पहिरोका कारण इलाममा १४७ घर जोखिममा

पिरलै पिरलो

  सरलपाटी सम्वाददाता

 449 पटक हेरिएको

इलाम । पहिरोका कारण इलामका एक सय ४७ घरपरिवार जोखिममा परेका छन् । जिल्लाको सन्दकपुर गाउँपालिकाको साविक माबु गाउँ विकास समितिको वडानम्बर ४ र ९ का घरपरिवार पहिरोका कारण जोखिममा परेका हुन् ।

पालिकाको ४ नम्बर वडामा रहेको पञ्चकन्या हाइड्रो पावरको सुरूङ मार्ग निरन्तर परेको पानीका कारण भासिदा सिंगो गाउँ नै एक सातादेखि धरापमा परेको स्थानियले बताएका छन् । जमिन करिब दश फिट भासिएको छ ।

यतिसम्म की सुरूङ मार्गको तल्लो क्षेत्रमा पहिरो समेत जान थालेको छ । वडा अध्यक्ष बर्तमान गुरूङले भने, पहिरोले खोला क्षेत्रको पाँच घर परिवारको भविष्य नै अन्योलमा पारेको छ ।

जमिन दिनमा डेढ फिट भासिदै गइरहेको छ । पहिरोका कारण एक दर्जन विद्युतको पोल ढल्ने अवस्थामा पुगेका छन् । खोलाको पानी सुरूङ मार्गसम्म पु¥याउन प्रयोग गरिएको पेनस्टक पाइप जोडिएको भाग दजनौं ठाउँमा चुहिरहेको छ यसले समेत थप खतरा निम्त्याएको छ ।

साविकको माबु गाउँ विकास समितिको वडा नम्बर ४ र ९ क्षेत्रमा पर्ने सिङ्गो दुई गाउँले नै अहिले त्रासमा दैनिकी काटिरहेका छन् । स्थानीयवासीको अन्यत्र सर्ने ठाउँ नभएपछि ज्यान माया मारेर बस्नु परेको स्थानीयको बाध्यता रहेको वडा अध्यक्ष गुरूङको भनाई छ ।

१ सय ४७ घरपरिवारको दुई सय रोपनी भन्दा बढी जमिन पहिरोको जोखिममा छ । सात सय बढी जनसंख्या रहेको जोखिम क्षेत्रमा केही दुर्घटना भइहाल्ने हो कि भन्ने त्रास बढेको गाउँका स्थानीयले बताए ।

जोखिमको जानकारी आएपछि चार पटक अवलोकन गर्न पुगेको गाउँपालिकाका अध्यक्ष उदय राईले समयको प्रत्येक पल जमिन भासिदै गएको बताए । उनले पेनस्टक पाइप विच्छ्याएको एक सय मिटर आसपास बढी खतरामा रहेको जानकारी समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार