महामारीमा मलेसियामा हराएका श्रीमानको सम्झना

एक्लो संघर्ष सहज छैन

   सुजता सुनुवार

 253 पटक हेरिएको

इलाम । सानो पसल । सीमित छ कमाई । तर पनि जिन्दगीको सहारा यही पसल बनेको छ सन्दकपुर गाउँपालिका २ की सोममाया गुरुङका लागि । बाध्यतामा बाँच्न रहर कसलाई हुन्छ र ? सोममायालाई पनि छैन । तर जिन्दगी भर सहारा दिने श्रीमान् परदेशमा नै बेपत्ता भएपछि घरको चुलो बाल्ने बाटो पनि बन्द भएको छ ।

जान त उनका श्रीमान पनि सुखको सपना देखाएरै परदेश गएका थिए । तर खै सुख त परको कुरा खुसी पनि दिन नसक्नेहरु किन अरुलाई सपना देखाउँछन् सोममयाले बुझेकी छैनन् ।

९ वर्ष अघि मलेसिया जाने बेलामा सोममायाका श्रीमान्ले भनेका थिए, ‘महिनै पिच्छे पैसा पठाउँला, तिमीले घर चलाउन दुःख गर्नै पर्दैन ।’ तिनै भरोसा दिने नै परदेश पुगेपछि बेखबर हुँदा दुःखको त के हिसाब ।

सोममाया भन्छिन् ‘दुःख भए पनि मनको शान्ति भए त केही आराम हुन्थ्यो कि ।’ मानिसलाई दुःखले नै हो सुखको बाटो देखाउने । सोममायालाई पनि त्यही आश छ ।

२०६८ सालको अन्तिमतिर हो, उनको श्रीमान् ओमकार मलेसिया गएको । कमाउन परदेश जान्छु भने पछि उनले श्रीमान्लाई ऋण खोजेर विदेश पठाइन् । कमाउँला भविष्यका लागि केही गरौंला भन्ने नै थियो सपना त । परदेश गएको केही समयसम्म त ओमकार सम्र्पकमा नै थिए । खै के भयो थाहा छैन सोममायालाई । उनका श्रीमान् अचानक सम्पर्क विहिन बने किन ।

‘छोरी र तिम्रो लागि कमाएको पैसा पठाउँछु नि पीर नगर्नु भनेर हिँडेका श्रीमान् अहिलेसम्म बेपत्ता छ,’ उनले भने, ‘सुरु सुरुमा निक्कै पीर लाग्यो, मौरीको रानो हराए झैं भयो तर पछि थाहा पाएँ बेखबर मसँगै मात्र रहेछन् ।’

तर केही समयपछि श्रीमानको खबर आउन छाड्यो । त्यो बेलामा के भयो भनेर बुझ्न फोन थिएन । चिठ्ठी लेख्न सोममायालाई श्रीमानको ठेगाना थाहा थिएन । विकल्पमा बाँकी थियो त केवल प्रतिक्षाको मात्रै ।
समस्यामा भएको भए पनि आफूलाई सम्झन्थें । सुखै सुख भयो त दुःखीको याद गरेनन् झैं लाग्छ सोममायालाई ।

श्रीमान्लाई परदेश पठाउन लिएको ऋणको पीर । अर्कोतिर घर चलाउने जिम्मेवारी । श्रीमान्को भर नभएपछि उनले आफ्नो जिन्दगीमा अरुको भर पर्नु भन्दा आफ्नो लागि आफैं केही गर्ने योजना बनाइन् । अनि सुरु गरिन् पसल । जसोतसो जीवन त चलेको छ । अब पनि चल्ला । तर समय सधैं एकै हुँदैन ।

यो महामारी भने उनलाई पनि सहज भएको छैन । बिर्सेर जानेको मायाले घरी–घरी सताउँछ उनलाई । केही विपत्ति प¥यो कि, यो महामारीको समयले भने उनलाई पनि झस्काएको छ । तर के गर्ने, बाध्यता छ ।

‘घर सम्झेर आए त हुने नि, सम्झेर आए त हामी पनि उ भनेर नै त बसेका छौं, खै किन हो सञ्चो बिसञ्चो समेत सोध्दैनन्,’ सोममाया गुनासो गर्छिन् ।

एक्लो संघर्ष सहज छैन


श्रीमान् विदेशमा । स्वास्थ्यमा समस्या । लागेको ऋण तिर्नु पर्ने जिम्मेवारी । तर सोममायाको संघर्ष नगर्नुको विकल्प पनि थिएन । पारिवारिक व्यवस्थापनका लागि दुई वर्षसम्म निकै गाह्रो भयो उनलाई । त्यस बीचमा अरुको काम गरिन् । आर्थिक रुपमा सबल बन्दै आफ्नो संघर्षमा रमाउन सक्ने बनिन् । अहिले भने मानसिक समस्याबाट पनि पार पाइसकेकी छिन् ।

उनले ५ वर्ष अघि १३ सय रुपैयाँको लगानीमा पसल सुरु गरेकी हुन् । देउराली बजारको बाटोमा एउटा सानो चटपटे पसल थियो उनको । अहिले भने पसल व्यवस्थित छ । पसल सुरु गरेको पनि चार वर्ष भईसक्यो । हरेक हप्तामा १६ हजार रुपैयाँको सामान पसलमा राख्छिन् । यही पसलबाट नै अहिले उनको गुजारा चलिरहेको छ । ‘बिरामी हुँदा पानी तताएर दिने समेत नहुदा भने साँच्चै एक्लो भएँ भन्ने कुराले साह्रै सताउने रैछ,’ उनी दुखेसो पोख्छिन् ।

जन्मदर्ता समयमा गर्न नपाउँदा छोरीलाई स्कुल पनि समयमा भर्ना गर्न पाइनन् । त्यो समय भने सोममायालाई श्रीमानको निकै अभाव खट्किएको थियो । तर अहिले त्यस्तै भावनात्मक अभावले नै उनलाई बलियो बनाउँदै लगेको छ । अहिले त छोरी पाँच कक्षामा पढ्ने भएकी छन् ।

पसलबाट भएको कमाइले नै उनले श्रीमानलाई विदेश पठाउँदा काढेको एक लाख ५० हजार रुपैयाँ ऋण पनि तिरिन् । अब थाप्लोमा ऋण छैन । तर जति नै बलियो हुँ भने पनि सोममायाको मनमा पीर छ ।

पसललाई नै अझै व्यवसायिक रुपमा अघि बढाउने उनको योजना छ । सोममायालाई लाग्छ श्रीमान घर आइदिए दुवै जना मिलेर अघि बढ्न पाए दुःखमा पनि खुसी मिल्थ्यो होला । किनकी उनलाई थाहा छ एक्लो जीवन सहज छैन ।

तर आफूले मात्र चाहेर कहाँ हुन्छ र ? जे जस्तो परिस्थिति भए पनि आँटिलो बन्न सकिएन भने जीवनमा कहिल्यै उठ्न सकिन्न भन्ने कुरा उनलाई आफ्नै जीवनले सिकाएको छ । भन्छिन् ‘हार खान हुँदैन, दरिलो आँटले नै अघि बढ्न पर्ने रहेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार