यात्रामा राम्रो पाथीभरा
पंक्षीमा राम्रो डाँफेचरा ।
म २०४९ सालमा पहिलोपल्ट पाथीभरा जाँदा साथी दुर्गा घिसिङ्ले गाएको तामाङ्सेलो गीत हो यो । त्यसयता पाचौंपल्ट मैले पाथीभरा यात्रा गरेछु । पछिल्लोपल्ट २०७६ साल असोज १४ गते पाथीभरा क्षेत्र विकास समितिको प्रबन्धमा यात्राको अवसर मिल्यो । पाथीभरा ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ्को शीरमा अवस्थित छ । यसको उचाइ तीन हजार सात सय ९४ मीटर छ । पाथीभरामा बसेकी देवीको खास नाम कालीदेवी हो । तर पाथीभरि अन्न भरेको आकृतिमा डाँडाको स्वरुप देखिनाले कालान्तरमा आएर देवीको नाम नै पाथीभरा भएको हो । सदरमुकाम फुङ्लिङ् बजारबाट १० किलोमिटर मोटरयात्रा गरेपछि काफ्लेपाटी पुगिन्छ । काफ्लेपाटीदेखि ५ कि.मि. ठाडो उकालो हिडेपछि पाथीभरा पुगिन्छ । यो यात्रा हामीले यही बाटो भएर पुरा गर्यौं । प्राज्ञ रबिमान लमजेल , दिनेश पौडेल र लक्ष्मी ढकाल मेरा सहयात्री थिए । अब आउनुस् यसरी गरौं पाथीभरा यात्रा ।
००
यो प्रजापति काफ्लेले करिब एक सय वर्ष पहिले बनाएको पाटी हो । अहिले यो पाटी जीर्ण अवस्थामा छ । यहाँ अहिले बजारको विकास भइरहेको छ । काफ्लेले पाटी बनाएपछि नै यो ठाउँको नामाकरण काफ्लेपाटी भएको हो । यो पाटीलाइ छोडेर १ कि.मि. उकालो चढेपछि डाँडे पोखरी पुगिन्छ । उहिले तिर्थालु यात्रीहरु यही पाटीमा बस्थे , यही पोखरीको पानी पिउँथे । अर्थात यो पाटी र पोखरी पाथीभरा धार्मिक पर्यटनको अतितको दशी प्रमाण हो । अहिले पैदलयात्राको लागि ढुड्गाको सोलिड् हालेर राम्रो बाटो बनाइएको छ । पानीको ब्यवस्था गरिएको छ । बाटो र पानीको ब्यवस्था पाथीभरा क्षेत्र विकास समितिले गरेको हो । यो बाटो नछाडी उकालो जाँदा लाली गुरासपार्क पुगिन्छ । यहाँ १४ प्रजातिका गुराँस पाइन्छ ,यही गुरासे क्षेत्रलाइ लाली गुराँस पार्कको रुपमा विकास गरिएको छ । यहाँ यौटा विशाल लाली गुराँसको रुख छ । यसको फेदमा ठुल्ठुला दुइवटा प्वाल छन् । प्वालभित्र पसेर बस्न , सुत्न र फोटो खिच्न मिल्छ । यो प्रकृतिले बनाएको गुराँस फोटो स्टुडियो हो ।
००
यहाँबाट आधा कि.मि.उकालो चढेपछि सानो फेदी पुगिन्छ । यहाँ पाच सात वटा घर छन् , यात्रीलाइ घरबासको ब्यवस्था छ । सानो फेदी छाडेर आधा कि.मि.उकालो हिडेपछि ठुलोफेदी पुगिन्छ । यहाँ बिस पच्चिस वटा घर बनेका छन् , खान र बस्नको राम्रो ब्यवस्था छ । यो पाथीभरा यात्राको अन्तिम आधार शिबिर पनि हो । यहाँ भन्दा माथि बास बस्ने घरहरु छैनन् । ठुलो फेदीलाइ छाडेर उकालो लागेपछि पाथीभराको कान्छिथान पुगिन्छ । अब यही कान्छिथानबाट पाथीभरा देवीको दर्शन प्रारम्भ हुन्छ । कान्छिथानदेखि ठुली पाथीभराको थानसम्मै धागो टाँगेर पु¥याइएको छ ।
००
कान्छिथानलाई छाडेर अढाइ कि.मि. उकालो चढेपछि पाथीभरा पुगिन्छ । यसबीचमा लेकाली अल्पाइन सल्लाका बोटहरु आपसमा मौन हल्ला गर्दै ठिड्ग उभिइरहेका भेटिन्छन् । अनेक प्रकारका जडिबुटीको बास्ना र चराहरुको गीतले यात्रा गतिशील र रमाइलो अनुभूति हुन्छ । डाँफे र मुनालहरु चर्दै नाचेको देख्न पाइन्छ । यीनै दृश्यमा रम्दै र मीठो अनुभूति सम्हाल्दै अघि बढ्दा पाथीभरा देवीको बासस्थानमा पुगिन्छ । जब पाथीभरा देवीको पवित्र पाउमा यात्रीले आस्था र विश्वासको शीर झुकाउँछन् तब तिनले आफ्नो लक्ष्य पुरा गरेको ठान्छन् । फूलपाती चढाएर, पूजा आरधना गरेर, उपहार चढाएर मनका कुरा मागेर सन्तुष्टि लिन्छन् ।
००
यो यात्रामा हामी पनि यसरी नै पाथीभरा पुगेका थियौं । विहान ८ बजे काफ्ले पाटीबाट हिडेर ११ बजे पुगेका थियौं । यात्राको सिजन सुरु भइसकेको थियो, हामीजस्ता यात्री बाटामा खचाखच थिए । जब हामी पाथीभरा पुग्यौं, पाथीभरा देवीको थाननीरको पासीको बोटमा दाना पाकेर रातामपुर देखियो । त्यै पासीको बोटमा पाथीभरा देवीको साक्षात रुप देखेंझैं लाग्यो मलाइ । मौसम सारै खुलेको थियो त्यो क्षण । कञ्चनजंघा सृंखला मुस्कुराइरहेको थियो । साथीहरुले देवीलाइ के के चढाए, के के मागे !? मैले चाँहि पाथीभराकै उत्पतिकथाको मेरो पाथीभरा कथोपन्यास चढाएँ र थप लेख्न जाँगर र शीप मागें । फेरि पनि पाथीभरा जाने एकपोका मन साँचेर फर्कें । असल,राम्रो काम गर्नेलाइ लाभैलाभ हुने, नराम्रो काम गर्ने पापीको सत्यानास देवीले गर्ने जनविश्वास छ । अब आफै सोचौ हामी कस्तो हुन्छौं ! अघिल्लो वर्ष देवीको दर्शनार्थ यहाँ पाँच लाख दर्शनार्थी आएका रहेछन् ।
के तपाइँ पनि यात्री बनेर जाने हो त दुर्गाले भने झैं
यात्रामा राम्रो पाथीभरा ?
हेर्ने नै हो त पंक्षीमा राम्रो डाँफेचरा??
आगे हजुरकै मर्जी !!