इलाम र पाँचथरको सीमा बजार राँकेमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रातारात पाँचथरको सदरमुकाम फिदिममा सारिएपछि स्थानीयले विरोध जनाएका छन् ।
लामो समयदेखि राँकेबाट सेवा दिइरहेको सेवा केन्द्र सार्न नहुने भन्दै स्थानीयले विरोध जनाएका हुन् । फिदिम नगरपालिकामा सार्ने निर्णय सात दिनसम्म नसच्याए सडक आन्दोलनसँगै प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम घोषणा गरिएको छ । मंगलबार एक राँके बजार व्यवस्थापन समितिले एक विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।
राँके बजार व्यवस्थापन समितिले भाद्र २४, २५ र २६ गते चक्का जामको घोषणा गरेको छ भने २७ गते फाल्गुनन्द गाउँपालिका घेराउँ तथा २८ गते जिल्ला प्रशासन कार्यालय पाँचथर घेराउँ कार्यक्रम घोषणा गरिएको छ ।
जिल्ला समन्वय समिति पाँचथर र सामाजिक विकास मन्त्रालयको आदेश भन्दै मध्यरातमा कार्यालय सार्न लागेको थाहाँ पाएका स्थानीयले कार्यालयमा ताला लगाएका छन् । त्यहाँ कार्यरत कर्मचारीहरुलाई भने स्थानीयले प्रहरीलाई बुझाएका थिए । अवरोध हुन सक्ने भन्दै स्थानीयलाई छलेर केन्द्रका कर्मचारीहरुले शनिबार राती नौं बजे बत्तिसमत निभाएर कार्यालयका सामग्रीहरु फिदिम लैजान तयारी गरिरहेको स्थानीयको भनाइ छ । तर, स्थानीयले थाहाँ पाएर सार्नका लागि बाहिर निकालिएको सामग्री कार्यालय भित्र राखेर रातीनै ताला लगाई दिएका थिए । आइतबार केन्द्र सारिएको विरोधमा स्थानीयले सभाको आयोजना गरेर कार्यालयको ताला फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बीरबहादुर कुरुम्बाङलाई हस्तान्तरण गरेका थिए ।
२०५० सालदेखि राँकेमा सेवा दिइरहेको कार्यालय सुटुक्क सार्दा इलाम र पाँचथरका सेवाग्राही मारमा पर्ने उद्योग वाणिज्य संघका सचिव समेत रहेका स्थानीय व्यवसायी श्री विष्टले बताए । ‘छापामार शैलीमा रातारात कार्यालय सारिएकाले हामीले सार्न नदिनका लागि ताला लगाएका छौं ।’ व्यवसायी विष्टले भने, ‘कर्मचारीलाई पनि थुन्नु पर्ने रहेछ प्रहरीको जिम्मा लगाएर गल्ती गरिएछ । निर्णय नसच्याए आन्दोलनमा जान्छौं ।’
केन्द्र नहुँदा एक डेढ घण्टा टाढा पुगेर स्वास्थ्य सेवा लिनु पर्ने भएकाले राँके मात्र नभई इलाम र पाँचथरका सयौं नागरिक मारमा परेको स्थानीयको गुनासो छ । राँकेमा भएको एक मात्र सरकारी स्वास्थ्य संस्था सरेपछि डेढ घण्टाको बाटोमा रहेको पाँचथरको सारताप र इलामको चमैतामा रहेको स्वास्थ्य केन्द्रमा सेवा लिन जानुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ ।
आयुर्वेद चिकित्सक (कविराज) सहित नौं जना कर्मचारी रहेको केन्द्र सार्ने निर्णय सच्याउन माग गर्दै सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति पाँचथर र फाल्गुनन्द गाउँपालिकालाई अनुरोध पत्रसमेत बुझाएको वाणिज्य संघका सचिव विष्टले बताए ।
केन्द्रले पाँथरको फाल्गुनन्द गाउँपालिका, इलामको देउमाई नगरपालिका र फाकफोक थुमका केही वडाबासीलाई सेवा दिँदै आएको थियो ।
जिल्लाबासीलाई अपायक भएको भन्दै जिल्ला समन्वय समिति पाँचथरको सिफारिसमा सामाजिक विकास मन्त्रालय प्रदेश १ को निर्देशनमा केन्द्र पाँचथरको सदरमुकाम फिदिममा सारिएको हो ।
यता केन्द्रका प्रमुख (कविराज) विजय श्रेष्ठले भने सामाजिक विकास मन्त्रालयको निर्देशन अनुसार कार्यालय सारिएको र फिदिममा स्थापना भइसकेको बताएका छन् । कार्यालयको आवश्यक सामग्री स्थानीयले राँकेमै ताला लगाएपछि कार्यालय सञ्चालनका लागि समन्वय भइरहेको श्रेष्ठले बताए ।