इलाम । आलुबाट नसोचेको आम्दानी भएपछि इलामका किसान हर्षित भएका छन् । गतसाल प्रतिमन (एक मनमा ४० केजी) १५ सय रुपैँयाले विक्री भएको आलु यो साल दुई हजार तीन सय रुपैँयाले विक्री गर्न पाउदा किसान खुशी भएका हुन् । भाऊमा तुलना गर्दा यो सालको मूल्य आठ सयले बढी हो ।
पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा चिनिएको आलु यो वर्ष अन्य वर्षको तुलनामा राम्रो फलेको किसानको भनाई छ । व्यापारीहरु घरैमा किन्न आए तर यो साल भने माग नै पूरा गर्न नसकेको सन्दकपुर गाउँपालिका – २ की आलु किसान निङ्गमाल्वमु शेर्पाले बताइन् ।
उनले भनिन्, ‘आलुको भाऊ लाग्दा हामी कत्ति हो कत्ति खुशी छौँ, भाऊ लागेकाले यो साल भने खेती विस्तार गर्ने लक्ष्य अहिल्यै बनाइसकेका छौँ । १० मन आलु रोप्दा फलेको समयमा ६० मन फल्छ । नफल्दा पनि ३० मन फल्छ । निङ्गमाल्वामुले यो साल १० मन आलु रोपेको जानकारी दिइन् । अब भने १५ मन रोप्ने योजना बनाएका छौँ उनले भनिन् । उनले गतसाल ३० मन आलु विक्री गरेकी थिइन् । यो साल २० मन विक्री गरिन् । आम्दानी भने यो वर्ष धेरै भएकाले थप खेती गर्न उत्साहित भएको उनको भनाई छ ।
आलुको बिऊ गतसाल दुई हजार पाँच सयले विक्री भएको थियो प्रतिमन (एक मनमा ४० केजी) । यो साल भने तीन हजारले अहिले नै सबै अडर गरीसकेका छन् । यो साल आलु राम्रो आम्दानीको स्रोत बन्न पुगेको शेर्पाको भनाई छ ।
देउमाई नगरपालिका – २ का कृष्ण राईलाई पनि यो साल आलु खेतीले उकासेको छ । गतसाल १७ मन रोपेकोमा एक मन पनि बेच्न पाएनन् । मौसमले साथ दिएन । राम्रो नफलेकाले फलेका सबै आलु बिऊ राख्नमा नै ठिक्क भयो । तर यो साल भने १२ मन रोपेकोमा २५ मन बेचे । ३० मन बिऊका लागि र बाँकी चार मन खानको लागि राखिएको उनको भनाई छ । यो सालको मूल्यले गतसालको घाटालाई पनि उकासेको राईले बताए । उनले पनि यो साल १५ मन रोप्ने योजना रहेको जानकारी दिए ।
२०५७ फागुन ११ गते वैदेशिक रोजगारीमा जान पहल गर्दागर्दै ठगिएका राईलाई विदेशको नामै सुन्न मन पर्दैन । साथीले पर्सी भिषा झर्छ आजै रकम दिनु भनेको मान्दा एक लाख १० हजार रकम धरानका गोपाल थापाले खाइदिएको गुनासो गर्दै उनले भने, ‘यहि आलु खेतीले मेरो परिवार धानेको छु, विदेश जान्छु भन्ने सोच्नै परेको छैन ।’ त्यो बेला उनीसँगै अन्य ११ जना पनि सो व्यक्तिबाट ठगिएका थिए ।
अहिले बजारमा बिटे, ज्योति, झ्याले र लङ्गफुली जातका आलु विक्रीमा छन् । झ्याले भने केजीको एक सय रुपैँया र अन्य चाहिँ केजीको ९० रुपैँयामा विक्री भईरहेको व्यापारी होम सुनुवारले बताए । यस पटक लकडाउनका कारण भारतबाट आलु नआउनु, छिमेकी जिल्लाकाले समेत किनेर लैजानुले गर्दा मूल्यमा वृद्धि भएको उनले जानकारी दिए ।
इलाममा आलुको मूल्य महङ्गो हँुदाहँुदै पनि किन्न खोज्दा पाउनै मुस्किल परेको व्यापारीहरुको भनाई छ । आलु जिल्लाको सन्दकपुर, माईजोगमाई गाउँपालिका, इलाम र देउमाई नगरपालिकामा व्यवसायीक खेती गर्ने गरिन्छ । पुस, माघ र फागुनमा रोपेको आलु किसानले भदौ पहिलो सातासम्म खनिसक्छन् ।
ईलाम बजार, बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली लगायत यहाँका मुख्य व्यापारीक केन्द्र हुन् ।


750 पटक हेरिएको 






