इलामको चिया बुझ्न आएनन् विदेशी

कोरोना कहर

  किरण पौड्याल

 534 पटक हेरिएको

इलाम । विगतका वर्ष चियाको ‘फस्ट फ्लस’ सिजन (चैत‑वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग र कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे ।

प्रायः चैतदेखि दसैँ अघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी (खरिदकर्ता)को सङ्ख्या शून्य छ । यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि अत्यन्तै कम भइरहेको छ ।

कोरोनाकै कारण यसपटक विदेशी खरिदकर्ता चाहेर पनि नेपाल आउन नसकेको इलाम नगरपालिकास्थित ग्रिन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक टंक दाहाल बताउँछन् । उनका अनुसार, पाँच वर्षदेखि लगातार उद्योगमा विदेशी ग्राहक आउने गरेका थिए तर यसपटक एक जना पनि आएका छैनन् । ‘धेरैले फोनमार्फत आउन सकिन है भन्नुहुन्छ,’ दाहालले भने, ‘धेरैको चासो पनि छ तर आउन नपाएकोमा गुनासो पनि छ ।’

जापान, अमेरिका, जर्मनी, चीन, फ्रान्सका साथै भारतमा समेत आफ्नो उद्योगको चिया निर्यात हुने गरेको सञ्चालक दाहालले बताए । गएको वर्षमात्र पनि उद्योगमा दुई समूहमा विदेशी आएका थिए । चियाको मुख्य सिजनमै उद्योगले लकडाउन खेप्नुप‑यो । उद्योगीले यही सिजनमा अधिकतम फाइदा लिन सक्नुपर्छ तर यसपटक भने कोरोनाले विदेशमा चिया जान सकेन । लकडाउन सकिए पनि कोरोनाको प्रकोप बढ्दा धेरै उद्योगीले घाटा समेत खेप्नुप‑यो । विशेषगरी सिधै तेस्रो मुलुक तयारी चिया पठाउने उद्योगीलाई त कोरोनाले नमज्जैले ‘घाटा’ गरायो ।

यसैकारण बर्सेनि तेस्रो मुलुकबाट चियाको अनुगमन र चिया बुझ्न आउने विदेशी एकै जना नआएको इलाम नगरपालिकास्थित जस्वीरे चिया उद्योगका सञ्चालक शरद सुब्बा बताउँछन् । ‘यहाँ उद्योगमा आउने हाम्रा नियमित खरिदकर्ता हुन्,’ सुब्बा भन्छन्, ‘धेरैलाई त चियाको नमुना पनि पठाउनु पर्दैन । त्यसै पनि जान्छ तर केही‑केही चाहिँ नेपालै आएर उद्योग र बगानै घुम्नुहुन्छ ।”

सुब्बाको उद्योगमा बर्सेनि तीन‑चार समूहमा विदेशी खरिदकर्ता आउँछन् । हावापानी, चियाबारीको रमाइलो दृश्य र गुणस्तरीय चियाले उनको उद्योग र बगानमा विदेशी आकर्षित हुन्थे । इलामका धेरै उद्योग र बगानमा विदेशी खरिदकर्ता बर्सेनि पुग्छन् । चिया किन्न र मनोरम चियाबारी घुम्नै पनि विदेशीहरु चिया बगान, उद्योग पुग्छन् ।

इलामका धेरै उद्योग र बगानमा विदेशी खरिदकर्ता बर्सेनि पुग्छन् । चिया किन्न र मनोरम चियाबारी घुम्नै पनि विदेशीहरु चिया बगान, उद्योग पुग्छन् । भारतको दार्जिलिङको चिया भन्दा इलामको चिया गुणस्तरीय भएकाले विदेशी ग्राहक इलाम आउने क्रम बढ्दो छ । एकातिर कोरोनाले विदेशी आएनन् भने अर्कातिर यहाँ उत्पादित तयारी चिया जान पनि गाह्रो भइरहेको छ ।

निकासीको ठूलो परिमाण जाने मुलुकबाटै खरिदकर्ता आउन नसक्नु र चिया जान नसक्नुचाहिँ चियाका लागि दुःखद कुरा भएको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउँछन् । विभिन्न संस्था र व्यक्तिगत (उद्योग)कै आह्वानमा विदेशीहरु चियाका लागि आउने गरेका छन् । ‘विगतका वर्षमा सानो, ठूलो गरी ३०‑४० वटा समूह चियाको अनुसन्धानका लागि आउँथे तर यसपटक एक जना पनि छैनन्,’ उनले भने ।

चिया खरिद र घुमघामकै लागि बर्सेनि उच्च सङ्ख्यामा विदेशी भित्रिन्छन् । कतिपय विदेशी चियासम्बन्धी संघसंस्थामार्फत नेपाल भित्रिन्छन् भने कतिपय उद्योगसँगको व्यक्ति चिनजानमा आउँछन् । व्यक्तिगत भन्दा पनि संघसंस्था मार्फत नेपाल भित्रिने विदेशीको संख्या बढ्दै गएको छ ।

चियासम्बन्धी संघसंस्था केन्द्रीय चिया सहकारी संघ (सिटिसिएफ), हिमालय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन, स्पेसलिटी टी एसोसिएसन नेपाललमार्फत पनि विदेशी खरिदकर्ता नेपाल आउने गरेका छन् । नेपालबाट भारतसहित जापान, अस्ट्रेलिया, अमेरिका, नर्वे लगायतबाट चिया निर्यात हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार