र सीप भएपछि मज्जाले बाँच्न सकिन्छ ।’
‘पहिले काम थाल्दा कसैले पनि ऋण पत्याएका थिएनन्, अहिले काम थालेपछि त प्रशंसा गर्नेहरु छन्,’ गंगा भन्छिन्, ‘जस्तो परिस्थितीमा पनि हार मान्न नहुने रहेछ, दिन सबैको आउने रहेछ ।’
बाह्रै महिना अभाव नहोस् भन्नलाई च्याउ खेतीका लागि सन्दकपुरको मौसम बाधक छ । मागलाई उत्पादन गर्नकै लागि दुई महिना भने बहिनी मेनुका पोख्रेलको घरमा लगेर समेत उनले उत्पादनलाई निरन्तरता दिएकी छिन् ।
सन्दकपुर भन्दा निकै गर्मी ठाउँ हो माइजोगमाई गाउँपालिका । त्यसैले यहाँ च्याउ उत्पादनमा मौसम बाधक बन्दैन । पुस र माघका लागि भने बहिनीको घरमा च्याउ उत्पादन गरी बिक्री गर्छिन् उनी ।
आफूले सिकेको सीप र अनुभवलाई प्रयोग गर्दा कमाइ हुने रहेछ भन्ने बुझेकी गंगाको अब भने फम दर्ता गरेर नै च्याउ खेती गर्ने योजना छ । व्यवसाय गर्दा गरेरै चलाउँदा उत्पादन पनि धेरै गर्ने र त्यसलाई व्यवसायीक बनाउने उनको सोच छ ।
घरमा गाई, बाख्रा र सामान्य खेती त छँदैछ । च्याउसँगै लोकल कुखुराको पनि व्यवसाय सुरु गरेकी छिन् उनले । सुरु गरेको पहिलो वर्ष नै उनले १० हजार रुपैयाँको कुखुराको चल्ला मात्रै बिक्री गरिन् । यसमा पनि भविष्य देखेपछि व्यवसाय थप गर्ने सोचमा छिन् उनी ।
श्रीमानको सहयोगले काम गर्न झन सजिलो
२०६३ सालमा मानसिंह दियालीसँग विवाह भयो गंगाकोे । मानसिंह राष्ट्रिय निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनले बिहान बेलुका र छुट्टीको समय श्रीमतीलाई सघाउछन् । श्रीमान सहित अरु परिवारका सदस्यको पनि सहयोगले उनलाई व्यवसायी बन्न थप हौसला र सहयोग मिलेको छ । सबैको साथ र हौसलाले भने उनलाई झन धेरै काममा जाँगर चल्छ । च्याउ उत्पादन गरेको परालबाट तरकारी राम्रो फल्ने भएकाले उनले तरकारी खेती पनि सुरु गरेकी छिन् ।
गाउँमा माग अधिक छ । माग पूरा गर्न उत्पादनमा वृद्धि गर्नका लागि उनले गाउँका दुई जनालाई भने अहिलेदेखि नै काम पनि सिकाउँदै छिन् । पराल धुन र काट्न सक्ने भएका छन् उनीहरु पनि । समय निक्कै लाग्ने भएकाले काम छिट्टो सक्नका लागि मेसिन किन्ने र जोड्ने योजना छ उनको ।
नगर्दासम्म हो देशमै केही छैन झैं लाग्ने । तर काम काम थालेपछि एक पछि अर्को सम्भावनाहरु आफ्नै अघिल्तिर देख्न थालेकी छिन् गंगाले र कमाइको बाटो पनि समातेकी छिन् । त्यसैले उनको सुझाव पनि सबैलाई विदेश जानु अघि एक पटक सोचौं भन्ने छ ।