इलाम । इलाममा अज्ञात रोगबाट पशु मर्न थालेको छ । रोगका कारण मर्ने मात्रै नभई दूध उत्पादनमा समेत कमी आएपछि किसान चिन्तित भएका छन् । गएको साउन ५ गतेबाट देखिन शुरु भएको यो रोग क्रमशः फैलिने क्रममा रहेको छ । हालसम्म जिल्लाको इलाम नगरपालिकाका ४ वटा वडामा देखा परीसकेको छ । वडानम्बर ८, ५, ४ र १ मा गरी तीन गोरुसहित १४ वटा पशुमा यो रोग देखा परेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यलय इलामका अधिकृत डिगबहादुर कार्कीले बताए ।
उनले भने, एक वटा त मरी नै सकेको छ । बाँकी १३ वटा विरामी नै छन् । अन्य वडामा फैलिएर महामारीको रुप नल्याओस् भनेर विभिन्न सञ्चार माध्यमबाट सूचना बजाइरहेका छौँ । सूचनामा गाईगोठ सफा राख्ने, जैविक सुरक्षा अपनाउने, निरोगीको हेरचाह गरेर मात्र रोगी पशुको हेरचाह गर्ने, पशुमा केहि समस्या देखे तत्काल पशु सेवा शाखा कार्यलयका पशु प्राविधिकलाई खबर गर्ने जस्ता पक्षलाई समेटेर किसानलाई आग्रह गरिएको छ ।
अधिकृत कार्कीका अनुसार, बिरामी पशुमा देखिएको लक्षण पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन डिजिज’ सँग मिल्दो जुल्दो छ । परीक्षणका लागि स्याम्बोल कलेक्सन गरिएको छ । तत्कालै क्षेत्रिय ल्याब विराटनगर पठाउने र मात्रै रोग के हो भन्ने कुरा भन्न सकिने उनको भनाई छ ।
विज्ञ केन्द्रका डा. विशाल पोख्रेलले भने, ‘इलामका रोगी पशुमा देखिएको लक्षण र ‘लम्पी स्किन डिजिज’को लक्षण मिल्दोजुल्दो भएकाले किसानलाई तत्काल यहि रोग रोगथामका कार्य गर्न आग्रह गरेको बताए ।’
लक्षण मिल्दोजुल्दो भएकाले यो रोग रोगथामको उत्तम उपाय भनेको नै गाई गोठ भन्दा ३० मिटर पर मात्रै गोबर फाल्ने स्थान बनाउने, गोठको वरीपरी पानी जम्ने खाल्डाखुल्डी भएमा तत्कालै पुरीदिने, आफ्नो र गाईगोठको सरसफाईमा विशेष ध्यान दिनु नै हो उनले भने ।
‘यो रोग लागी नै सकेपछि रोकथामका त्यस्तो केहि उपाय हुदैनन् । रोगका जीवाणु पशुको शरीरमा प्रवेश गरेको १४ दिनपछि मात्रै लक्षण देखा पर्न सुरु गर्छ । यस्ता पशु रोगी मात्रै हुने हो तत्काल मर्ने भने होइन । उत्पादन भने ८० प्रतिशत घटेर जाने भएकाले किसानलाई निक्कै नै हानी गर्ने हुन्छ र आफ्नो पेशामा हतोत्साही हुनेको संख्या पनि बढ्दै जाने हुनसक्छ । यसको रोकथाम भनेको सरसफाई नै हो डा. पोख्रेलले भने । छिमेकी जिल्ला झापामा ‘लम्पी स्किन डिजिज’ रोग देखा परेकाले झापाबाटै यो रोग इलामसम्म आएको हुनसक्ने बताइएको छ ।
के हो ‘लम्पी स्किन डिजिज’ ?
‘लम्पी स्किन डिजिज’ गाईहरुमा एक प्रकारको भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस)बाट देखिने रोग भएपनि कहिलेकाहीँ भैंसीहरुमा पनि यो रोग देखिन सक्दछ । यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, कजाकिस्तान हुँदै बंगलादेश, र भारतमा पनि केही महिना अघि देखा परिसकेको पाइन्छ । अहिले भने नेपालका मोरङ्ग, झापा लगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दो जुल्दो लक्षण देखा परेको र यसका कारण गाईहरु बिरामी परेको र केहि भने मरीरहेको समेत पाइएको छ ।
यसका मुख्य लक्षणहरु
‘लम्पी स्किन डिजिज’ रोग लागेपछी कचेरा निस्कने, सिंगान बग्ने तथा फिंज धेरै निकाल्ने, शरीरका विभिन्न ठाउँमा विशेष गरी घाँटी, पछाडीको भाग, पेट र थुन वरिपरि गिर्खाहरु १० देखि ५० मिलिमिटरसम्मको देखिने, १०४ फरेनहाइट वा माथि ज्वरो आउने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्न सक्ने, गर्भ तुहिन सक्ने र पछि महिनौं बाँझोपना देखिन सक्ने, २० प्रतिशत जति गाईहरु बिरामी पर्ने र १ देखि ५ प्रतिशतसम्म गाईहरु मर्नसक्ने यसका लक्षणहरु रहेका छन् ।
रोग सर्ने तरिका
लम्पी रोग सर्ने मूख्य कारण भनेको लामखुट्टे, झिङ्गा, किर्ना आदिको टोकाईको माध्यमबाट, संक्रमित गाई भैंसीको आवतजावतबाट र संक्रमित पशु र स्वस्थ पशुलाई उपचारको क्रममा एउटै सुइ प्रयोग गर्दा गाई, भैंसीहरुमा यो रोग सर्न सक्छ ।
उपचार तथा रोकथाम
उपचार तथा रोकथामका लागि खोप नेपालमा अहिलेसम्म उपलब्ध नभएकाले पशु चिकित्सकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्ने, संक्रमित क्षेत्रबाट पशुको आवतजावत नियन्त्रण, लामखुट्टे, झिङ्गा, किर्ना आदिको संख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा राख्नुपर्दछ ।


874 पटक हेरिएको 






