इलाम । समुन्नत समाजका निर्माण गर्न सामुदायिक एकता आवश्यक रहेको किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले चुम्लुङको ३२ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा छात्रबृत्ति वितरण कार्यक्रममा बोल्दै समुदायको विकास र उन्नतिका लागि एकताबद्व भएर काम गर्न लिम्बू समुदायलाई आग्रह समेत गरेका छन् ।
समुदायिक एकताले मात्र समाजको समुन्नत विकासमा सहयोग पुग्ने किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद योङहाङले बताए । उनले वर्तमान समयमा लिम्बु समुदाय भित्र विभिन्न विचार जन्मनु सामुदायिक विकासको महत्वपूर्ण पाटो भएकोले यसलाई समाजको एकता र विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिए ।
‘सम्पूर्ण लिम्बुहरूको साझा संस्था किरात याक्थुङ चुम्लुङले सबै लिम्बु समुदायलाई जोड्नुपर्छ । उनले भने भइरहेका फरक बिचारलाई अस्तित्वमा ल्याएर फरक बिचारलाई एकताको बाटो बनाउँनुपर्छ ।’
चुम्लुङ जिल्ला शाखाका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सटेन्द्र जबेगुले सम्पूर्ण लिम्बू सामुदायको सामुदायिक विकासको क्षेत्रमा चुम्लुङको महत्वपूर्ण भूमिका रहेको बताए । उनले वर्तमान समयमा सामुदायिक विकास र उन्नतिका लागि साझा धारणा बनाउँनु पर्नेमा जोड दिए । यस्तै सल्लाहकार बखतबहादुर आङदेम्बेले सामाजिक विकास गर्न सामाजिक रूपमा सचेत हुनुपर्ने बताउँदै सचेतनाको कार्यक्रम गर्दै सामाजिक एकताको भावना विकास गर्नुपर्ने बताए ।
विभिन्न विचारमा विभक्त लिम्बु समुदायलाई एकताबद्व बनाउँन सबै चुम्लुङ शाखाले काम गर्नु पर्ने जिल्ला शाखा अध्यक्ष गायत्री थेगिमले बताइन् । उनले एकताले मात्र समुदायको साझा विकासमा टेवा पुग्ने बताउँदै, सामाजिक एकता र विकासका लागि सबै लिम्बु दाजुभाई लाग्न आग्रह गरिन् ।