परिपक्क नभएको किवीको विक्री नियन्त्रण गर्न बजार अनुगमन

किवी नटिप्न सन्देश प्रवाह

  सरलपाटी सम्वाददाता

 368 पटक हेरिएको

इलाम । बजारमा परिपक्व नभएको ‘ग्रिन किवी’ को बेचविखन बढेपछि त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको छ ।
खानको लागि योग्य नभएको किवी किनबेच गर्दा उपभोक्ता ठगिने र किवीको बजार समेत खस्किने भएपछि कलिलो किवीको बेचविखनलाई निरुत्साहित गर्नका लागि बजार अनुगमन थालिएको हो । शनिबार इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा रहेको राँके बजार र नेपालटारका फलफूल पसलको अनुगमन गरिएको थियो भने आइतबार सूर्योदय नगरपालिकाको फिक्कल बजार अनुगमन गरिएको थियो ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि अनधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, जिल्ला प्रशासन कार्यालय, सूर्योदय नगरपालिका, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्यसंघका प्रतिनिधिले बजार अनुगमन गरेका हुन् । खानको लागि अयोग्य किवी बजारमा आएपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारी स्तरबाट पहिलो पटक अनुगमन गरिएको हो ।

इलामको तीन वटा बजारमा भएका फलफूल पसलको अनुगमनका क्रममा गुलियोपन पाँच डिग्रि ब्रिस्क भन्दा कमको किवी भेटिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी वर्देवाले बताए । ‘सामान्यतया आठ डिग्रि ब्रिस्क भएपछि मात्रै बोटबाट किवी टिप्नुपर्छ’, वर्देवाले भने,‘अनुगमनको क्रममा अधिक्तम पाँच डिग्रि ब्रिस्क भएको किवी पाइयो, यो खानको लागि योग्य भएको किवी होइन ।’

खान अयोग्य किवी बजारमा विक्रीको लागि राखिएको भेटिएपछि अनुगमन टोलीले व्यवसायीहरुलाई सेचत गराएको छ । ‘अहिले हामीले व्यवसायीहरुलाई ग्रिन किवी परिपक्व हुने र विक्री गर्ने समयकाबारेमा जानकारी दिएका छौ, उहाँहरुलाई यो समयमा कसैले किवी विक्रीको लागि ल्याए पनि नकिन्न भनेका छौ’, निमित्त प्रमुख वर्देवाले भने ।

आठ डिग्री ब्रिक्स पुगेर टिपिएको किवीको दुई दिन ‘कुलिङ्ग पिरियड’ गुम्स्याउने समय हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइका प्रमख लट नारायण शाहले बताए । ‘बोटमा आठ डिग्री ब्रिक्स पुगेर टिपेको किवी दुई दिन राखेपछि त्यसको गुलियोपन बढ्दै जाँन्छ, १० डिग्रि ब्रिक्स भन्दा माथिको किवी खानलाई स्वादिलो हुन्छ’,उनले भने, ‘अहिले बजारमा विक्री भइरहेको किवी अमिलो हुन्छ ।’ कलिलैमा टिपिएको किवीलाई गुम्स्याउँदा पनि मिठो नुहने जानकारहरु बताउँछन् ।

किवीको बोटमा फलेको सवै परिपक्व हुँदैनन् । बोटले थाम्ने जति मात्रै किवीलाई बोटमा रहन दिनु पर्छ । क्षमता भन्दा बढि भएको र सानो आकारको किवीलाई फाल्नुपर्छ । यसो गर्दा राम्रो ग्रेडको किवी उत्पादन गर्न सकिन्छ । तर, किसानले फाल्नु पर्ने किवी समेत समय नपुग्दै टिपेर बजारमा पु¥याउने गरेको पाइएको इकाईका प्रमुख शाहाले बताए । ‘बोटबाट टिपेर फाल्नुपर्ने किवी धेरथोर पैसाको आशले बजारमा लगेर बेच्ने गरेको पाइयो, यो राम्रो काम होइन’, शाहाले भने । किसानकोमा किवी जाँच्ने यन्त्र नहुने भए पनि कात्तिक अन्तिम सातादेखि किवी टिप्न उचित हुने प्राविधिकहरु बताउँछन् ।

बजारमा काँचो किवीको बेचविखन बढेपछि यस अघि विभिन्न सरोकारवालाको बैठकले अपरिपक्व किवी टिप्ने र विक्री गर्ने किसानलाई कृषि सम्बन्धि अनुदानबाट कटौती गर्ने निर्णय गरेको थियो । इलाम जिल्लाको राँके बजार, इलाम, फिक्कल हर्कटे लगायतका बजारबाट किवी विक्री भइरहेको पाइएको किवी जोन सञ्चालक समितका अध्यक्ष देउकुमार राई बताउँछन् । कतिपय व्यवसायिले विर्तामोड, दमक, धरानदेखि काठमण्डौंसम्म त्यस्तो किवी पु¥याइसकेको सूचना पाएको उनले बताए ।

अहिले बजारमा रेड किवी पाइन्छ । रेड किवी भदौतिरै खान योग्य हुने भए पनि यसको उत्पादन जिल्लामा एकदमै न्युन छ । इलाममा भएको रेडकिवी विक्री भइसकेको छ । इलामको सूर्योदय, सन्दकपुर, देउमाई, माइजोगमाइका किसानले नछिप्पिदै किवी टिप्न थालेका छन् । त्यसलाई रोक्न सरोकारवालाले सन्देश प्रवाह गर्ने, अनुगमन गर्ने लगायतका काम थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार